2026 July 07/ 04:17: 43am

३८ औं बार्षिक साधारण सभा सम्पन्न
    बनेपा/नेपाल परिवार नियोजन संघ काभ्रेले यौन तथा प्रजनन स्वास्थ्यको पहुँच पु¥याउन संचालन गरेका विभिन्न कार्यक्रमहरुका बारेमा ३८ औं बार्षिक साधारण सभा मार्फत जानकारी गराएको छ । सभापति शुभराज जोशीले दातृ संस्थाहरुको सहयोग तथा आजीवन र साधारण सदस्यहरुको शुल्कबाट सेवा प्रदान गरिरहेको परिवार नियोजन संघसंग स्थानीय सरकारको समन्वय हुन सकेमा अधिकांश नागरिकहरुलाई सेवा प्रदान गर्न सकिने बताउनु भयो । 
    जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउँदै समन्वय र सहकार्यमा आफू समन्वय गर्ने बताउनु भयो । नेपाल परिवार नियोजन संघ काभ्रे शाखासँग रहेको प्राविधिक जनशक्तिलाई स्थानीय सरकारले उपयोग गर्न सकेको अवस्थामा नागरिकहरु स्वास्थ्य सेवाबाट लाभान्वित हुने उहाँले बताउनु भयो । परिवार नियोजन संघ मार्फत पुरुष तथा महिलाहरुको स्थायी बन्ध्याकरण, महिलाहरुको पाठेघर जाँच, ल्याब सेवा, परिवार नियोजन सेवा, युवाहरुका लागि यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी शिक्षा र परामर्श सेवा, विद्यालयमा बालबालिकाहरुलाई यौनिकता शिक्षा उपलब्ध गराउँदै आएको सभापति शुभराज जोशीले बताउनु भयो । शाखाले परिवार स्वास्थ्य केन्द्र, पाँचखालबाट गर्भवती महिलाहरुको नियमित जाँच, प्रसुति तथा प्रसुति पश्चात स्वास्थ्य परीक्षण सेवा, एम्बुलेन्स सेवा, नवजात शिशु स्याहार, गर्भवती जाँच सेवा, यौन रोगको उपचार गरिरहेको छ । 
    सन् २०२० मा शाखाले १० हजार ८ सय २४ पटक कन्ट्रासेफ्टी सेवा उपलब्ध गराएको छ भने स्त्रीरोग विशेषज्ञ सेवा ९ हजार ४ सय २८ पटक उपलब्ध गराएको छ । एचआईभी÷एड्ससँग सम्बन्धी सेवा २ हजार ९ सय २४ पटक दिएको छ । त्यस्तै सुरक्षित गर्भपतन सेवा २ सय १९ पटक, सुत्केरी सेवा १ सय ३ पटक, मिनिल्याप सेवा २० पटक, एसटिआई सर्भिस ५ हजार ६ सय ५४ पटक लिएका छन् । सोहि वर्षमा ३८ हजार ९ सय ५६ पटक परिवार नियोजन संघले सेवा प्रदान गरेको शाखा प्रबन्धक रमेश श्रेष्ठले जानकारी दिनुभयो । साधारण सभामा सचिव बद्रिबहादुर खबीले प्रस्तुत गर्नु भएको प्रगति प्रतिवेदन र कोषाध्यक्ष इन्द्रलक्ष्मी श्रेष्ठले प्रस्तुत गर्नु भएको ९८ लाख ४८ हजार ६ सय १४ रुपैया बराबरको आर्थिक प्रतिवेदन सर्वसम्मतले पास भएको थियो । 
    सभामा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनाले विपद्मा समेत प्रभावकारी बन्नुपर्ने परिवार नियोजन सेवा ग्रामीण भेगमा पुग्न नसक्दा नागरिकहरु संकटमा परेको बताउनु भयो । स्थानीय सरकारको प्राथमिकतामा स्वास्थ्य भन्दा पूर्वाधारमा भएकाले नागरिकहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउन स्थानीय सरकारसँगको प्राथमिकतामा जोड दिनु पर्ने बताउनु भयो । कार्यक्रममा काभ्रे उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष प्रताप बैद्यले मातृ शिशुको सुुरक्षा र महिलाहरुको स्वास्थ्यमा विशेष जोड दिनुपर्ने बताउनु भयो । 
कार्यक्रममा युवा सदस्य सरिष्मा कायश्थ, कार्य समिति सदस्यहरु आत्मराम थापा, लम्बोदर कायश्थ, राजेश श्रेष्ठ, पूर्व सभापति देवेन्द्र भैल लगायतले परिवार नियोजन संघलाई अगाडि बढाउन सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताउनु भएको थियो ।