2026 July 07/ 04:49: 12am

सहकर्मीको एकै पटक हत्या
        बनेपा/चोरीका घटनामा संलग्न हुँदै आएका सडक बालबालिकाहरु हत्यामा संलग्न हुन थालेका छन् । सरकारले सडकलाई मानवमुक्त बनाउने घोषणा गरे पनि सडक बालबालिकाहरु कुनै न कुनै रुपले सडकमै रमाउने कारण पुनस्र्थापना केन्द्रबाट भागिरहेका छन् । फोहोरमा रहेका सिसी तथा फलामका टुक्रा संकलन गर्ने नाममा सडक बालबालिकाहरु चोरी र अपराधमा संलग्न भएको तथ्य खुलेको छ । गत साता बनेपामा भएका दुई अपराधमा सडकमै बस्ने बालबालिका तथा पुरुषबाट दुई महिलाको हत्या भएको छ । 
        अनुसन्धानमा खटिएको प्रहरी टोलीले नशालु पदार्थको सेवन, यौन तथा मादक पदार्थ सेवन पछिको अनियन्त्रित ब्यवहारले दुई महिलाको हत्या भएको बताएको छ । ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले महिलाहरुको हत्या पछि भएको अनुसन्धानले यौन सम्पर्क पछि बालबालिकाहरुको सहयोगमा महिलाको हत्या भएको देखिएको बताउनु भयो । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्री र डिएस्पी एवं सूचना अधिकारी हरि खतिवडाले जिल्लामा भईरहेका यस्ता अपराधका घटना र घटनामा संलग्नहरुको सुक्ष्म अध्ययन भईरहेको बताउनु भयो । बनेपामा सडक बालबालिकाहरुको अपराधको बारेमा नजिकबाट नियालिरहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिनुभयो । 
घटना नम्वर १ 
        २०७७ चैत्र २१ गते बनेपा नगरपालिका वडा नम्वर ८ स्थित पुण्यमाता खोला किनारमा रहेको बस भित्र कर्तव्य गरी हत्या गरिएकी महिलाको सम्बन्धमा प्रहरीलाई प्राप्त सुचनाका आधारमा तत्काल घटनास्थलमा प्रहरीको टोली पुग्यो । २०७७ चैत्र २२ गते विहानको २ बजेको समयमा बनेपा नगरपालिका वडा नम्वर ८ स्थित पार्किङ गरी राखेको बा २ ख २४२७ नं.को बस भित्र अन्दाजी ३५÷४० की दाहिने निधारको भागमा चोट, घाँटी थिचिएको जस्तो निलडाम तथा छातिको दाहिने भागमा चोट भएकी महिला मृत अवस्थामा फेला परिन् । इलाका प्रहरी कार्यालय बनेपा र जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरी अनुसन्धान टोलीको अवलोकन पश्चात र प्रारम्भिक अनुसन्धानमा जबरजस्ती करणी पछि हत्या भएको जस्तो देखिएको थियो । घटनाको गम्भीरतालाई मनन गरी प्रमाण संकलन र अनुसन्धान कार्य थप प्रभावकारी तरिकाले गर्न प्रहरीले तत्काल धुलिखेल अस्पतालबाट फोरेन्सिक मेडिसिन बिभागको विशेषज्ञ टोली झिकायो । प्रहरीले घटनास्थलमा फेला पारेको यौनबद्र्धक सामानहरु, रगत लागेको ढुङ्गा लगायतका अन्य प्रमाणहरु जुटायो । 
        बनेपा नगरपालिकाको वडा एरियामा विगतमा घटेका घटनाहरु र मृतक समेत आफै सडक मानव भएकाले हत्यामा दुब्र्यसनी÷कुलतमा परेका तथा सडक बालबालिकाहरुको संलग्नता हुन सक्ने प्रारम्भिक अनुसन्धान गरी प्रहरीले बिशेष सुराकी परिचालन गरी घटनास्थल आसपासको क्षेत्रबाट घटना बारे सुचना भएका १०÷१२ बर्षका तीन बालकहरुलाई पक्राउ गरी सोधपुछ ग¥यो । बालकहरुले २०७७ चैत्र २२ गते बिहान ७ बजेको समयमा बनेपा नगरपालिका वडा नम्वर ७ गोदामचोक स्थित बि.एल कवाडी पसल अगाडी पुरानो बस भित्र एकजना महिलालाई म लगायत अन्य साथीहरु मिली हत्या गरेको जानकारी गराएको बताए । बालकहरुलाई कौतुहल्ता लागि एकिन गर्न १० बजे तिर सोहि स्थानमा गए । महिलाको लाश देखे पश्चात स्थानिय मार्फत प्रहरीलाई खबर भएको थियो । बालकहरुको सुचनाको आधारमा हत्या गर्ने बालक दिउँसो पक्राउ परे । गोदामचोक स्थित बि.एल कवाडी पसल नजिकैबाट थप तीनजना पक्राउ परेका थिए । अमन तामाङ, संगीता थापा मगर, राजकुमार भुजेल, पुण्टी भन्ने चिनीमाया थापा मगर, सम्भव रम्तेल, रोशन लिम्बु, पुर्णकला भन्ने पुजा दमाई समेतको सडक बालबालिकाको समुह रहेको प्रत्येक दिन कवाडी संकलन गर्ने, माग्ने, बेला मौकामा चोरी पाकेटमारी गरी दैनिक गुजारा गरी बनेपा आसपास शहरका बिभिन्न पाटी पौवा, सडक पेटी, पुराना गाडीहरुमा बास बस्ने गरेको बयान दिएका थिए ।
        सोहि दिन रातिको समयमा पुल बजारबाट पुन्यमाता कोरिडर हुदै उक्त बसमा रात बिताउन भनि छिर्दा बस भित्र मदिराले लट्ठ भएकी महिला देखि त्यो समूहमा रहेका १७ बर्षिय एक बालकले महिला संग शारिरीक सम्पर्क गरेका थिए । १७ बर्षीय बालकले १७ बर्षकै बालिकासँग बनेपाको चण्डेश्वरी मन्दिरमा गएर विवाह गरेका थिए । आफ्नो श्रीमानले आफुसँग शारिरीक सम्पर्क नराखी अर्की महिलासँग सम्पर्क राखेको विषयले उनिहरु बीच झगडा भयो । उनै महिलाले बस भित्र सुतिरहेकी महिलालाई हातपात गरिन् । सुरुमा आक्रोशमा आई घाँटी थिच्न शुरु गरेका थिए । जसले सम्पर्क राख्यो उसैले महिलाको घाटी थिच्यो । अर्काे बालकले महिलाको खुट्टा समाती छातीमा ढुङ्गाले प्रहार ग¥यो, अर्काेले मुम थुन्यो त्यसपछि अर्की महिलाले निधारमा ढुङ्गाले प्रहार गरी हत्या गरे । आँखै अगाडी आफ्नो श्रीमानले अर्की महिलासँग शारिरीक सम्पर्क राखेको विषयमा भएको विवादमा सबै मिलेर मदिराले लठ्ठ भएर बस भित्र सुतिरहेकी महिलाको हत्या हुन पुग्यो । 
        हत्या पछि सबै लाखापाखा लागे । प्रहरीले सबैलाई पक्राउ गरे पनि महिला पक्राउ गर्न सकेको थिएन । बालकहरुले महिलालाई चार जना मिलि कुटिपट गरी मारेको स्विकार गरेका छन् । मृतक महिलाको पहिचान खुल्न सकेको छैन । 

घटना नम्वर २ 
        २०७७ चैत्र २१ बनेपा नगरपालिका वडा नम्वर ८ बसपार्कमा कर्तव्य गरी हत्या गरिएकी महिला र बसमा सुतिरहेकी महिला साथी भएको खुलेको छ । दुबै जनाको एकै रातमा हत्या भएको छ । घटनामा संलग्न सडक बालबालिकाहरु तथा सडक मानव दुई जना महिला प्राय संगै खाने बस्ने सुत्ने गरी समुह बनाएर हिड्डुल गर्ने गरेका थिए । 
        अघिल्लो घटनामा पक्राउ परेका बालबालिकाहरुको बयानका आधारमा उक्त घटनाको थप अनुसन्धान भएको हो । पक्राउ गरिएका अमन तामाङ, राज कुमार भुजेल, संगिता थापा मगर समेतका सडक बालबालिकाहरुले २०७७ चैत्र २१ गते पुल बजार नजिक पुण्यमाता खोलामा अत्यधिक मदिरा सेवन गरेकी पुर्णकला भन्ने पुजा दमाईले निजहरुलाई चोरीको आरोप लगाएकोले निजहरु बिच बिवाद भई निज महिलालाई धकेली खोलामा खसाई दिएका थिए । पूर्णकला भन्ने पुजा दमाई आफै खोलाबाट निस्के पश्चात निज महिलाले रोशन भन्ने बिजय तामाङलाई बनेपा बसपार्कमा लुगा पाईन्छ भिजेको लुगा फेर्न जाउ भनि पुलबजारबाट रोशन भन्ने बिजय तामाङलाई सँगै लगेको भनि सोहि समुहका रविन्द्र खड्काले प्रहरीलाई जानकारी दिएका थिए । 
        पक्राउ गरिएका सडक बालबालिकाहरुबाट  २०७७ चैत्र २१ गते रातको समयमा बर्ष २२ का  रोशन भन्ने बिजय तामाङले आफुलाई चोरीको आरोप लगाएको रिसको झोकमा अत्याधिक मदिरा सेवन गरेकी पुर्णकला भन्ने पुजा दमाईलाई बनेपा नगरपालिका कार्यालय स्थित रहेको बसपार्कको पश्चिम पट्टी सडक पेटीमा कन्चट, छाती लगायत शरीरका बिभिन्न संवेदनशिल अङ्गहरुमा प्रहार गरेका थिए । पक्राउ परेका सडक बालबालिकाहरुको सुचनाका आधारमा अभियुक्त बिजय तामाङलाई जिल्ला भक्तपुर सूर्यबिनायक नगरपालिका वडा नम्वर ८ सिपाडोल स्थित निजको डेरा गरी बस्ने कोठाबाट प्रहरीले पक्राउ गरेको छ । पूर्णकला भन्ने पुजा दमाईको हत्यामा आफ्नो संलग्नता स्वीकार गरेका छन् । मृतक महिलाहरु बिच नजिकको सम्बन्ध रहेको पक्राउ परेका सडक बालबालिकाहरु तथा स्थानियहरुले जानकारी दिएका छन् ।