भकुण्डेबेशी/साहित्यमार्फत नमोबुद्धको पहिचानलाई राष्ट्रिय÷अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउने उद्देश्यसहित नमोबुद्ध साहित्य उत्सवको तेस्रो श्रृंखला शनिबार सम्पन्न भएको छ ।
नमोबुद्ध नगरपालिका र रोशी वाङ्मय प्रतिष्ठानले संयुक्तरुपमा कार्यक्रम आयोजना गरेका हुन् । साहित्य उत्सवको पहिलो दिन राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त साहित्यकारहरुलाई ऐतिहासिक धाकिर्मक स्थल नमोबुद्धमा स्वागतसहित नगरपालिकाका विभिन्न ऐतिहासिकस्थलमा भ्रमण गराइएको थियो । दोस्रो दिन शनिबार नमोबुद्ध नगरपालिकाका प्रमुख एवं रोशी वाङ्मय प्रतिष्ठानका कार्यवाहक अध्यक्ष टिपी शर्मा तिमल्सिनाको अध्यक्षता एवं अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष प्राध्यापक एलबी क्षेत्रीको प्रमुख आतिथ्यतामा साहित्य उत्सव आयोजना गरिएको थियो ।
उत्सवको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्राध्यापक एलबी क्षेत्रीले नमोबुद्ध नगरपालिका साहित्यको उर्बरभूमि रहेको र नगरमा साहित्यिक वातावरण निर्माणका लागि नगरपालिकाले खेलेको भूमिकाको प्रशंसा गरे । नगरमा हुने समग्र विकास निर्माणका कामलाई साहित्यमार्फत उजागर गरेपछि मात्रै व्यापकता पाउने उनले बताए । नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले नगरपालिकाले साहित्यिक क्षेत्रको प्रबद्र्धनका लागि विगतदेखि नै गर्दै आएको साहित्य उत्सवलाई यस बर्ष पनि निरन्तरता दिएको बताए । आगामी दिनमा नगरपालिकाका सबै वडामा राष्ट्रियस्तरका साहित्यकारहरुको जमघटसहित साहित्यक कार्यक्रम आयोजना गर्ने तिमल्सिनाले बताए ।
यस्तै कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रबन्धक, पत्रकार एवं साहित्यकार फूलमान बलले साहित्यमार्फत नमोबुद्धको पहिचानलाई विश्वव्यापी बनाउन आफूहरुले प्रयास गरिरहेको र यसमा नगरपालिकाले लिएको अग्रसरता प्रशंसनीय भएको बताए । उनले नमोबुद्धको ऐतिहासिकताका विषयमा नाटक तयार पारिएको र देशका विभिन्न ठाउँमा प्रदर्शन गरिएको जानकारी दिँदै नाटक, गीत, कवितामार्फत स्थानीय पहिचानलाई व्यापकरुपमा प्रचार र संरक्षण गर्नुपर्ने बताए ।
कार्यक्रममा उपप्राध्यापक एवं साहित्यकार महेश पौड्यालले बर्षेनी यस्तो कार्यक्रम आयोजना गरेर साहित्यको जगेर्ना गर्न नगरपालिकाले खेलेको भूमिकाको प्रशंसा गरे । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले नगरपालिकामा साहित्यिक गतिविधि अगाडि बढाउन आगामी दिनमा थप कार्यक्रमहरु आयोजना गर्ने जानकारी दिए । कार्यक्रममा साहित्यले समाजमा पार्ने प्रभाव लगायतका विषयमा चर्चा परिचर्चासमेत भएको थियो ।
कार्यक्रमकै अवसरमा नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बललाई पत्रकारिता र साहित्य क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मानसमेत गरिएको थियो । कवि एवं निबन्धकार मोमिला जोशीको अध्यक्षतामा भएको साहित्य उत्सवको दोस्रो सत्रमा राष्ट्रिय एवं स्थानीयस्तरका साहित्यकारहरुले आफ्नो रचना प्रस्तुत गरेका थिए । १० बर्षीय बालक संयोजन पौडेलको कविता बाचनसहित सुरु भएको कविता वाचन सत्रमा साहित्यकारहरु महेश पौड्याल, डा. अशोक थापा, स्नेह सायमी, ठाकुर बेल्वासे, मोमिला जोशी, प्रतिक ढकाल, सविता गौतम पौडेल, लक्ष्मी उप्रेती, गोपिन्द कँडेल आँशु, अनिता लामा, जयराम तिमल्सिना, जनार्दन रिजाल, तारादेवी सुनुवार, श्रीराम अधिकारी, प्रदिप पोखरेल, रामचन्द्र पौडेल, कमल भुर्तेल तथा स्थानीय विद्यालयका छात्रछात्राले कविता वाचन गरेका थिए । साहित्यकार एवं सेवा निवृत्त सहसचिव प्रतिक ढकालले कार्यक्रममा प्रस्तुत गरिएका रचनामाथि टिप्पणी गरेका थिए ।
कार्यक्रमकै अवसरमा विभिन्न साहित्यकारहरुले रोशी वाङ्मय प्रतिष्ठानका लागि विभिन्न कृति हस्तान्तरणसमेत गरेका थिए । कार्यक्रममा नमोबुद्ध नगर प्रमुख एवं रोशी वाङ्मय प्रतिष्ठानका कार्यवाहक अध्यक्ष टिपी शर्मा तिमल्सिनाले नमोबुद्ध नगर गानका रचनाकार गोविन्द कँडेल आँसुलाई प्रतिष्ठानको आजीवन सदस्य बनाउने घोषणासमेत गरे । कार्यक्रम नमोबुद्ध नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख तारादेवी सुनुवारले सञ्चालन गरेका थिए ।





