मजदुरहरुलाई नगद सहित सम्मान
धुलिखेल/यातायात क्षेत्रमा सक्रिय भई लामो समय ब्यतित गर्नु भएका यातायात मजदुरहरुलाई जेष्ठ मजदुर सदस्यका रुपमा धुलिखेल र पनौतीमा अलग अलग कार्यक्रमका बीच सम्मान गरिएको छ । साथै सोहि अवसरमा उत्कृष्ट चालक, सहचालक र परिचालकहरुलाई पनि सम्मान गरिएको छ । हरेक वर्ष फागु पूर्णिमाको अवसर पारी नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धुलिखेल र पनौती रुट इकाईले सम्मानको कार्यक्रम आयोजना गर्ने गरेका छन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धुलिखेल रुट इकाईले आयोजना गरेको कार्यक्रममा जेष्ठ यातायात मजदुर सम्मानबाट चारजना, चालक चार र एक परिचालकलाई सम्मान गरिएको धुलिखेल रुट इकाईका अध्यक्ष अर्जुन लामाले बताउनु भयो । ‘हरेक वर्ष आयोजना गरिएको सम्मान कार्यक्रम गत वर्ष कोभिडका कारण स्थगित भएको थियो सोहि वर्षको समेत गरी यो वर्ष चार जना जेष्ठ यातायात मजदुर र उत्कृष्ट चालक र परिचालकलाई सम्मान गरेका हौं’–अध्यक्ष लामाले भन्नुभयो–‘यसले लामो समयसम्म यहि क्षेत्रमा स्थापित गराउने र सुरक्षित रुपमा सवारी चलाउँदा सम्मानबाट हौसला मिल्ने रहेछ । १९ जना जेष्ठ मजदुरहरुलाई नगद १ लाख ५ हजार सहित दोसल्ला र सम्मानपत्रबाट सम्मान गरि सकिएको उहाँले बताउनु भयो । संगठनले चालक सहित उहाँहरुलाई उत्कृष्ट बनाउन सहयोग पु¥याउने उहाँका श्रीमती सहितलाई सम्मान गरेको थियो ।
संगठनबाट सम्मानित हुनेहरुमा जेष्ठ यातायात मजदुर सम्मानबाट विश्वराम कायष्थलाई एक लाख ६४ हजार रुपियाँले सम्मान गरिएको थियो । सम्मान बापत एक लाख पाँच हजार, बिरामी उपचार खर्च ५० हजार र विरामी राहत नौ हजार गरी एक लाख ६४ हजार, दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो । संगठनले विरामी मजदुरहरुलाई उपचार र थप सहयोग पनि गर्दै आएको छ । त्यस्तै छेयाङ लामा, ज्ञानबहादुर लामा र भुवनदास श्रेष्ठलाई जनही एक लाख पाँच हजार सहित सम्मान गरिएको थियो । सोही अवसरमा उत्कृष्ट चालक केनाम लामा, नरबहादुर श्रेष्ठ, ज्ञानकाजी श्रेष्ठ र शान्तराम मानन्धर र उत्कृष्ट परिचालक राजकुमार कार्कीलाई नेपाल यातायात मजदुर संगठनका केन्द्रीय उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठले सम्मान गर्नुभयो । कार्यक्रममा केन्द्रिय महासचिव नवराज घिमिरे, नेकपा एमाले जिल्ला कमिटी सदस्य केशवमणी पौडेल, गणेश हिमाल तराई यातायात प्रालीका अध्यक्ष आत्मराम थापा, काभ्रे बस प्रालिका सचिव कविर रञ्जित, कोषाध्यक्ष रामसुन्दर श्रेष्ठ, सह सचिव राम बैद्य, हेलम्वु यातायात प्रालिका राजेन्द्र ब्याञ्जु, महिला अधिकारकर्मी निर्मला काफ्ले, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना लगायत संगठनका नेताहरुले मजदुरहरुको हक हितका लागि संगठनले खेलेको भूमिका, राज्यको दायित्व र ब्यवसायीसँगको सहकार्यको विषयमा मन्तब्य राख्नु भएको थियो ।
अधिबेशनको बन्द सत्रले पुनः अर्जुन लामाको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ ।





