– जिल्लामा ५ सय ११ गणक र १ सय ३९ सुपरिवेक्षक
धुलिखेल/‘मेरो जनगणना, मेरो सहभागिता’ भन्ने अभियानका साथ राष्ट्रिय जनगणना २०७८ को तयारी शुरु भएको छ । तयारी स्वरुप कार्यालय स्थापना, समन्वय समितिको बैठक, सामाग्री संकलन गरी प्रदेशस्तरीय मुख्य प्रशिक्षकहरुको तालिम शुरु गरेको छ । चैत्र ९ गते शुरु गरिएको तालिम १५ गते समापन हुनेछ ।
बनेपामा आयोजना गरिएको तालिममा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुली जिल्लाका शिक्षक तथा स्थानीय तहका कर्मचारीहरु गरी ९१ जनाको सहभागिता रहेको छ । बागमती प्रदेशका तीनवटा स्थान समेत गरी देशभर ११ ठाउँमा एकै दिन १ हजार ४ सय जनालाई मुख्य प्रशिक्षकको तालिम शुरु गरिएको केन्द्रिय तथ्याङ्क विभागका उपमहानिर्देशक डिल्लीराज जोशीले बताउनु भयो । जनगणनाको १२ औ श्रृखंलाको यो अभियानका लागि मुख्य प्रशिक्षकहरुले ८ हजार सुपरिवेक्षक र ३९ हजार गणकहरुलाई तालिम प्रदान गर्नु हुनेछ । बागमती प्रदेशको केन्द्रिय राजधानी काठमाडौमा नुवाकोट, रसुवा र उपत्यकाका तीन जिल्लाका प्रतिनिधिहरु तालिममा सहभागि छन् भने प्रदेश राजधानी मकवानपुरमा धादिङ्ग, चितवन र मकवानपुरका प्रतिनिधिहरु सहभागि रहेको तथ्याङ्क विभागका राजन सिलवालले जानकारी दिनु भयो ।
सात दिनसम्म संचालन हुने तालिममा जनगणनाका सबै विषयबस्तुहरु, प्रश्नावली तथा फरक विषयहरुका बारेमा अभ्यास समेत गराईने तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले बताउनु भयो । गुणस्तरी जनगणनाका लागि अधिकतम प्रयास गरिएको, विगतका वर्षहरुमा भएका त्रुटीहरुलाई सच्याउने प्रयास गरिएको, ब्यक्ति र परिवार मात्रै नभई खाली घरहरु समेत जनगणनामा समेटिने उहाँले बताउनु भयो । नयाँ संरचना अनुसार पहिलो पटक हुन लागेको जनगणनामा ७ सय ५३ वटा स्थानीय सरकारका बारेमा समग्र जनसाँखिक तथ्याङ्क उपलब्ध गराउने गरी शुरु भएको अभियान सफल बनाउन तथ्याङ्क विभागले सम्पूर्णमा अनुरोध गरेको छ । तालिम उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले नागरिकलाई राज्यका हरेक सुचनासँग जानकारी गराउन, विकास निर्माण तथा मुलुकको समग्र विषयमा योजना निर्माण गर्न आवश्यक हुने जनगणना गुणस्तरीय हुनु पर्नेमा जोड दिनु भयो । तालिमले क्षमता बृद्धी, वानी परिवर्तन, सिप विकासमा सहयोग पु¥याउने भएकाले सिकेका विषयलाई ब्यवहारमै उतार्न सक्ने गरी मुख्य प्रशिक्षकहरु सक्षम बन्न प्रमुख जिल्ला अधिकारी पोखरेलले सहभागिहरुलाई अनुरोध गर्नु भयो । पत्रकार महासंघका अध्यक्ष मोतीराम तिमल्सिनाले जनगणनालाई विश्वासिलो बनाउन सहि तथ्याङ्क उपलब्ध गराउने अभियानमा संचारमाध्यमको भुमिकालाई अझै फराकिलो बनाउँदै प्रचार प्रसारमा सहयोग पु¥याउने बताउनु भयो ।
तालिम सकिए लगत्तै तथ्याङ्क विभागले चैत्र १५ देखि आषढ ८ गतेसम्म प्रचार प्रसार गर्नेछ भने जनगणना अधिकारीको तालिममा भाग लिने कर्मचारी ब्यवस्थापन चैत्र १७ गते, सचेतना गोष्ठी १९ गते, सुपरिवेक्षको सूची सार्वजनिक २० गते, स्थानीय जनगणना अधिकारी(प्रदेश स्तरीय) चैत्र १९ देखि २५ गतेसम्म, स्थानीय जनगणना कार्यालय स्थापना बैशाख १ देखि ४ गतेसम्म, जनगणना सामाग्री स्थानीय तहमा पठाउने बैशाख ११ देखि १५ सम्म, अधिकारीको नियुक्ति र तालिम बैशाख १३ देखि १५ सम्म, गणकको सुची सार्वजनिक बैशाख १५, सुपरिवेक्षक तालिम बैशाख १६ देखि २२ सम्म, सुपरिक्षक कार्य क्षेत्र जाने बैशाख २४ र २५, घरपरिवार सूचिकरण कार्य बैशाख २६ देखि जेष्ठ १४ सम्म हुनेछ । जनगणना कार्य जेष्ठ २५ देखि आषाढ ८ सम्म हुनेछ । असार मसान्तमा प्रदेश तथा जिल्ला तहको जनगणना कार्यालय बन्द गरिनेछ ।
जिल्लामा १३ वटा पालिकाहरुलाई ६ वटा क्लस्टरमा विभाजन गरी कार्य शुरु गरिएको जिलल जनगणना अधिकारी दिपक कोईरालाले बताउनु भयो । पनौती, धुलिखेल, भुम्लु, पाँचखाल, नमोबुद्ध र रोशी क्लस्टर बनाईएको छ । ६ वटा क्लस्टरका लागि ५ सय ११ गणक र १ सय ३९ जना सुपरिवेक्षक खटिने छन् । धुलिखेल अन्र्तगत १ सय ५ गणक र ३२ सुपरिवेक्षक, पनौती अन्र्तगत ८० गणक र २२ सुपरिवेक्षक, पाँचखाल अन्र्तगत १ सय १५ गणक र २८ सुपरिवेक्षक, रोशी अन्र्तगत ८२ गणक र २२ सुपरिवेक्षक, नमोबुद्ध अन्र्तगत ६९ गणक र १९ सुपरिवेक्षक र भुम्लु अन्र्तगत ६० गणक र १६ सुपरिवेक्षक खटिने जनगणना अधिकारी कोईरालाले जानकारी दिनु भयो ।





