2026 July 07/ 03:18: 34am

चार वर्षमा १६ किलोमिटर सडक कालोपत्रे, ३२ किलोमिटर नयाँ ट्रयाक, १ हजार ८ सय घर धुरीमा पानी 
    बनेपा/सघीयताको कार्यान्वयन सँगै निर्वाचित स्थानीय सरकारको सक्रियतासँगै नागरिकहरुको विकासको चाहना र बजेटको सदुपयोग बढेको छ । बनेपा नगरपालिकाले निर्वाचन भएको चार वर्षमा नगर भित्र १६ किलोमिटर सडक कालोपत्रे गरी जिल्लामै नमुना नगरपालिका बनेको छ । 
    चार वर्ष गरेका कामहरुको अनुमगन, मुल्यांकन र समिक्षा गर्ने उदेश्यले नगरपालिकाले विभिन्न समितिहरु १४ वटै वडामा खटाएको थियो । चालु योजना तथा जनप्रतिनिधि निर्वाचित भए पछि शुरु भएका योजनाहरुको अनुगमन तथा निरिक्षण गरिएको नगरप्रमुख लक्ष्मी नरसिं बादेले बताउनु भयो । संघ, प्रदेश, नगर र वडाबाट छनौट भएका योजनाहरुको गुणस्तर र निर्माणाधीन अवस्थामा रहेका योजनाहरुको अनुगमन गरिएको नगर प्रमुख बादेले बताउनु भयो । विकास निर्माणका लागी नगरवासी तथा उपभोक्ताहरुको प्रत्यक्ष सहभागीता रहनु पर्ने र योजना निर्माणमा तल माथि भएमा खबरदारी गर्न नगर प्रमुख बादेले बताउनु भयो । नगरपालिकाले नगरबासीहरुको स्वास्थ्यमा ख्याल गरी १५ शैयाको अस्पताल निर्माण शुरु गरेको उहाँले बताउनु भयो । आँखाको मोतियाविन्दु भएका विरामीहरुको रेयुकाई आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिदै आएको, सामुदायिक विद्यालयका कक्षा ७ भन्दा माथिका छात्राहरुलाई निःशुल्क स्यानेटरी प्याड वितरण गरिएको, गुणस्तरीय शिक्षाका लागी नगरले समय समयमा शिक्षकहरुका लागि तालिम प्रदान गरिएको र पर्यटन लगायत स्मार्ट सिटी निर्माण शुरु गरी पुराना धारा, पोखरी, कुवा, मठ मन्दिरहरुलाई सम्पदा अनुसार निर्माण गर्न लागिएको नगर प्रमुख बादेले वताउनु भयो । निर्वाचित भएको ४ वर्षमा नगरमा कालोपत्रे सडक १६ किमी, नयाँ ट्रयाक ३२ किमि, ग्राभेल १८ किमी, सडक ढलान ९ किमी, पक्की नाली १७ किमी, एकीकृत खानेपानीले छुने बाहेक बाँकी वडामा १ हजार ८ सय घरधुरीमा १ घर १ धारा खानेपानी, सामुदायीक विद्यालयका भवन, स्वास्थ्य चौकी भवन, वडा कार्यालयका भवनहरु, मठ, मन्दिर लगायतका निर्माण कार्य सम्पन्न भएको नगरपालिका उप प्रमुख तथा योजना अनुगमन प्रमुख रेखा सापकोटा दाहालले वताउनु भयो । 
कृषि तर्फ कृषकहरुलाई तालिम, विउ वितरण, टनेल, कृषि औजार, माटो परिक्षण, पशुपन्छी तर्फ उन्नत बोयर जातका बोका वितरण, विभिन्न रोगहरुको खोप, गोठ सुधार लगायतका कामहरु गरिएको दाहालले बताउनु भयो । नगरमा विभिन्न सिपमूलक तालिम प्रदान गरी आयस्तर उकास्नका लागि कौसी खेती तालिम, ड्राईभिङ्ग, सिलाई बुनाई लगायत धेरै तालिमहरु प्रदान गरिएको दाहालले बताउनु भयो । अनुगमनका क्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेतीले धेरै योजनाहरु सम्पन्न भएका केहि योजनाहरु बहुवर्षिय रहेका र करिब ८० प्रतिशत योजनामा उपभोक्ताहरुको सहभागीतामा निर्माण सम्पन्न भएकाले गुणस्तरीय रहेको बताउनु भयो । ‘आर्थिक वर्ष २०७७÷०७८ का योजनाहरु निर्माणका चरणमा रहेका र छुटेका तथा अत्यावश्यक योजनाहरुलाई आगामी आर्थिक बर्षमा समेट्नका लागी १४ वटै वडामा स्थलगत निरिक्षण गरिएको हो’– प्रमुख प्रशासकिय उप्रेतीले बताउनु भयो । निरीक्षणका क्रममा वडा अध्यक्ष, सदस्य, उपभोक्ता समितिहरुले नगरले विकासमा फ्डको मारेको र अझै भौगोलिक विकटताका कारण धेरै काम गर्न बाँकी रहेकाले आगामी वर्षहरुमा प्राथमिकतामा पार्न सुझाव दिए । 
विकासको जग हालिएकाले छिट्टै निर्माण सम्पन्न हुने र जनताका आकांक्षाहरु धेरै भएका तथा विकास निमार्णमा आर्थिक कम भएता पनि भएको बजेटलाई सहि सदुपयोग भएको नगर प्रवक्ता तथा वडा नम्बर ४ का वडा अध्यक्ष श्यामशुन्दर श्रेष्ठले बताउनु भयो । सबै वडाहरुमा स–साना योजना देखी ठुला योजनाहरु सञ्चालन भएको उहाँले बताउनु भयो । योजना अनुगमनमा योजना अधिकृत शर्मिला बन्जाडे, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, प्राविधिक, वडा सदस्यहरु स्थानीय उपभोक्ता लगाएतको सहभागिता रहेको थियो ।