2026 July 07/ 02:59: 08am

६० किलोमिटर कच्चि सडक पक्की बन्दै 
    ताल्ढुंगा/जिल्लाको विकट क्षेत्र डाँडापारीको खानीखोला गाउँपालिका जोड्ने खोपासी ताल्ढुंगा सडक निर्माणका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय बाग्मती प्रदेश र खानीखोला गाउँपालिका बीच प्रादेशिक एवम् स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम कार्यान्वयनका लागि समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । 
    खानीखोला गाउँपालिकाको तालढुङ्गा–कामीडाँडा–स्याउरेथली–भन्ज्याङ्ग हुँदै खोपासी सडक (खोपासी ताल्ढुंगा) आयोजना कार्यान्वयनका लागि तीन पक्ष बीच समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । चैत्र १ गते गरिएको समझदारी पत्रमा गाउँपालिकाको तर्फबाट अध्यक्ष कृष्णबहादुर खुलाल, प्रदेश सरकारको तर्फबाट यातायात पूर्वाधार निर्देशनालयका निर्देशक डा. सहदेव बहादुर भण्डारी र संघीय सरकारको तर्फबाट स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयका प्रमुख मोहनराज चापागाईले हस्ताक्षर गर्नु भएको छ । समझदारी पत्रमा तीनै तहले गर्नुपर्ने जिम्मेवारीका बारेमा शर्तहरु राखिएको छ । 
    आयोजनाका लागि बार्षिक बजेट सुनिश्चित गर्ने, आयोजना स्वीकृत गर्ने तथा स्वीकृत आयोजना कार्यान्वयन गर्ने, आयोजनाको गुणस्तर कायम गर्न आवश्यक पर्ने मापदण्ड, नम्र्स, स्पेसिफिकेशन तयार गरी लागु गर्ने, कार्यक्रमको नियमित अनुगमन र मुल्यांकन गर्ने, कार्यक्रमको मासिक, चौमासिक, अर्धबार्षिक तथा बार्षिक प्रगति विवरण तयार गर्ने तथा प्रगतिको समीक्षा गर्ने, कार्यक्रमको एकीकृत लेखा तथा आर्थिक विवरण तयार गर्ने लगायतको जिम्मेवारी छ । आयोजनाका लागि लागत साझेदारी बापत ब्यहोनुपर्ने रकम कार्यविधि बमोजिम समयमै उपलब्ध गराउने र प्रादेशिक एवं स्थानीय सडक निर्माण सुधार कार्यक्रम संचालन कार्यविधि २०७७ मा नेपाल सरकारले पुरा गर्नु पर्ने भनि तोकिएका कार्य गर्ने समझदारीमा उल्लेख गरिएको छ । प्रदेश सरकार र गाउँपालिकाका बारेमा पनि जिम्मेवारी तोकिएको छ । 
    लामो समय पछि ट्रयाक खोलेर वर्षातको समयमा केहि दिन बाहेक निरन्तर सवारी साधन संचालन हुन थालेको उक्त सडक कालोपत्रे सँगै पक्की बन्ने भए पछि उक्त क्षेत्रको विकास र समृद्धिको सपना पूरा हुने भएको प्रदेश सभा सदस्य चन्द्र लामाले बताउनु भयो । नेपाल सरकारको गाउँपालिका सदरमुकाम जोड़ने मुख्य सडक कालो पत्रे गर्ने योजना अनुसार खोपासी कामिडाँडा तालढुङ्गा सडक स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको (हाललाई साझेदारिमा) पछि (विश्व बैङ्क र एशियाली विकास बैङ्कको) लगानीमा कार्य सम्पन्न हुने गरि ६० किलो मिटर सडक कालोपत्रेको लागि सम्झौता गरिएको प्रदेश सभा सदस्य चन्द्र लामाले बताउनु भयो । 
    प्रतिनिधि सभा सदस्य एवम् पूर्व मन्त्री गोकुलप्रसाद बासकोटा, बागमती प्रदेश मुख्यमन्त्री डोरमणि पौडेल, पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयाल, प्रदेशसभा सदस्य चन्द्र लामा लगायतको अथक प्रयास र खोपासी कामिडाँडा ताल्ढुङा सडक निर्माणका लागि पहलकदमी गर्नु भएकोमा खानीखोला गाउँपालिकाले धन्यवाद ब्यक्त गरेको अध्यक्ष कृष्णबहादुर खुलालले बताउनु भयो । तत्कालिन नेकपा एमालेको नेतृत्वमा उक्त सडक जिल्ला विकास समिति मार्फत ताल्ढुङ्गा पु¥याईएको थियो । नेकपा एमालेले शुरु देखि नै उक्त सडकलाई प्राथमिकतामा राखी कार्य गरिरहेको प्रदेश सभा सदस्य चन्द्र लामाले बताउनु भयो । निर्वाचनको समयमा पनि नागरिकहरुसँग सडक पक्की बनाउने बाचा गरिएको लामाले बताउनु भयो । सडक पक्कि बनाउन इस्टमेट तथा कुल लागत कति लाग्ने ? भन्ने सर्भे भईरहेको छ ।