नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष एवं चेष्टा साप्ताहिकका कार्यकारी सम्पादक मोतीराम तिमल्सिनालाई सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा सम्मान गरिएको छ । प्रधानसेनापती पूर्णचन्द्र थापाले प्रधानसेनापति प्रसंशा निशान प्रदान गर्नु भएको थियो ।
प्रधानसेनापती प्रशंसा निशान सैनिक सहचारी, गैरसैनिक, रथीबृन्द तथा अधिकृतहरुका लागि प्रदान गरिएको थियो । गैरसैनिकहरुको तर्फबाट प्रदान गरिएको उक्त निशान नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष तिमल्सिनाले प्राप्त गर्नु भएको हो । देशभरबाट ७२ जनाले उक्त निशान प्राप्त गर्नु भएको थियो । काभ्रेपलाञ्चोक जिल्लामा सैनिक नागरिक सम्वन्ध स्थापित गर्न महत्वपूर्ण भूमिका खेले बापत अध्यक्ष तिमल्सिनालाई सम्मान गरिएको हो । तत्कालिन विष्णु दल गण र हालको कालिजंग गणले तिमल्सिनालाई उक्त सम्मानका लागि सिफारिस गरेका थिए । तिमल्सिना प्रधानसेनापति निशान प्राप्त गर्ने पहिलो गैरसैनिक हुनुहुन्छ ।
सैनिक मञ्चमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधिश, मन्त्रीहरु तथा विभिन्न देशका राजदूतहरु, विशिष्ठ ब्यक्तिहरुको उपस्थितिमा सेनाले कला संस्कृति र विपद तथा विकास निर्माणमा समेत खेलेको भूमिकाका बारेमा प्रर्दशन गरेको थियो । सेना दिवसको अवसरमा सिपाही बार्षिक २०७७, नेपाल एकीकरणको इतिहास, नेपालको ऐतिहासिक गढी, किल्ला तथा युद्धस्थलहरुको परिचय रहेको पुस्तक राष्ट्रपति विद्यादेवी भण्डारीले विमोचन गर्नु भएको थियो । सेनाले प्रर्दशन गरेको फ्रि–फल जम्पमा उत्कृष्ट हुनेहरुलाई पुरस्कार वितरण गरिएको थियो । सातवटै प्रदेशको संस्कृति झल्कने झाँकी, फ्रि–फल जम्प, विन्च रेस्क्यु, खुकुरी ड्रिल, तेक्वान्दो, सुट टु किल र आईकिडो प्रर्दशन, सरायो नृत्य, देशभक्ति गितमा नृत्य र सांगितिक धुनको प्रस्तुती, शिव ताण्डव र फ्लाई पास्ट गरिएको थियो ।
सेनासँग रहेको विभिन्न हतियार तथा उपकरणहरुको प्रदर्शन, मार्चपाष्ट, तोपबाट बढाइँ, राईफलबाट बढाइँ, कवाज प्रर्दशन गरिएको थियो । सोहि अवसरमा राजदुतहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो भने कफि टेबुल बुक विमोचन, उप सेनानीमा पदोन्नती हुनेहरुलाई दज्र्यानी चिन्ह प्रदान, प्रकृति संरक्षण ट्रफिमा प्रथम र द्धितिय हुने गण तथा गुल्मलाई ट्रफि तथा पुरस्कार वितरण गरिएको थियो । धुलिखेलको कालीजंग गणका गणपति मिलन थापा सहितको टिम सोहि पुरस्कारबाट सम्मानित भएको थियो । युद्धकार्य तथा पेशागत निरिक्षण २०७७÷२०८ मा प्रथम हुने विद्युत तथा यान्त्रिक गण, विएफटी दौडमा पुरुष र महिलातर्फ प्रथम हुने अधिकृतलाई पुरस्कार वितरण गरिएको थियो । सर्वाेत्कृष्ट भुतपुर्व सैनिक, प्रधानसेनापति उत्कृष्ट कृषक, उत्कृष्ट उद्यमी, उत्कृष्ट समाजसेवा, लघु वित्त उद्यमी (एकल महिला) र लघु वित्त उद्यमी (पुरुष) लाई सम्मान गरिएको थियो ।





