2026 July 07/ 02:59: 09am

धुलिखेलको देविस्थानमा पृथ्वीनारायणको शालिक
    धुलिखेल/‘यात्रा स्वभिमानको, इतिहास एकीकरणको’ भन्ने अभियान बोकेर नेपाली सेना कालीजंग गण धुलिखेलले १० किलोमिटरको दुरीमा पैदलयात्रा गराई इतिहासको सम्झना गराउँदै त्यसको संरक्षण, सम्बद्र्धन र प्रर्बद्धनमा जोड दिएको छ । मुलुक एकीकरणको समयमा तत्कालिन अवस्थामा पृथ्वीनारायण शाहले प्रयोग गरेका मार्गहरु, उक्त समयका संरचनाहरुलाई संरक्षण गरी भावी पुस्तालाई समेत नेपाल र नेपालीप्रतिको थप सद्भाव बढाउने उद्देश्यले पदमार्ग चयन गरी पदयात्रा आयोजना गरिएको हो । 
    पर्यटकीय नगर धुलिखेलमा बाजागाजा सहित धुलिखेल नगरपालिकामा रहेको नेपाली सेनाको कालीजंग गण धुलिखेलबाट प्रधान सेनापति पूर्णचन्द्र थापाले रिबन काटेर शनिबार पदयात्राको शुभारम्भ गर्नु भएको थियो । पदयात्रामा सरकारी तथा गैह्रसरकारी निकायका व्यक्तिहरुको सहभागिता रहेको थियो । धुलिखेलबाट शुरु भएको पदयात्रा पनौती नगरपालिकाको इन्द्रेश्वर महादेव मन्दिरमा पुगेर समापन भएको छ । पदयात्रामा विभिन्न झाँकी, बाजागाजा सहित स्थान परिचय, हुँदै कोटको देवीस्थान मन्दिर परिसरमा पुगी धुलिखेल नगरपालिकाद्वारा निर्मित पृथ्वीनारायण शाहको पूर्णकदको शालिक प्रधानसेनापति पूर्णचन्द्र थापा र धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जुले संयुक्त रुपमा अनावरण गर्नु भएको थियो । सोही अवसरमा नेपालको झण्डाको झण्डोलोतन गरिएको थियो । नगर प्रमुख ब्याञ्जुले पृथ्वीनारायण शाहको शालिक अनावरण गरी इतिहासको संरक्षण र प्रर्वद्धन शुरु गरिएको बताउनु भयो । 
धार्मिक पर्यटकीय देवीस्थानको स्वरुपलाई व्यवस्थित र मर्यादित बनाउने क्रममा धुलिखेल नगरपालिकाले २ करोड लगानीमा पृथ्वीनारायण शाहको शालीक निर्माणस्थललाई व्यवस्थित गरेको र चालु वर्षमा ७ करोड बजेट विनियोजन गरेको प्रमुख अशोक ब्याञ्जुले बताउनु भयो । कालीजंग गण धुलिखेलबाट शुरु भएको यात्रा देवीस्थान, बलभद्र कुँवर पार्क, बतासे, शारदाकोट, इन्द्रेश्वर मन्दिर, पनौती हुँदै पनौती बसपार्कमा पुगि समापन गरिएको थियो । अघिल्लो वर्ष पर्यटन वर्षको अवसरमा पदयात्रा आयोजनाको तयारी गरिए पनि कोरोना भाईरसका कारण रोकिएको थियो । नेपाली सेनाको तत्कालिन विष्णु दल गणले काभ्रेपलाञ्चोक जिल्लामा विक्रम सम्वत् १८०३ देखि १८२० सम्म पृथ्वीनारायण शाहले काभ्रेपलाञ्चोक जिल्ला र काठमाडौ उपत्यकामा विजय हासिल गर्न प्रयोग गरेका पदमार्गहरुलाई नेपाली सेनाले एकीकरण पदमार्गका रुपमा पहिचान, संरक्षण, सम्र्वद्धन र सैनिक इतिहासलाई प्रबद्र्धन गर्ने गरी ६ वटा पदमार्ग पहिचान गरेको थियो । तत्कालीन समयमा विष्णु दल गणमा गणपति एवं प्रमुख सेनानी सुबास खड्का हुनुुहन्थ्यो । विष्णुदल गण रसुवा जिल्लामा सरुवा भई रसुवा जिल्लाबाट कालिजंग गण धुलिखेलमा आए लगत्तै गणपति एवं प्रमुख सेनानी मिलन थापाले पदयात्राको तयारी गर्नु भएको थियो । स्थानीय सरकारका प्रमुख एवं प्रतिनिधिहरु, विभिन्न सघ संस्थाहरुको सहभागिता रहेको थियो । 
‘ऐतिहासिक गढी, किल्ला, एकीकरण मार्ग र कोटहरुको पहिचान, संरक्षण, सम्र्वद्धन र सैनिक इतिहासलाई प्रर्वद्धन गर्ने उद्देश्यले पदमार्गको पहिचान र पदयात्रा आयोजना गरिएको हो’–प्रमुख सेनानी गणपति मिलन थापाले भन्नुभयो–‘धुलिखेल, देविस्थान काभ्रेकोट, चौकोट, शारदाकोट, गोरखनाथ, पनौती इन्द्रेश्वर मन्दिर हुँदै पनौती गेटसम्मको १० किलोमिटर यात्रा सफलतापूर्वक सम्पन्न भएको छ ।’ पृथ्वीनारायण शाहले १८०३ मा नगरकोट कब्जा गरी १८१६ मा पलाञ्चोक कब्जा गर्न प्रयोग गरिएको मार्ग, १८१८ असार ३० गते चौकोट विजयीको बेला प्रयोग गरिएको भमरकोट काभ्रेकोट सडक, १८१९ असोज २ गते तेमाल कब्जाको समयमा प्रयोग गरिएको सडक, १८२० कार्तिक १० गते पुनः चौकोट विजय र सोहि दिन कोटखेल हुँदै धुलिखेल विजय हुँदा प्रयोग गरिएको रुट, १८२० कार्तिक ११ गते पनौती कब्जा गर्दा प्रयोग गरिएको सडक, १८२० कार्तिक १४ गते बनेपा साँगा नाला कब्जा गर्दा प्रयोग गरिएका सडकलाई ६ वटा पदमार्ग तय गरिएको छ । 
पदयात्रामा काठमाडौ विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापा, जिल्ला समन्वय समितिका अध्यक्ष उद्धव केसी, श्री नं २६ बाहिनी अड्डाका बाहिनीपति, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्री, स्टाफ अधिकृत, वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र तथा अन्तर्गतका कमाण्डेण्ट, गणपति तथा सेनाका विभिन्न दर्जाका ब्यक्तिहरु, जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरु, जनप्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो ।