वडा अध्यक्षकै घर अलपत्र, एनजिओले गरिसक्यो भुक्तानी
मोतीराम तिमल्सिना
धुलिखेल
पनौती नगरपालिका वडा नम्वर ११ बल्थली घर भएका जितलाल तामाङको एक वर्ष अघि निधन भयो । जितलालका दुई छोरा मध्ये जेठो छोरा हितलाल तामाङको पनि निधन भयो । भुकम्पले छिया छिया बनाएको घर पुनर्निर्माणका लागि नेपाल सरकारले उपलब्ध गराउने अनुदानका लागि जितलालको नाम लाभग्राहि सूचीमा समावेश थियो । तर पनि पहिलो किस्ता र दोश्रो किस्ता प्राप्त गरे पछि जितलालको घर निर्माण हुन सकेन । कान्छो छोरा माईलाले पनि उक्त घर पुनर्निर्माण गरेका छैनन् । मजदुरीका लागि राजधानी बस्दै आएका माईला, रोजगारका लागि विदेशिएकी भाउजु र बच्चाहरुको संरक्षण सँगै अलपत्र बनेको घर, अनुदानमा निर्माण गरिएको शौचालय पूर्ण रुपमा निर्माण सम्पन्न हुन सकेको छैन ।
जितलालका नाममा रहेको लाभग्राहिको सूची समेत नामसारी हुन सकेको छैन । यस्ता कैयन समस्याका कारण भुकम्प पीडितहरुले पुनर्निर्माणको कार्य सम्पन्न गर्न सकेका छैनन् । सोहि वडाका वडा अध्यक्ष तारामान लामा र उनका बाबुको घर पनि पुर्निनिर्माण सकिएको छैन । अलपत्र अवस्थामा रहेका घरहरुको छाना नछाउँदै कारितास नामक गैरसरकारी संस्था मार्फत अधिकांश भुकम्प पीडितहरुको भुक्तानी गरिएको छ । बल्थलीमा न्युन आयस्तर भएका ब्यक्तिहरुलाई शौचालय निर्माणका लागि २५ हजार उपलब्ध गराईएको थियो । घर नबन्दै शौचालय निर्माण गरी वडा र नगरपालिकालाई खुल्ला दिशामुक्त घोषणा गरिएको छ । तर नागरिकहरुले अनुदान प्राप्त गरिसके पनि घर निर्माण गरेका छैनन् । सरकारले पुनर्निर्माणको कामलाई अन्तिम बनाउने प्रयास गरे पनि स्थानीय सरकारको प्राथमिकतामा पर्न नसक्दा जितलाल जस्ता ब्यक्तिहरुले घर पुनर्निर्माण गर्न सकेका छैनन् । पनौती ११ बल्थलीमा मात्रै हैन जिल्लाका हरेक स्थानीय तहमा रहेका भुकम्प पीडितहरुको यस्तै समस्या छ ।
५३७२ जना सूचीबाट हटाईए
भुकम्प पछिको पुनर्निर्माणका लागि नाम प्रकाशन भई सूचीमा परेका तर सम्झौता गर्न नआएका ५ हजार ३ सय ७२ जनालाई सूचीबाट हटाउने निर्णय गरेको छ । ९८ हजार १९ जना परिवारको सर्भे गरिएको लाभग्राहिहरु ७८ हजार ८ सय ८४ जना र रेट्रोफिटिङ्ग ५ हजार ८ सय १८ घर परिवार गरी ८४ हजार ७ सय २ घर परिवारलाई सम्झौता गरिएको थियो ।
पहिलो किस्ता लिने ७४ हजार ९ सय ३०, दोश्रो किस्ता लिने ६३ हजार ६ सय ८७ र तेश्रो किस्ता लिने ५७ हजार ५ सय ९५ घर परिवारले अनुदान लिएका छन् । अनुदान लिन बाँकी रहेकाहरुलाई सरकारले तालिका बनाएरै अन्तिम अवसर उपलब्ध गराएको छ । पुनर्निर्माणको आवास तर्फ ७३ प्रतिशत काम सम्पन्न भएको छ । सरकारी भवन र विद्यालय पुनर्निर्माणको कार्य पनि तिब्र गतिमा अघि बढेको छ । त्यस्तै सडक र पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।
भुक्तानी प्रभावित
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईले अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार अन्र्तगत भवन मार्फत स्थानीय तहमा खटिएका नीजि आवास पुनर्निर्माण प्राविधिक, सामाजिक परिचालक, घुम्ती डकर्मी सहितको समन्वयमा २०७८ असार २० गतेसम्म सम्पन्न गर्ने गरी कार्ययोजना तयार गरेको छ । कार्ययोजना अनुसार स्थानीय वडामा खटिएको टोलीले रातो किताब संकलन गरी पठाउने, रातो किताब संकलन गरी प्राप्त विवरणलाई स्थानीय तहले कायम भएका पुनर्निर्माण तथा प्रबलीकरण लाभग्राहिहरुको अनुदान सम्झौता भएका लाभग्राहीहरुको पहिलो किस्ता भुक्तानीका लागि सम्झौता पत्र स्थानीय तह वडा कार्यालयले पठाउने कार्य अघि बढेको थियो । २०७७ माघ ३० गतेसम्म पहिलो किस्ता लिएका सबै पुनर्निर्माण लाभग्राहीहरुबाट निजी आवास पुनर्निर्माणको दोश्रो किस्ता रकम भुक्तानीका लागि प्रमाणीकरण गर्न निवेदन लिने कार्ययोजनामा थियो । फागुन १५ गतेसम्म दोश्रो किस्ताका लागि प्रमाणीकरण गरी वडा कार्यालयबाट खटाईएका प्राविधिकहरुलाई प्रभावकारी रुपमा परिचालन गर्ने, फागुन २९ गतेसम्म भुक्तानीका लागि प्रमाणित फाराम जिल्ला आयोजना कार्यान्वयन कार्यालयमा पठाउने, २०७७ चैत्र ३१ गतेसम्म दोश्रो किस्ता निकासा दिने कार्ययोजना तयार गरिएको थियो । कार्ययोजना समयमै भुक्तानी हुन नसक्दा प्रभावित बनेको आयोजना कार्यालयले जानकारी दिएको छ ।
त्यस्तै २०७८ बैशाख ३१ गतेसम्म पुनर्निर्माण तथा प्रबलीकरणको सम्पूर्ण कार्य सम्पन्न गरी तेश्रो किस्ताका लागि पठाउने र जेठ १५ गते तेश्रो तथा अन्तिम किस्ताका लागि प्रमाणित गरी आयोजना कार्यालयमा पठाउने कार्ययोजनामा रहेको छ । जेठ ३० गतेसम्म प्राप्त प्रमाणित फारामहरु असार २० गते भित्र भुक्तानी दिई पुनर्निर्माणको काम विधिवत् रुपमा सम्पन्न गर्ने गरी कार्ययोजना सबै पालिकाहरुमा पठाईएको छ ।





