बनेपा/नेकपा एमाले काभ्रेले लामो समय देखि बन्द रहेको कार्यालयबाट पार्टी काम शुरु गरेको छ । जिल्ला अध्यक्ष अशोक ब्याञ्जुले उक्त कार्यालयको बोर्ड उद्घाटन गरी कार्य शुभारम्भ गर्नु भएको थियो ।
नेकपा एमाले लेखेकोे बोर्ड राख्दै जिल्ला अध्यक्ष अशोक व्याञ्जुले साविकको पार्टी कार्यालयबाटै पार्टीको काम शुभारम्भ गरिएको बताउनु भयो ।
युवा संघका अध्यक्ष विक्रम चौलागाई, जिल्ला कमिटी सदस्यहरु, विद्यार्थी नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । पुस ५ गते संसद् विघटन भए सँगै कार्यालयमा तालाबन्दी गरिएको थियो । संसद् पुनःस्थापना पछि पनि ताला लागेको उक्त कार्यालय सर्वोच्चको आईतरबारको फैसलासँगै खुलेको हो । अदालतको फैसला लगत्तै उक्त समूहले कार्यालय उद्घाटन गर्दै आफ्नो पार्टीको बोर्ड राखेको हो ।
सर्वोच्चले आइतबार नेकपा नामको आधिकारिकता ऋषी कट्टेलाई दिने फैसला गरे लगत्तै ओली र प्रचण्ड–नेपाल समूह पुनःपूर्व एमाले र पूर्व माओवादी केन्द्रमै फर्किने अवस्था आएको हो । सर्वोच्चको फैसलासँगै ओली समूह भने पूर्व एमाले पुनर्जिवित भएकोमा हर्षित देखिएको छ ।





