2026 July 07/ 02:59: 13am

    बनेपा/नेपाल उद्योग बाणिज्य संघको ४१ औ बार्षिक साधारण सभा तथा अधिबेशनबाट राजेन्द्र पसक्षे निर्वाचित हुनु भएको छ । प्रत्यासी बसन्तनारायण भोक्षिभोयालाई फराकिलो मतान्तरले पराजित गर्दै उद्योग बाणिज्य संघमा प्रवेश गरेको २२ वर्ष पछि अध्यक्षमा निर्वाचित भएका हुन् । 
    त्यस्तै उपाध्यक्षमा कैलाश पलाञ्चोके र ग्रुवेन तौजले निर्वाचित भएका छन् । दुई पदका लागि तीन जनाको उम्मेदवारी दर्ता भएको थियो । प्रत्यासी स्यम्भुराज शाक्य पराजित भएका थिए । उनी निर्वाचित अध्यक्ष राजेन्द्र पसक्षे समुहका हुन् । त्यस्तै महासचिव पदमा रविन्द्र बैदार फराकिलो मतान्तरले विजयी भएका छन् । प्रत्यासी विकास तिमल्सिनालाई बैदारले पराजित गरेका हुन् । कोषाध्यक्षमा कृष्णलाल श्रेष्ठलाई पराजित गर्दै रजित पलाञ्चोके निर्वाचित भएका छन् । महासचिव र कोषाध्यक्ष दुबै अध्यक्ष पसँक्षे समुहका हुन् । सह–सचिवमा निर्वाचित हरिकुमार कर्माचार्य झिनो मतान्तरले विज्ञान धौगोडालाई पराजित गर्दै विजयी भएका छन् । उनि प्रत्यासी बसन्त भोक्षिभोया समुहका हुन् । त्यस्तै सह–कोषाध्यक्षमा पसँक्षे समुहका सुविन्द्र राजभण्डारी र सह मुख्य संयोजक रुसन श्रेष्ठ विजयी भएका हुन् । सुविन्द्रले भिमप्रसाद ढकाललाई पराजित गरेका हुन् भने रुसन श्रेष्ठले बोधनाथ बजगाईलाई पराजित गरेका हुन् । 
    त्यस्तै सदस्यहरुमा भोक्षिभोया समुहका मणिकुमार तुम्रुक बाहेक ९ जना विजयी भए । भोक्षिभोया समुहका रवि तौजले खुल्लातर्फको कार्य समितिमा निर्वाचित भएका छन् । मानकाजी प्रधान, रामकुमार श्रेष्ठ ‘ए’, रामुकमार श्रेष्ठ ‘वि’, अमरनाथ बादे श्रेष्ठ, भिमप्रसाद आचार्य, उमेशरत्न शाक्य, दमनकुमार श्रेष्ठ, रोहितकुमार श्रेष्ठ र श्यामकुमार भालु (मुनाल) विजयी भएका छन् । यसअघि बरिष्ठ उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित प्रताप बैद्य पुनः निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै मुख्य संयोजक राजेशकुमार श्रेष्ठ र सचिव यसकुमार रञ्जित निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै महिला सदस्य इन्द्रलक्ष्मी श्रेष्ठ र कुमुदा बैद्य पनि निर्विरोध भएका छन् । एशोसिएट सदस्य साजन शाक्य निर्विरोध भएका छन् । क्षेत्रगत सदस्यहरु श्रीकृष्ण थापा, विकास कुमार श्रेष्ठ, सुरेन्द्र शुद्धाकार र सुमन चौ प्रधान निर्विरोध निर्वाचित भएका छन् । क्षेत्रगत सदस्यमा १० पद आवश्यक हुनेमा चार जनाको भन्दा उम्मेदवारी दर्ता नभएको निर्वाचन संयोजक लक्ष्मीलाल राजभण्डारीले जानकारी दिनुभयो । 
    सधारण सभाको उद्घाटन नेपाल उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गर्नु भएको थियो । राजश्वको दर परिमार्जन गर्न, ब्याजदर परिवर्तन गर्न माग गर्नु भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उद्वव केसीले जिल्लाको विकास र समृद्धका लागि उद्योग बाणिज्य संघको भूमिका महत्वपूर्ण हुने बताउनु भयो । नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले नेपालमा पुँजीको अभाव भएकाले पुँजी बृद्धि गर्न उद्योग कलकारखाना संचालन गर्ने, रोजगार बृद्धि गर्ने र निजी क्षेत्रको साझेदारीतालाई फराकिलो बनाउनु पर्ने बताउनु भयो । कार्यक्रममा उपाध्यक्षहरु दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र सिंधाई लगायतले उद्योगी ब्यवसायीहरुको बारेमा मन्तब्य राख्नु भएको थियो । अध्यक्ष प्रकाश मानन्धरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धन्यवाद ज्ञापन बरिष्ठ उपाध्यक्ष प्रताप बैद्यले ब्यक्त गर्नु भएको थियो भने संचालन महासचिव कैशाल पलाञ्चोकले गर्नु भएको थियो । 
    १ हजार १ सय ९५ मतदाता रहेको संघमा ९ सय ९८ मत खसेको थियो । शनिबार भएको मतदानको परिणाम आईतबार घोषणा गरिएको थियो । विजयी भए लगत्तै अध्यक्ष पसँक्षेले सबै उद्योगी ब्यवसायीको साझा संस्था बनाउने प्रतिबद्धता ब्यक्त गरे भने प्रत्यासी बसन्त भोक्षिभोयाले सबै मतदाताहरुलाई धन्यवाद दिदै सहकार्य गर्ने प्रतिबद्धता ब्यक्त गरे ।