2026 July 07/ 02:07: 42am

– अध्यक्षमा बसन्त भोक्षिभोया र राजेन्द्र पसँक्षे बीच प्रतिस्पर्धा
–  ३५ पदका लागि ४० को उम्मेदवारी, एकजनाको उम्मेदवारी फिर्ता 
– बरिष्ठ उपाध्यक्ष सहित १० पदमा निर्विरोध
– क्षेत्रगतमा १० मध्ये ४ जनाको मात्रै उम्मेदवारी 
– ११९५ मतदाता 

    बनेपा/काभ्रे उद्योग बाणिज्य संघको फागुन २२ गते शनिबार हुने निर्वाचनका लागि हिजो बुधबार उम्मेदवारी दर्ता गरिएको छ । ब्यवसायीहरुको साझा संगठन उद्योग बाणिज्य संघको निर्वाचनका लागि उम्मेदवारी दर्ता सँगै उम्मेदवारहरुको प्रतिवद्धता, परिचयात्मक कार्यक्रम तथा प्रचार प्रसार र सर्वसम्मतको प्रयास शुरु गरिएको छ । बुधबार उम्मेदवारहरुले प्यानल अनुसारको परिचयात्मक कार्यक्रम आयोजना गरेका छन् । उद्योग बाणिज्य संघको निर्वाचनका लागि अध्यक्ष पदमा बसन्त भोक्षिभोया र राजेन्द्र पसंक्षेले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचनमा १ हजार १ सय ९५ जनाले मतदान गर्ने छन् । 
    काभ्रे उद्योग बाणिज्य संघको निर्वाचनका लागि गठित निर्वाचन समितिले फागुन १८ गते मतदाता नामावली प्रकाशन गरेको थियो भने मतदाता नामावली माथी दावीविरोध पनि सोहि दिन राखिएको थियो । हिजो बुधबार फागुन १९ गते उम्मेदवारी दर्ता, दावि विरोध र उम्मेदवारी फिर्ताको समय तोकिएको थियो । ३५ सदस्यीय कार्यसमितिका लागि ४० जनाले उम्मेदवारी दर्ता गराएका थिए । १० वटा पदमा निर्विरोध भएको छ । बरिष्ठ उपाध्यक्ष पदमा यस अघि पनि निर्विरोध निर्वाचित प्रताप बैद्य पुनः निर्विरोध निर्वाचित हुनु भएको छ । त्यस्तै मुख्य संयोजक राजेशकुमार श्रेष्ठ र सचिव यसकुमार रञ्जित निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै महिला सदस्य इन्द्रलक्ष्मी श्रेष्ठ र कुमुदा बैद्य पनि निर्विरोध भएका छन् । एशोसिएट सदस्य साजन शाक्य निर्विरोध भएका छन् । क्षेत्रगत सदस्यहरु श्रीकृष्ण थापा, विकास कुमार श्रेष्ठ, सुरेन्द्र शुद्धाकार र सुमन चौ प्रधान निर्विरोध निर्वाचित भएका छन् । क्षेतगत सदस्यमा १० पद आवश्यक हुनेमा चार जनाको भन्दा उम्मेदवारी दर्ता नभएको निर्वाचन संयोजक लक्ष्मीलाल राजभण्डारीले जानकारी दिनुभयो । 
    उपाध्यक्ष दुई पदका लागि तीन जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा स्यम्भुराज शाक्य, ग्रुवेन तौजले र कैलाश पलाञ्चोके रहेका छन् । उद्योग तर्फ एक र बाणिज्य तर्फ एक एक उपाध्यक्ष रहनेछन् । महासचिव पदका लागि विकाश शर्मा तिमल्सिना र रविन्द्र बैदारको उम्मेदवारी दर्ता भएको छ । कोषाध्यक्ष पदका लागि रञ्जित पलाञ्चोके र कृष्णलाल श्रेष्ठ बीच प्रतिस्पर्धा हुने भएको छ । उहाँहरु दुबै जनाको कोषाध्यक्ष पदमा उम्मेदवारी दर्ता भएको छ । त्यस्तै सह सचिव पदका लागि विज्ञान धौगोडा र हरिकुमार कर्माचार्यको उम्मेदवारी दर्ता भएको छ । सह कोषाध्यक्ष पदका लागि सुविन्द्र राजभण्डारी र भिमप्रसाद ढकालको उम्मेदावरी दर्ता भएको छ । सह मुख्य संयोजक पदका लागि तीनजनाको उम्मेदवारी दर्ता भएको छ । बोधनाथ बजगाई, रुसन श्रेष्ठ र आत्माराम थापाको उम्मेदवारी दर्ता भएको हो । आत्मराम थापाले उम्मेदवारी फिर्ता लिनु भएको छ । १० जना खुल्ला तर्फको कार्यसमिति सदस्य पदका लागि १४ जनाको उम्मेदवारी दर्ता भएको छ । मानकाजी प्रधान, रामकुमार श्रेष्ठ, मणिकुमार तुम्रुक, अमरनाथ बादे श्रेष्ठ, भिमप्रसाद आचार्य, राजकुमार श्रेष्ठ ‘ए’, उमेशरत्न शाक्य, दिपेन्द्र बैदार, दमनकुमार श्रेष्ठ, शम्भुप्रसाद पौडेल, रवि तौजले, पुरुषोतम मानन्धर (मन्त्री), रोहित कुमार श्रेष्ठ र श्यामकुमार भालु(मुनाल) को उम्मेदवारी दर्ता भएको छ । 
    उम्मेदवारहरुको अन्तिम नमावलीको सूची विहीबार विहान प्रकाशन हुनेछ । मतदान लगत्तै मतगणना हुनेछ । दुबै समुहले बुधबार साँझ उम्मेदवारहरुको परिचयात्मक कार्यक्रम सम्पन्न गरेका छन् ।