2026 July 07/ 01:55: 38am

    बनेपा/नेकपा काभ्रेले जिल्लाका १ सय ३५ वडा मध्ये ७० प्रतिशत वडाहरुमा कमिटी पुर्नगठन गरिसकेको छ । केहि पालिकाहरुमा वडा कमिटी गठन सकि नगर कमिटी गठन भईसकेको छ । हरेक वडामा पार्टीका सबै भातृ संगठनहरु गठन गरी कृयाशिल गरेको नेकपा काभ्रेले जनाएको छ । 
    पार्टी पुर्नगठन तथा प्रशिक्षण लिएर गाउँ पसेको नेकपा काभ्रेले अधिकांश स्थानमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । आसन्न निर्वाचन तथा पार्टी महाधिबेशन दुबैका लागि तयारी स्वरुप कमिटीहरु धमाधम गठन, पुर्नगठन र प्रशिक्षण गरिएको जिल्ला अध्यक्ष एवं केन्द्रिय सदस्य अशोक ब्याञ्जुले जानकारी दिनु भयो । शनिबार बनेपा नगर भित्रका सबै वडाहरुमा कमिटी पुर्नगठन गरिएको छ । कमिटी पुर्नगठनसँगै नगर कमिटी गठनको तयारी गरिएको छ । नगर कमिटीको नेतृत्व तल्लो तहबाटै छान्ने गरी जिल्ला कमिटीले सर्कुलर गरेसँगै युवा पुस्ता नेतृत्वका लागि दौडधुपमा छ । हरेक क्षेत्रमा युवाहरुलाई प्राथमिकतामा राखिएको छ । जिल्ला स्तरीय संगठनहरुको भेला र प्रशिक्षण सकिएको छ । युवा, विद्यार्थी, महिला, किसान, मजदुर, पेशागत संगठन, मोर्चाहरुको भेला सकिएको छ । अहिले वडा तहमा भएका भेला र प्रशिक्षणमा केन्द्रिय सदस्यहरु, जिल्ला तहका नेताहरुको सहभागिता भईरहेको छ । नेकपा काभ्रेमा इन्चार्ज गोकुल बास्कोटा, जिल्ला अध्यक्ष अशोक ब्याञ्जु, सचिव नारायण पाण्डे रहेको कमिटीले तय गरेका योजनाहरु शतप्रतिशत कार्यान्वयन भईरहेको छ । 
    विकास निर्माणमा नागरिकहरुको चाहना बमोजिम प्रदेश र संघ सरकारका मन्त्रालयहरु मार्फत बजेट विनियोजन गर्ने कार्य पनि भईरहेको छ । निर्वाचनको समयमा नागरिकहरुसँग गरिएको बाचा तथा नेकपा काभ्रेले घोषणा गरेको समृद्ध काभ्रेको अभियानका लागि पर्यापर्यटन, पूवाधार लगायतमा बजेट विनियोजन गरी धमाधम निर्माणको कार्य भईरहेको छ । नेकपा काभ्रेका अध्यक्ष अशोक ब्याञ्जुले घोषित मितिको निर्वाचन सम्पन्न गर्ने गरी पार्टीका सबै कमिटीहरु र संगठनहरुलाई प्रशिक्षित गरिएको बताउनु भयो । वडा कमिटीहरुको प्रशिक्षण सकिए लगत्तै गाउँ तथा नगर कमिटीहरु पुर्नगठन गरी प्रदेश कमिटीहरु गठन हुनेछन् ।