अपाङ्ग महिला र बालिकाको अवस्था दयनीय
काभ्रेमा ३ हजार ८ सय ६६ जना अपाङ्ग
मोतीराम तिमल्सिना
बनेपा
– तेमाल गाउँपालिका वडा नम्वर ६ ठुलोपर्सेल तल्लो छाप बस्ने १७ बर्षिय विकास थापा मगरले २०७५ साल असार ३२ गते साँझ ५ बजेको समयमा १२ बर्षीया शारिरीक तथा मानसिक अपाङ्गता भएकी बालिकालाई जर्बजस्ति करणी गरे । असार महिना खेतिपाती लगाउने समय भएकाले बालिकाका बाबु आमा बालिकालाई खाना दिएर काममा गएको मौका छोपेर विकासले जर्बजस्ती करणी गरेका थिए । बालिकाको आमा घाँस लिएर फर्कदा विकास घरको झ्यालबाट भागेका थिए । तर किन भागेको भन्ने थाहा थिएन । बालिकाको योनीबाट रगत बगिरहेको थियो । आमाले महिनावारी भएको हो कि भन्ने लागेर २०७५ साउन ४ गते स्थानीय स्वास्थ्य चौकीमा परीक्षण गर्न लगे पछि मात्रै छोरी बलात्कृत भएको जानकारी पाएकी थिइन । तत्काल पीडितका आफन्तले प्रहरीलाई खबर गरे सँगै नाताले दाजु पर्ने विकास पक्राउ परेका थिए । प्रहरीले विकासलाई पक्राउ गरी जर्बजस्ती करणी, अपाङ्गता भएकी बालिकालाई करणी गरेको अभियोगमा मुद्दा दर्ता गरेको थियो । उनी अहिले कारागारमा सजाय भोगिरहेका छन् ।
– २०७६ कार्तिक १० गते राती बुबा आमा सबै देउसी भैलो खेल्न गएको मौका छोपी जन्मसिद्ध अपाङ्गता भएकी ३० बर्षीया महिलालाई पाँचखाल नगरपालिका वडा नम्वर १ डाँडाखेतमा आफ्नै काकाले जर्बजस्ति करणी गरे । पटक–पटक जर्बजस्ती करणी गर्दै आएका काकालाई त्यसदिन गाउँलेले देखे पछि मात्रै जर्बजस्ती करणी गरेको खुलासा भएको थियो । परिवारले थाहा पाए लगत्तै प्रहरीलाई खबर भएको थियो । सोहि दिन राती काका पक्राउ परेका थिए ।
– २०७६ जेठ ३१ गते घटनाको बारेमा परिवारले जानकारी प्राप्त ग¥यो । असार १ गते प्रहरीकोमा जाहेरी दर्ता भयो । २०७६ बैशाख ११ गते दिउँसो २ बजेको समयमा चौरीदेउराली गाउँपालिका वडा नम्वर ५ पोखरीचौरीको दाहालटोल स्थित पीडितको बारीको कान्लामुनि रहेको ठुलो ढुंगामुनि बारीमा लगेर १७ बर्षीया अपाङ्गता भएकी बालिकालाई जर्बजस्ति करणी गरे । पीडकले प्रहरीमा दिएको बयान अनुसार पटक–पटक बालिकालाई जर्बजस्ती करणी गरेको बताएका छन् । करणी गर्ने ३० बर्षीय पुरुष नाताले आफ्नै काका हुन् ।
२०५९ साल कार्तिक १७ गते जन्मँदा नै बालिका सुस्त मनस्थितिकी थिईन् । एक महिना देखि छोरी खाना नखाने, बान्ता गर्ने, विरामी भए पछि अभिभावकले अस्पताल पु¥याएका थिए । धुशेनी शिवालय स्वास्थ्य चौकीमा पु¥याएर औषधी खाए पछि थाहा भयो छोरी गर्भवती भएकी रहिछन् । परिवारले निजलाई हदैसम्मको कारवाही र क्षतिपूर्तिको माग गर्दै जाहेरी दर्ता गरेका थिए । प्रहरीले मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ को करणी सम्बन्धी कसूर अपराधको दफा २२८ बमोजिम आरोपित कसुरदारबाट पीडितलाई मनासिव क्षतिपूर्ति दिलाई भराई दिन माग गरेको थियो भने मुलुकी अपराध संहिता ,२०७४ को परिच्छेद १८ को दफा २१९ को उपदफा (३) (ग) बमोजिम हदैसम्मको कानूनी कारबाही गरी सोही ऐनको २२६ बमोजिम कारवाहीको माग गरेको थियो । उनी अहिले कारागारमा छन् ।
यी प्रतिनिधि मुलक घटना मात्रै हुन् । अपाङ्गता भएका बालिका र महिलाहरु नातेदार, छिमेकी तथा सहयोग गर्ने वाहनामा बलात्कृत हुँदै आएका छन् । काभ्रेपलाञ्चोक जिल्लाको तथ्याङ्क हेर्ने हो भने पछिल्लो ती वर्षमा अपाङ्गता भएका महिला र बालिकाहरु बलात्कृत भएका ७ वटा जाहेरी प्रहरीकोमा दर्ता भएको प्रहरी प्रवक्ता डिएस्पी कुमार विक्रम थापाले बताउनु भयो । घटना भएका तर दर्ता नभएका घटना अझै धेरै रहेको अधिकारकर्मीहरुले बताएका छन् । अपाङ्गता भएका ब्यक्तिहरुको आफ्नै पीडा त छँदैछ पीडा माथी पीडा थपिनेगरी आफन्तबाट बलात्कृत हुनु पर्दा झनै संकट थपिको पीडितहरुले बताएका छन् । एकातिर सरकारले बनाएको मापदण्ड अनुसार राज्यको सुविधा नपाएको गुनासो छ भने पाएकाहरुले पनि परिवार, समाज तथा राज्यका निकायहरुबाट सहयोग पाउन नसकेको गुनासो गरेका छन् ।
राज्यले प्रदान गर्ने सुविधा सहज रुपमा प्राप्त गर्न कार्यविधि बाधक भएको अपाङ्गता भएका ब्यक्तिहरुले बताएका छन् । स्थानीय सरकार आफैले वितरण गर्ने कार्डमा कार्यविधिले रोकेको धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्माले बताउनु भयो । ‘जन्मेदेखि एउटा हात नभएकी महिला हुनुहुन्छ, एउटा औला नहुँदा त काम गर्न नसक्ने अवस्थामा हात नभएको ब्यक्तिलाई ‘ग’ वर्गको कार्ड दिनु पर्ने कार्यविधिमा ब्यवस्था छ’–उपप्रमुख विमला शर्माले भन्नुभयो–‘अपाङ्गता भएको जानकारी हुँदा पनि राज्यको सुविधा उपलब्ध गराउन सकिएको छैन ।’ महिला भएकै कारण उहाँले भोग्नु परेका तमाम समस्याहरु रहेको उहाँको अनुभव छ ।
जिल्लामा अपाङ्गता सम्बन्धी काम गर्ने १६ वटा संस्था छन् । अधिकांश संस्थाहरुको गुनासो अपाङ्गता भएका ब्यक्तिहरुलाई राज्यले प्रदान गरेको सुविधा उपलब्ध गराउन कार्यविधि बाधक भएको निश्कर्ष निकालेका छन् । नेपालको संविधानले मौलिक हकको धारा १८ मा समानताको हक, धारा ३८ मा महिलाको हक, धार ४३ मा सामाजिक सुरक्षाको हकको ब्यवस्था गरे पनि कार्यान्वयनमा समस्या रहेको नेपाल अपाङ्ग संघ जिल्ला महासचिव पम्फा पुर्काेटीले बताउनु भयो । फरक फरक अपाङ्गता भएका ब्यक्तिहरुको समस्या अलग अलग रहेको उहाँले बताउनु भयो । सबै समस्या समाधान गर्न तीनै तहका सरकारले चासो दिनुपर्ने अपाङ्गता क्षेत्रमा काम गर्ने अधिकारकर्मी कानून ब्यवसायी कृष्णप्यारी नकर्मीले बताउनु भयो ।
जिल्लामा २०७५ असार ३२ सम्म ३ हजार ८ सय ६६ जना अपाङ्ग छन् । २ वर्षमा केहि संख्या थपिएको स्थानीय सरकारका प्रतिनिधिहरुले जानकारी दिएका छन् । जसमध्ये रातो कार्ड प्राप्त गर्ने ८ सय ११ जना, निलो कार्ड प्राप्त गर्ने १ हजार ५ सय ११ जना, पहेलो कार्ड प्राप्त गर्ने ९ सय १७ जना र सेतो कार्ड प्राप्त गर्ने ६ सय २६ जना रहेका छन् । पालिकाहरुमा खानिखोलामा ९२ जना, भुम्लुमा १ सय ८० जना, तेमालमा ३ सय ४६ जना, चौरीदेउरालीमा २ सय ७३, महाभारतमा १ सय ९२, बेथान्चोकमा १ सय ५७, रोशी ३ सय ५०, नमोबुद्धमा २ सय ७९, मण्डन देउपुर नगरपालिका ४ सय २०, पाँचखाल ४ सय १४, धुलिखेल ३ सय ११, पनौती ४ सय ६९ र बनेपा नगरपालिकामा ३ सय ८३ जना रहेका छन् ।





