बनेपा/नेकपा काभ्रेको दुई महिने अभियान अन्र्तगत जिल्ला स्तरीय भेला तथा पालिका र वडा स्तरीयक कमिटीहरु धमाधम गठन, पुर्नगठन र प्रशिक्षण, भेला र बैठक आयोजना भएका छन् । तत्कालिन संयोजक रुकु चौलागाई र सचिव टोकबहादुर वाईवालाई पदमुक्त गरी अशोक ब्याञ्जुलाई अध्यक्ष र नारायण पाण्डेलाई सचिव बनाएसँगै शुरु भएको पार्टी अभियान निरन्तर भईरहेको छ । एकैदिन दर्जनौ स्थानमा कमिटीहरु निर्माण, बैठक, भेला तथा प्रशिक्षण सम्पन्न भएका छन् ।
१३ वटा पालिका, पालिकाका सबै वडाहरु तथा टोलहरुमा भेला भईरहेको अध्यक्ष अशोक ब्याञ्जुले बताउनु भयो । ‘दुई महिने अभियान अन्र्तगत सबै पालिकाका सबै वडाहरुमा भेला भईरहेको छ’–अध्यक्ष अशोक ब्याञ्जुले भन्नुभयो–‘फागुन भित्र सबै कमिटीहरु गठन र प्रशिक्षणको कार्य सम्पन्न भईसक्नेछ ।’ यस अघि युवाहरुको भेला सम्पन्न भएको छ भने विद्यार्थीहरुको भेला बनेपामा सम्पन्न भएको छ । विद्यार्थीहरुको भेलाले गोविन्द उप्रेति संयोजक र अशोक खनाल सह संयोजक रहने गरी कमिटी पुर्नगठन गरिएको छ । यस अघि उपेन्द्र शर्मा संयोजक थिए । उनकै अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्य एवं पूर्वमन्त्री गोकुल बास्कोटा, केन्द्रिय सदस्यहरु, विद्यार्थी नेताहरु, पार्टी अध्यक्ष अशोक ब्याञ्जु लगायतका नेताहरुले सम्बोधन गर्नु भएको थियो ।
महिलाहरुको भेलाले कमला काफ्ले संयोजक र पवित्रा भुर्तेललाई सचिव चयन गरेको छ । शिक्षकहरुको भेला सम्पन्न भएको छ भने पत्रकारहरुको भेला पनि सम्पन्न भएको छ । काभ्रे–काठमाडौ सम्पर्क मञ्चको भेला, निजी विद्यालय संचालकहरुको भेला पनि सम्पन्न भएको छ । प्राध्यापक तथा बुद्धिजीवीहरुको भेला पनि सम्पन्न भएको छ । जिल्ला अधिबेशन आयोजक कमिटीको पूर्ण बैठक तथा प्रशिक्षणबाट नेताहरुको जिम्मेवारी तोकिएको छ । मजदुरहरुको भेला र मुक्ति समाजको भेला पनि सम्पन्न भएको छ । किसान, जनसांस्कृतिक, कर्मचारीहरुको भेलाको तयारी गरिएको सचिव नारायण पाण्डेले जानकारी दिनु भयो ।
पनौती नगर कमिटीको शनिबार २ सय ९९ सदस्यीय नगर कमिटी घोषणा गर्दै बैठक तथा प्रशिक्षा सम्पन्न भएको छ । महाभारत, रोशी लगायतका पालिकाहरुमा भेला र प्रशिक्षण सम्पन्न भएको छ । तेमालमा पनि प्रशिक्षणको तयारी गरिएको छ । बनेपामा माघ २४ गते बृहत्त भेला तथा बैठक आयोजना गरिएको छ । बनेपाका सबै वडाहरुको भेला भईरहेको छ । खानीखोलामा सबै वडाहरुमा भेला सम्पन्न गरी पालिकास्तरीय भेला र बैठक आयोजना गरिएको छ । बाँकी स्थानहरुमा वडा भेला, वडा स्तरमा पनि महिला, युवा, विद्यार्थी, मुक्ति समाज लगायतका कमिटीहरु गठन भईरहेका छन् । निर्वाचनको पूर्ण तयारीका साथ पार्टीका कार्यक्रमहरु अघि बढिरहेको नेकपा काभ्रेका नेताहरुले बताएका छन् । यो निर्वाचन सम्पन्न भए लगत्तै स्थानीय तहको निर्वाचनको तयारीमा जुट्ने गरी कार्य भईरहेको नेताहरुले बताएका छन् । हरेक कार्यक्रममा केन्द्रिय सदस्यहरु, जिल्ला अध्यक्ष एवं पदाधिकारीहरु र स्थानीय सरकारका प्रमुखहरुको सक्रिय सहभागिता रहेको छ ।





