2026 July 07/ 12:33: 05am

    धुलिखेल/स्थानीय सरकारले प्राप्त गर्ने मालपोत राजश्ज कर जिल्लाका १३ वटै स्थानीय तहहरुले प्राप्त गर्दै आएका छन् । आर्थिक वर्ष २०७६//०७७ र आर्थिक वर्ष २०७७/०७८ को ६ महिनामा पालिकाहरुले प्राप्त गरेको राजश्व, मालपोत कार्यालयबाट प्रदान हुने सेवा, समस्या तथा सेवाग्रहिका सुझावहरुलाई तत्काल सम्बोधन गर्ने गरी कार्य गर्न सरोकारवालासँग कार्यालयले अन्र्तक्रिया गरेको छ । 
    जिल्लाका केहि स्थानीय सरकारको श्रोत प्राकृतिक श्रोतको विक्री वितरण, उत्खनन रहेको छ । धुलिखेल नगरपालिकाको प्रमुख श्रोत मालपोत राजश्व, नक्सा पास तथा सम्पत्ति कर रहेको छ । पनौती, नमोबुद्ध, मण्डनदेउपुर, बनेपा र पाँचखाल नगरपालिकाले प्राकृतिक श्रोतको राजश्व संकलन गर्छन । भुम्लु, रोशी, बेथान्चोक, चौरीदेउराली, तेमाल गाउँपालिकाले पनि प्राकृतिक श्रोतबाट राजश्व सकलन गर्छन । तर महाभारत र खानिखोलाको यो श्रोत छैन । अन्य श्रोत पनि पर्याप्त नभएका पालिकाहरु अझै पनि प्रदेश र संघ सरकारको बजेटमा भर पर्नु पर्नेछ । जिल्लामा धेरै मालपोत राजश्व पाउने पालिकाहरु मध्ये बनेपा पहिलो हो । बनेपाले अघिल्लो आर्थिक वर्षमा १० करोड २५ लाख २२ हजार १ सय ५६ रुपैया प्राप्त गरेको थियो । चालु वर्षको ६ महिनामा बनेपाले २ करोड ६८ लाख ३८ हजार ६ सय ५६ रुपैयाँ राजश्व प्राप्त गरिसकेको छ । सबैभन्दा थोरै राजश्व पाउने पालिकाहरुमा महाभारत गाउँपालिका रहेको छ । अघिल्लो आर्थिक वर्ष २ लाख ७६ हजार ६ सय ८८ रहेको छ भने चालु वर्षको ६ महिनामा १ लाख ९६ हजार ७ सय १९ रुपैयाँ प्राप्त गरेको छ । महाभारत पछि खानीखोला गाउँपालिका थोरै राजश्व प्राप्त गर्ने पालिका भित्र पर्ने गरेको छ । 
    मालपोत कार्यालय काभ्रेका प्रमुख मालपोत अधिकृत लोकबहादुर भण्डारीका अनुसार सेवाग्राहीहरुको गुनासो सम्बोधन गर्न गुनासो सुनुवाई तथा सूचना अधिकारीको ब्यवस्था गरिएको छ । जनशक्तिको अभाव, तामेली÷अभिलेखहरु पुरानो भएका कारण खोजी कार्यमा समस्या रहेको बताउनु भयो । स्मार्ट मालपोतका लागि प्रविधिमैत्री कर्मचारी र कार्यालयका लागि बजेट र जनशक्तिको ब्यवस्थापन गर्न, एकद्धार सेवा प्रवाहका लागि संरचनागत सुधार गर्न, जग्गा प्रशासनको तालिम सबै कर्मचारीलाई आवश्यक भएको प्रमुख मालपोत अधिकृत भण्डारीले बताउनु भयो । अन्र्तक्रिया कार्यक्रममा प्रमुख मालपोत अधिकृत भण्डारीले मालपोत कार्यालयमा सुधारको शुरुवात गरिएको बताउनु भयो । नेपाल लेखापढी कानुन ब्यवसायीका अध्यक्ष रोशनकुमार श्रेष्ठले नागरिकहरुले मालपोत कार्यालयबाट पाउनु पर्ने सेवा समयमै प्राप्त गर्न नसकेको बताउनु भयो । सेवालाई सहजिकरण गर्न आफ्नो संस्थाबाट सहयोग हुने बताउँदै कर्मचारी सेवाग्रहि मैत्री हुनुपर्ने बताउनु भयो ।