धुलिखेल/कोभिड विरुद्धको खोप शुरु भएको छ । बुधबारबाट देशभर एकै साथ नेपालमा खोप शुरु भएको हो । सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, एम्बुलेन्स चालक तथा अस्पतालमा कार्यरत सुरक्षागार्ड, शव ब्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई लगाईनेछ । जिल्लामा ३ हजार ५ सय ८१ जनालाई पहिलो चरणको खोप लगाईने स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बताउनु भयो ।
बुधबार धुलिखेल अस्पतालबाट खोप कार्यक्रम शुरु भएको डा. झाले बताउनुभयो । दैनिक ८ सय ब्यक्तिलाई लगाउन सकिने गरी धुलिखेल अस्पतालले ब्यवस्थापन गरेको डा. दिपेश ताम्राकारले बताउनु भयो । जिल्लाको पहिलो खोप स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्र कुमार झालाई लगाईएको थियो । क्रमशः काठमाडौं विश्वविद्यालयका डिन डा. राजेन्द्र कोजु, अस्पतालका प्रशासकीय प्रमुख डा रमेश माकजुलाई खोप लगाइएको थियो । धुलिखेल अस्पतालको अलावा जिल्लाको मेथिन्कोट अस्पतालमा खोप लगाउने ब्यवस्था गरिएको छ । जिल्ला संकट ब्यवस्थापन केन्द्रका संयोजक प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले खोप सामाग्री अस्पतालमा हस्तान्तरण गर्नु भएको थियो । समितिका सल्लाहकार जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी, धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु लगायतले कोभिड १९ विरुद्धको खोप सुरक्षित रुपले लगाउन अनुरोध गर्नु भयो । जिल्लामा सरकारी तहका स्वास्थ्यकर्मी ७ सय ४९, नीजि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी १ हजार ३ सय ६८, महिला स्वंसेवीका ९ सय ५५ जना, सरसफाईकर्मी १ सय ११ जना, एम्बुलेन्स चालक ४४ जना र शव ब्यवस्थापनमा खटिने सुरक्षाकर्मी र अस्पतालमा खटिने सुरक्षागार्ड गरी १ सय २६ जनालाई खोप लगाउने गरी सूचिकृत गरिएको संकट ब्यवस्थापन केन्द्रका सदस्य सचिव एवं जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत डा. नरेन्द्रकुमार झाले बताउनु भयो । खोप लगाउनु पुर्व स्वास्थ्य कार्यालय काभ्रेले धुलिखेल अस्पताल, शिर मेमोरियल अस्पताल, बनेपा नगरपालिका, धुलिखेल नगरपालिका, मेथिन्कोट अस्पतालका स्वास्थ्यकर्मीहरुलाई खोप लगाउने तरिकाका बारेमा प्रशिक्षण दिएको छ । स्वास्थ्यकर्मी तथा खोप प्रदायकहरुलाई मंगलबार धुलिखेलमा तालिम प्रदान गरिएको हो । सोहि क्रममा खोप प्रदायकहरुले कस्तो अवस्थामा खोप नलगाउने, कस्तो अवस्थामा लगाउने भन्ने विषयमा जानकारी लिएका थिए । नियमित खोप वा औषधीका कारण एलर्जी, गर्भवती वा बच्चालाई दुध चुसाउने आमाहरुलाई उक्त खोप लगाउन नमिल्ने डा. सुमन ताम्राकारले बताउनु भयो । यो खोप देब्रे पाखुरामा लगाईएको छ । खोप प्रदायकहरुलाई राम्रो प्रशिक्षण भए पछि निर्धक्क खोप लगाउने र खोप लगाउनेहरु पनि ढुक्क हुने बताईएको छ ।
खोप लगाउन आउनेहरुको परिचयपत्र हेरेर, खोप लगाएको परिचयपत्रमा हस्ताक्षर गराएर, ज्वरो आए नआएको परिक्षण गराएर र शरीरमा कुनै प्रकारका समस्या भए खोप लगाउन नहुने बताईएको छ । खोप लगाए पछि आधा घण्टासम्म अस्पतालमै बस्ने ब्यवस्था मिलाईएको छ । खोपबाट हुन सक्ने समस्या आउन नदिन र आई हाले त्यसको तयारीका लागि सबै ब्यवस्थापन गरिएको डा. नरेन्द्रकुमार झाले बताउनु भयो । धुलिखेल अस्पतालले सबै खालको ब्यवस्थापन गरेको डा.सुमन ताम्राकारले बताउनु भयो ।





