धुलिखेल/तीन तहका सरकार, सरकारले गरेका काम कारवाही तथा महिला, बालबालिका, गर्भवती, अपाङ्गता भएका ब्यक्तिहरुको स्वास्थ्य अवस्थाका बारेमा बागमती प्रदेश सरकारले प्राप्त तथ्याङ्कका बारेमा स्वास्थ्य कार्यालय काभ्रेमा जानकारी गराएको छ । बागमती प्रदेश भित्र रहेका १३ वटा जिल्लामा २ हजार ५ सय ९० स्वास्थ्य संस्था मार्फत नागरिकहरुले सेवा प्राप्त गरिरहेका छन् ।
‘स्वास्थ्य संस्थाहरुले बास्तविक जनसंख्या भन्दा धेरै जनसंख्याको अनुमान गरेर योजना बनाउने गरेको विगतको इतिहासलाई अहिले परिवर्तन गरेको छ’–स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले भन्नुभयो–‘हरेक पालिकामा रहेका बालबालिकाहरु, गर्भवती महिला तथा अन्य विषयको तथ्याङ्क टाउको गनेर लिन शुरु गरिएको छ । यसले वास्तविक तथ्याङ्क प्राप्त हुनेछ ।’ काभ्रेपलाञ्चोक लगायत बागमती प्रदेशका धेरै जिल्लाहरु पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भईसकेको भए पनि पहिलो विसिजी खोप ८५ प्रतिशतले लगायका छन् भने काभ्रेपलाञ्चोक जिल्लामा ९७ प्रतिशत बालबालिकाहरुले खोप लगाएका छन् । तर डिपिटी, हेपाटाईटिस खोप लगाउने बालबालिकाहरु बागमती प्रदेशमा ७२ प्रतिशत छन् भने काभ्रेपलाञ्चोक जिल्लामा ७८ प्रतिशत छ । तर अन्तिम खोप अथार्त एक वर्ष भित्र लगाएका बालबालिकाहरुको संख्या भने ५४ प्रतिशत छ भने काभ्रेमा ६२ प्रतिशत पुगेको छ । १२ प्रतिशत बालबालिकाहरु खोप लगाउनबाट बञ्चित छन् । पछिल्लो तथ्याङ्कले स्थानीय तहमा भएका बालबालिकाहरु अधिकांशले खोप प्राप्त गरेको स्थानीय तह स्वास्थ्य शाखा प्रमुखहरुले बताएका छन् । तर तथ्याङ्कको रिपोर्टिङ र एकीकृत सूचना प्रणाली अभावका कारण गराई र भनाईमा फरक पर्न थालेको छ । संघीयताले यस्तो अभ्यासलाई सुधार गर्न नसकेको सहभागिहरुले बताएका छन् ।
बालबालिकाहरु दिर्घकुपोषणको कारण पुड्कोपन बढिरहेको बागमती प्रदेश सरकारका बरिष्ठ जनस्वास्थ्य प्रशासक शम्भु काफ्लेले बताउनु भयो । स्वास्थ्य कार्यक्रमहरु प्रभावकारी हुँदा बाल मृत्युदर, महिला मृत्युदर र निमोनिया दर कम भएको काफ्लेले बताउनु भयो । त्यस्तै प्रदेश भित्रका जिल्लाहरुमा बालबालिकाहरुमा झाडापखाला कमी भएको छ । गर्भवति जाँच प्रदेश भित्र ६१ प्रतिशत महिलाहरुले मात्रै गर्ने गरेका छन् भने ६५ प्रतिशत महिलाहरुले काभ्रेपलाञ्चोक जिल्लामा गर्भवति जाँच गराएका छन् । चौथो अथार्त अन्तिम पटक गर्भ जाँच गराउने महिलाहरुके संख्या बागमती प्रदेशमा ४९ प्रतिशत छ भने काभ्रेपलाञ्चोक जिल्लामा ३२ प्रतिशत मात्रै रहेको छ । संस्थागत सुत्केरी हुनेहरुको संख्या प्रदेश भित्र ६७ प्रतिशत छ भने काभ्रेपलाञ्चोक जिल्लामा ७२ प्रतिशत रहेको छ । अझै घरमै सुत्केरी गराउने क्रम रोकिएको छैन । जसका कारण महिला र बालबालिकहरुको स्वास्थ्य खतरामा परेको छ । तथ्याङ्कले २० वर्ष भन्दा कम उमेरमै आमा बन्ने, गर्भपतन गराउने महिलाहरुको संख्या २० प्रतिशत रहेको देखाएको छ । नेपालको कानुनले २० वर्ष भन्दा कम उमेरमा विवाह गर्न रोक लगाएको भए पनि आफुखशी वा बालिकाहरुको सहमति वेगर विवाह गरिदिने चलन रोक्न सकिएको छैन । जसका कारण महिलाको स्वास्थ्य जोखिममा परेको बताईएको छ ।





