2026 July 07/ 12:43: 00am

    पाँचखाल/विद्युत प्राधिकरण पाँचखाल केन्द्र ग्राहकहरुलाई गुणस्तरीय सेवासँगै विद्युत विक्री बापतको रकम असुली, चुहावट नियन्त्रण र जिर्ण पोल विस्थापनसँगै गुनासो रहित सेवाका लागि कृयाशिल भएको छ । २४ प्रतिशत चुहावटबाट १४ प्रतिशतमा झारेको केन्द्रले सेवासँगै ग्राहकहरुलाई कडाई गरेको छ । 
    जिल्लाको पाँचखाल, मण्डनदेउपुर नगरपालिकासँगै भुम्लु, चौरीदेउराली र तेमाल गाउँपालिकाका नागरिकहरुलाई पाँचखाल केन्द्र मार्फत सेवा उपलब्ध गराउन शुरु गरिएको छ । नेपाल विद्युत प्राधिकरण काभ्रे शाखा मार्फत जिल्लाका सबै क्षेत्रमा सेवा उपलब्ध गराउँदा सहज नभएको गुनासो सँगै पाँचखालमा केन्द्र स्थापना गरी सेवा दिन शुरु गरिएको हो । १६ हजार ग्राहकबाट शुरु गरिएको केन्द्रमा एक वर्ष नपुग्दै २ हजार ५ सय ग्राहक थपिएका छन् । सामुदायिक विद्युतिकरणका ग्राहकसमेत गरी केन्द्र मार्फत २८ हजार ग्राहकलाई सेवा उपलब्ध गराईएको सेवा केन्द्र प्रमुख मेघनाथ ढकालले जानकारी दिनुभयो । देशभर प्राधिकरणले १५ वटा शाखा टुक्राएको थियो । जसमध्ये काभ्रे शाखा टुक्राएर पाँचखालमा केन्द्र स्थापना गरिएको थियो । कार्यालय स्थापना गरे लगत्तै लक्ष्य भन्दा धेरै असुली भएको छ । चालु वर्षको मसिंर महिनामा १ सय २७ प्रतिशत, पुषमा १ सय ४० प्रतिशत विद्युत महसुल संकलन भएको ढकालले बताउनु भयो । पलाञ्चोक भगवती खानेपानी लगायतका संस्थाबाट बक्यौता रहेको महसुल असुल हुँदै गएको ढकालले बताउनु भयो । 
    पाँचखाल मार्फत मासिक डेढ करोडको विद्युत विक्री हुने गरेको छ । गतवर्ष शाखाले महसुल नबुझाउने  ५ सय लाईन काटेको थियो । यो वर्ष ३ सय लाईन काटिसकेको छ । अघिल्लो आर्थिक वर्ष आर्थिक अवस्था कमजोर भएका ३ सय जनालाई निःशुल्क मिटर वितरण गरिएको छ । संचालन हुँदा हुँदै काम नलाग्ने अवस्थामा पुगेका एक हजार वटा मिटर बदली गरिएको छ । ८० प्रतिशत जिर्ण पोल विस्थापन गरिएको छ । अझै केन्द्र मार्फत ४ करोड विद्युत महसुल बक्यौता उठाउन बाँकी छ । महसुल नतिर्ने ३ सय ५० ग्राहक कालो सूचीमा परेका छन् । गुणस्तर सुधारका कारण पटक–पटक लाईन काट्नु पर्ने अर्थात बत्ति झ्याप झ्याप जाने समस्या कम भएको केन्द्र प्रमुख ढकालले बताउनु भयो ।