2026 July 07/ 12:43: 00am

– १ सय ८९ वटा मतदान स्थलमा ३ सय ५० मतदान केन्द्र तोकियो
– मतदाता नामावलीमा दावी विरोध माघ १५–२४ सम्म
– २ लाख ८२ हजार ५ सय ५५ मतदाता

मोतीराम तिमल्सिना
धुलिखेल

    सरकारले बैशाख १७ र २७ गते मध्यावधी निर्वाचन घोषणा गरेसँगै त्यसको तयारी शुरु गरिएको छ । जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकले मध्यावधी निर्वाचनको तयारी स्वरुप राजनीतिक दलहरु सम्मिलित सर्वदलीय बैठक सम्पन्न गरेको छ । पौष २८ गते सम्पन्न पहिलो बैठकले माघ ७ गते बुधबार दोश्रो बैठक बस्ने निर्णय गरेको थियो । मध्यावधी निर्वाचनका लागि २ लाख ८२ हजार ५ सय ५५ मतदाता सुचीकृत भएका छन् । २०७४ मा २ लाख ७२ हजार २ सय ९२ मतदाताले भाग लिने अवसर प्राप्त गरेका थिए । 
    ‘२०७४ सालमा सम्पन्न निर्वाचनमा तोकिएका मतदान स्थल र मतदान केन्द्रहरुका बारेमा सुझाव सहित प्रस्तुत हुने निर्णय भएको थियो’–जिल्ला निर्वाचन अधिकारी उमेशकुमार राईले भन्नुभयो–‘२०७४ सालकै निर्वाचनमा तोकिएका मतदान स्थल र मतदान केन्द्रहरुका बारेमा छलफल भएको छ । केहि स्थान बाहेक अधिकांश मतदान केन्द्र पुरानै कायम भएको छ । भुकम्पका कारण क्षतिग्रस्त भएका पूर्वाधारहरु निर्माण भएकाले मतदान केन्द्र फेरबदल भएका छन् ।’ २०७४ सालमा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा ३ सय ५० वटा मतदान केन्द्र चयन भएका थिए । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकले १ सय ८९ वटा मतदान स्थलमा ३ सय ५० वटा मतदान केन्द्र चयन गर्ने निर्णय गरेको हो । बैठमा जिल्ला स्तरीय राजनीतिक दलका प्रतिनिधिहरु, पालिकाका प्रमुख एवं प्रतिनिधिहरु र सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । बैठकमा मतदानस्थल र मतदान केन्द्र फेरबदल गर्ने सन्दर्भमा फरक–फरक धारणा प्रस्तुत गरिएको थियो । मध्यवधी निर्वाचनमा थप मतदान केन्द्र निर्धारण गर्दा राज्यलाई ब्यवहार थप हुने निश्कर्ष निकालिएको छ । 
    बैठकमा मतदाता नामावली दावीविरोध गर्ने, अद्यावधिक गर्ने निर्णय गरेको छ । पुष ५ गते देखि मतदाता नामावली थप गर्न रोक लगाए पछि जिल्लामा मतदाताहरुको नामावली अद्यावधिक शुरु गरिएको हो । माघ १५ गते देखि हरेक पालिकामा सहायक नाम दर्ता अधिकारी मार्फत माघ २४ गतेसम्म मतदाताहरुको नामावली गलत भएको भए, दोहोरो परेको भए वा अन्य केहि भएको अवस्थामा दावी विरोध गर्ने अधिकार दिईएको छ । संकलित दावी विरोधलाई माघ २४ गते निर्वाचन कार्यालयमा उपलब्ध गराउने गरी तयारी गरिएको छ । मतदाताहरुलाई जिल्ला निर्वाचन कार्यालयले आफ्नो मतदातामा नामावली सहि भए नभएको हेर्न र दावी विरोध गर्न अनुरोध गरेको छ । नागरिकता बनाएसँगै मतदाता नामावलीमा फोटो खिचाउनेहरुले १८ वर्ष नपुगी मतदानमा भाग लिन पाउने छैनन् । जिल्लामा फोटो खिचाएर मतदाता सूचीमा नपर्नेहरुको संख्या धेरै छ । 
    जिल्लामा प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ वटा, प्रदेश सभा चारवटा रहेका छन् । प्रत्येक प्रतिनिधि सभामा दुई दुईवटा प्रदेश सभा रहेका छन् । उक्त निर्वाचनका लागि २ हजार ८ सय कर्मचारी र ३ हजार ५ सय सुरक्षाकर्मीको तयारी आवश्यक छ । 

यस्तो थियो २०७४ को चुनावी तयारी 
    २०७४ मंसिर २१ गते सम्पन्न भएको निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लामा रहेका दुईवटा प्रतिनिधि सभा र चारवटा प्रदेश सभा निर्वाचनका लागि २ हजार ८ सय कर्मचारी खटिएका थिए । ३ सय ५० मतदान अधिकृत, ३ सय ५० सहायक मतदान अधिकृत सहित थप १ हजार १ सय १४ स्वयंसेवकहरु खटिएका थिए । निर्वाचनका लागि ४ सय नेपाली सेना, ४ सय सशस्त्र, १ हजार १ सय नेपाल प्रहरी, १ हजार ५ सय १६ म्यादी खटिएका थिए । २ लाख ७२ हजार २ सय ९२ मतदाता रहेका थिए । प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा १ लाख ३३ हजार ७ सय ७८ मतदाता थिए । प्रदेश सभा १ मा ३६ वटा वडामा ४४ वटा मतदान स्थल र ८६ वटा मतदान केन्द्र थिए । प्रदेश सभामा ६६ हजार २ सय ८५ मतदाता थिए । त्यस्तै प्रदेश सभा २ मा ६७ हजार ४ सय ९३ मतदाता थिए । ३३ वटा वडा कार्यालय अन्र्तगत ५० वटा मतदान स्थल र ८८ वटा मतदान केन्द्र थिए । प्रतिनिधि सभा  १ मा ६९ वटा वडा कार्यालयमा ९४ वटा मतदान स्थलमा १ सय ७४ वटा मतदान केन्द्र तय भएका थिए । तिनै केन्द्रहरुलाई मध्यावधी निर्वाचनका लागि तय गरिएको छ । उक्त निर्वाचन क्षेत्रमा झण्डै ५ हजार मतदाता थप भएका छन् । 
    त्यस्तै प्रतिनिधि सभा क्षेत्र नम्वर २ मा १ लाख ३८ हजार ५ सय १४ मतदाताका लागि ९५ वटा मतदान स्थल र १ सय ७६ वटा मतदान केन्द्र रहेका थिए । ६६ वटा वडा कार्यालय रहेको उक्त क्षेत्रको प्रदेश सभा १ मा ६७ हजार २ सय १ मतदाता थिए । ३६ वटा वडा कार्यालयमा ५१ वटा मतदान स्थल र ८९ वटा मतदान केन्द्र थिए । प्रदेश सभा २ मा ७१ हजार ३ सय १३ मतदाता रहेको उक्त सभामा ३० वडा कार्यालय रहेका थिए । ४४ वटा मतदान स्थल र ८७ वटा मतदान केन्द्र रहेको उक्त क्षेत्रमा अधिकांश नगरपालिकाहरु पर्दछन् । सुरक्षाका हिसावले संवेदनशील, अति संवेदनशिल र सामान्य अवस्थामा विभाजन गरी निर्वाचनको तयारी गरिने प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिनुभयो । 
    

६ सिटका लागि ५४ उम्मेदवार
    २०७४ मंसिर २१ गते सम्पन्न निर्वाचनका लागि प्रतिनिधि सभाका दुईवटा निर्वाचन क्षेत्रमा ३० जनाको उम्मेदवारी परेको थियो । प्रदेश सभामा चारवटा निर्वाचन क्षेत्रका लागि ४१ जनाको उम्मेदवारी दर्ता भएको थियो । दर्ता गरेका मध्ये १३ ले फिर्ता लिएपछि ५८ जनाको उम्मेदवारी कायम भएको थियो । निर्वाचन प्रचार प्रसारका क्रममा अन्य चार उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि ५४ जना उम्मेदवारले मात्रै निर्वाचनको प्रचार प्रसार गरेका थिए । आयोगमा ६ सिटका लागि ७१ जनाको उम्मेदवारी दर्ता भएको थियो । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १ का लागि १ मा १३ दलले उम्मेदवारी दिएका थिए । प्रतिनिधि सभाको क्षेत्र नम्वर १ मा ७ जनाको उम्मेदवारी कायम भएको थियो । कायम भएका मध्ये एक जनाले निर्वाचन प्रचार प्रसारको समयवाधीमा फिर्ता लिएको घोषणा गरे सँगै ६ जना उम्मेदवारले मात्रै उक्त क्षेत्रमा प्रतिस्पर्धा गरेका थिए । प्रतिनिधि सभा क्षेत्र नम्वर १ कै २ बाट एक स्वतन्त्र सहित १२ जनाले उम्मेदवारी दिएका थिए । उक्त क्षेत्रमा १० जनाको उम्मेदवारी कायम भए पनि ९ जना उम्मेदवार मात्रै प्रतिस्पर्धामा रहेका थिए । 
    प्रतिनिधि सभा क्षेत्र नम्वर २ मा १२ जनाको उम्मेदवारी परेकोमा एक उम्मेदवारले फिर्ता लिएपछि ११ जनाको मात्रै कायम भएको थियो । प्रतिनिधि सभा क्षेत्र नम्बर २ को १ मा ७ जनाको उम्मेदवारी कायम थियो भने प्रतिनिधि सभा २ को २ मा ८ जनाको उम्मेदवारी कायम थियो । अधिकांश उम्मेदवारको धरौटी जफत भएको थियो । उम्मेदवार र दलहरुले निर्वाचनमा भएको आम्दानी खर्चको हिसाब समेत बुझाएका छैनन् । 

काभ्रेपलाञ्चोक जिल्लामा २०७४ मा जम्मा मतदाता

(२०७७ पुष ५ गतेसम्म २ लाख ८२ हजार ५ सय ५५ मतदाता कायम भएका छन् । २०७४ को तुलनामा १० हजार २ सय ६३ मतदाता थपिएका छन् ।)  
२०७४ मा २ लाख ७२ हजार २ सय ९२ मतदाता मध्ये 
महिलाः  १ लाख ३५ हजार ४ सय 
पुरुषः  १ लाख ३६ हजार ८ सय ९१ 
तेश्रो लिङ्गी १ 

प्रतिनिधि सभा क्षेत्र नम्वर १ मा मतदाता
६७,८९९ पुरुष, ६५, ८७५ महिला
जम्मा मतदाताः १ लाख ३३ हजार ७ सय ५५

प्रदेश सभा क्षेत्र नम्वर १ 
पुरुष ३४,,०२४,  महिला ३२२५९
जम्मा मतदाताः ६६,२८३ 

प्रदेश सभा क्षेत्र नम्वर २ 
पुरुष ३३,८७५, महिला ३३,६१६, तेश्रो लिंगी १
जम्म मतदाताः ६७,४९२ 

प्रतिनिधि सभा क्षेत्र नम्वर २ मा मतदाता

६८, ९९० पुरुष, ६९,५२२ महिला 
जम्माः १ लाख ३८ हजार ५ सय १२ 

प्रदेश सभा क्षेत्र नम्वर १ 
पुरुष ३३, ८४६, महिला ३३, ३५४ 
जम्मा मतदाताः ६७,२००

प्रदेश सभा क्षेत्र नम्वर २
पुरुषः ३५,१४४, महिला ३६,१६८ 
जम्मा मतदाताः ७१,३१२