2026 July 06/ 11:26: 36pm

    धुलिखेल/शशस्त्र द्वन्द्वका क्रममा जिल्लामा सर्वसाधारण, सुरक्षाकर्मी तथा विद्रोही माओवादीका थुप्रै नेता कार्यकर्ताहरुको निधन, घाईते, बेसहारा भए । अपाङ्ग भएका ब्यक्तिहरुको पीडा बेग्लै छ । दुई पटक प्रधानमन्त्री हुँदा समेत घाईते ब्यक्तिहरुको पक्षमा निर्णय गर्न नसकेका पुष्पकमल दाहालले कार्यकर्ताको संरक्षण गर्न नसकेको र घाईते, अपाङ्गहरुलाई बेवास्ता गरेको गुनासो छ ।
    द्वन्द्वमा मृत्यु भएकाहरुलाई सरकारले १० लाख रुपैया भुक्तानी गरिसकेको छ । द्वन्द्वका क्रममा अन्य घटनाबाट निधन भएकाहरुले पनि द्वन्द्वकै कारण निधन भएको भन्दै गलत विवरण पेश गरी अनुदान लिएका छन् । सरकारले द्वन्द्वका क्रममा घाईते भएका ब्यक्तिहरुलाई जीवन निर्वाह भत्ता उपलब्ध गराउँदै आएको छ । केपी ओली नेतृत्वको सरकारले उपचारमा निशुल्क गर्ने निर्णय गरेको छ । थुप्रै ब्यक्तिहरु द्वन्द्वका कारण प्रभावित छन् । यस अघि मासिक ७ हजारका दरले महाभारत ८ का जितबहादुर राना मगर, तेमाल ८ का विमल दोङ्ग, धुलिखेल ११ की सरस्वती लामा, महाभारत १ का लेकबहादुर श्रेष्ठ, महाभारत ७ का बृखध्वज मोक्तान र मेलसुरी राई, बनेपाका भोलाप्रसाद अर्याल, शिबहादुर गौतमले रकम बुझि लिएका छन् । बृखध्वज र मेलसुरी राईले ६÷६ महिनाको ७ हजारका दरले रकम बुझेका छन् भने अन्यले ७ हजारका दरले रकम बुझेका छन् । जनआन्दोलन २०६२÷२०६३ का घाईत मुकेश कायश्थलाई मासिक १५ हजार र हेरालु नर्सका लागि मासिक ६ हजार २ सयका दरले रकम उपलब्ध हुँदै आएको छ । त्यस्तै शहिद शिवहरी कुँवर, भिमसेन दाहालको पविारले पनि मासिक १५ हजार रकम बुझ्दै आएको छ । पनौतीका सगुन ताम्राकारको परिवारले काठमाडौबाट राहत बुझ्दै आएको छ । 

पुनरावलोकनका लागि निवेदन
    द्वन्द्वका घाईतेहरु केहिले आफु अपाङ्ग भएकै कारण जीवन निर्वाहका लागि समस्या भएको भन्दै जीवन निर्वाह भत्ता पुनरावलोकनका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । निवेदन दिनेहरुमा रोशी भिमखोरी घर भई सिन्धुपाल्चोकमा विवाह गरी गएकी सरस्वती रायमाझी, बेथान्चोक ५ च्यासिङ्गखर्कका प्रविण तामाङ, फोक्सिङ्गटार महाभारतका बुद्धिलाल ब्लोन, रोशीका खड्गराज तामाङ, खानिखोला ५ का रामबहादुर थिङ्ग, मादनकुँडारी चौरीदेउरालीका ज्ञानु तामाङ, खहरेपाँगु रोशीका चन्द्र स्याङ्गतान, गोकुले ८ महाभारतका सपना थिङ्ग, महाभारत ६ का बर्षा राना र बनेपा ९ का भोला अर्याल रहेका छन् । अर्यालले मासिक ७ हजार बृद्धी गर्न माग गरेका छन् भने अरु घाईतेहरुले थोरै मात्रै जीवन निर्वाह भत्ता प्राप्त गरेका छैनन । सरस्वती रायमाझी २०६२ पौष २७ गते दोहोरो भिडन्तमा परी टाउको र दाहिने कानमा गोलीको छर्रा लागी घाईते भएको बताईएको छ । यस अघि उनले २० प्रतिशत आर्थिक सहायता प्राप्त गरेकी थिईन् । कान नसुन्न समस्या रहेको रायमाझीको निवेदनमा उल्लेख छ । 
    त्यस्तै प्रविण तामाङ २०५८ मसिंर १० गते सल्लेरी भिडन्तमा परी घाईते भएको उल्लेख छ । खडगराज तामाङ २०६१ पौष ११ गते नार्केमा भएको भिडन्तमा आँखा गुमेको निवेदनमा उल्लेख छ । बुद्धीलाल ब्लोनले द्वन्द्वका क्रममा खुट्टा गुमाएको बताईएको छ । रामबहादुर थिङ्ग २०५९ भदौ १७ गते सिन्धुलीको भिमान चौकी आक्रमणमा घाईते भएको बताईएको छ । ज्ञानु तामाङ पनौती ब्यारेक, सिराहाको बन्दिपुर, खोटाङको ऐसुलु खर्क भिडन्तमा घाईते भएको उल्लेख छ । चन्द्र स्याङ्गतान २०६२ चैत्र १४ गते देखि ठोकर्पामा हवाईजहाज मार्फत आक्रमणमा परी घाईते भएको, सपना थिङ्ग २०६३ बैशाखमा सिन्धुपाल्चोकको चौतारा सदरमुकाम आक्रमणमा घाईते भएको उल्लेख छ । त्यस्तै बर्षा राना द्वन्द्वका कारण प्यारालाईसिस भएको उल्लेख गरिएको छ ।