धुलिखेल/डिभिजन बन कार्यालय काभ्रेपलाञ्चोकले सामुदायिक वन विकास कार्यक्रम अन्र्तगत विभन्न कार्यक्रम गर्ने योजनाका साथ कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । सरोकारवालाहरु समक्ष प्रस्तुत गरेको कार्यक्रम र बजेट मार्फत डिभिजन वन कार्यालयले चालु वर्षका कार्यक्रमहरु सम्पन्न गर्ने योजना बनाएको प्रमुख देबीचन्द्र पोखरेलले जानकारी दिनुभयो ।
सामुदायिक वनमा थिनिङ्ग तथा सुधार कटान, रोटेसनल फेलिङ्ग, वन क्षेत्र भित्रको खहरे खोल्सामा बाँस राईजोम बृक्षारोपण गरिनेछ । अतिक्रमण हुन सक्ने संवेदनशिल वन क्षेत्रमा वन क्षेत्रको जग्गा छुट्याई फलफुल बृक्षारोपण गर्न बजेट विनियोजन गरिएको छ । ईमिलि, हाईब्रिड अमला, बयर, जामुन, ओखर, पिकानट, मेकाडानिया लगायतका फलफुलका विरुवा रोप्ने गरी कार्यक्रम तय गरिएको पोखरेलले जानकारी दिनुभयो । सामुदायिक वन क्षेत्र भित्रका पानीको मुल वरीपरीको जलाधार क्षेत्र संरक्षण गर्न ८ वटा पानी ट्याङ्की निर्माण, पोखरी र प्रजाती रोपण गरिनेछ । कबुलियती वन क्षेत्र भित्र १ हजार १ सय वटा फलफुल विरुवा खरिद तथा रुोपण गर्ने, ४० वटा कबुलियती वन समूहको विद्यान तथा कार्ययोजना पुनरावलोकन गर्ने, १ सय रोपनी भन्दा धेरै क्षेत्रफलमा लोठ सल्लाको जडिबुटी खेतीका लागि प्लट बृक्षारोपण गर्ने, एक सय रोपनीमा मोरिङ्गाको बृक्षारोपण गर्ने, सामुदायिक वनको एक सय रोपनी जमिनमा उप समुह निर्माण गरी जडिबुटी खेति गर्ने लगायतका कार्यक्रम तय भएका छन् ।
बैज्ञानिक वन ब्यवस्थापन लागू नभएका वन कार्ययोजना पुनरावलोकन गर्न विभिन्न कार्यक्रम सहितको बजेट विनियोजन गरिएको छ । वन तथा बन्यजन्तु संरक्षण र अतिक्रमण नियन्त्रणका लागि गस्ति परिचालन, सहकारी मार्फत जडिबुटीका उत्पादन खेति विस्तार, भण्डारण, प्रशोधन र बजारीकरण गरिनेछ । बुद्ध सर्किट निर्माण गर्ने योजना अन्र्तगत नाला टन्चोक धुलिखेल नमोबुद्ध तोमसोङकुण्ड तिमालसम्म गरिनेछ । भगवती मन्दिर काभ्रे कोशिपारीमा पनि सोहि कार्यक्रम लागु हुनेछ । वन डढेलो नियन्त्रण तथा ब्यवस्थापन योजना कार्यान्वयन गर्ने र चालु वर्षमा जडिबुटी तथा फलफुलका विरुवा वितरण तथा सामुदायिक वनलाई आयआर्जन तर्फ उन्मुख गर्नेमा जोड दिईएको डिभिजन प्रमुख देवीचन्द्र पोखरेलले जानकारी दिनुभयो ।









