2026 July 06/ 11:26: 26pm

    नमोबुद्ध/कालिका प्राथमिक विद्यालय नमोबुद्ध नगरपालिका वडा नम्वर ३ भेडाबारी मेथिन्कोटका शिक्षक नारायणप्रसाद आचार्यले बालबालिकाहरुलाई सिकाउने विधि परिवर्तन गर्नुभयो । लकडाउनले बालबालिकाहरु नियमित विद्यालय जान नसकेको अवस्थामा घरमै रहँदा अध्ययन गर्ने शैली अर्थात अक्षर चिन्ने र लेख्ने बानी विर्सिन सक्ने भन्दै नाङसाल एशोसिएसन नेपालले भाषिक सिप सम्बन्धी १८ दिने तालिम आयोजना गरेको थियो । सोहि तालिमपश्चात नेपाली विषयका शिक्षक नारायणप्रसाद आचार्यले तालिममा सिकेको सिप कक्षामा बालबालिकाहरुलाई प्रयोग गर्दा सिक्न र सिकाउन दुवै सहज भएको बताउनु भयो । 
    ‘बालबालिकाहरुलाई अक्षर चिनाउनु अघिको संकेत ध्वनी सचेतना गराउनु पर्छ’–कार्यक्रम संयोजक ललिता तामाङले भन्नुभयो–‘अक्षर चिनारी, अक्षर अक्षरबाट शब्द भण्डार गर्ने, पढ्ने बेग, लय गति, पढेको कुरा बुझे नबुझेको, बुझेको कुरा लेख्न सक्ने अवस्था भए नभएको र लेखेको कुरा सम्झन सक्ने वा नसक्ने अवस्थाका बारेमा भाषिक सिपले मद्दत पु¥याउने छ ।’ नमोबुद्ध नगरपालिकाका १५ वटा विद्यालयमा लागु गरिएको उक्त भाषिक सिप नेपाली र गणित विषयका शिक्षकहरुका लागि उपलब्ध गराईएको थियो । कक्षा १ र २ मा बालबालिकाहरुलाई यो सिपबाट अक्षर चिनाउँदा र सिकाउँदा फरक सिपको प्रयोग गर्न सकियो भने बाँकी कक्षाहरुमा उनिहरुले सिक्ने पाठहरु सहज हुने विश्वास लिईएको अध्यक्ष दिनेश लामाले बताउनु भयो । 
    विद्यालयका प्रधानाध्यापक दिनेश सापकोटाले विद्यार्थीलाई बुझाउन सजिलो र सकारात्मक भएकाले बाषिक सिप बाँकी कक्षाहरुका लागि पनि महत्वपूर्ण हुने बताउनु भयो । शिक्षक माधव शर्माले तालिमले बालबालिकाहरुलाई सिकाउने सिपको विकास गराएको बताउँदै प्रयोग गर्ने र बालबालिकाले छिटो सिकेको बताउनु भयो । ‘तालिमले बृद्धि विकास गरायो, बालबालिकाहरुलाई बुझाउन सहज भयो’–शिक्षक माधव शर्माले भन्नुभयो–‘गणित विषयको भाषिक सिप प्रयोग गर्ने अवसरले आफु र बालबालिका दुबैलाई राम्रो गरायो । आधारभुत तालिमलाई थप उपलब्ध गराउँदा अझै सहज हुने अपेक्षा गरेका छौं ।’ 
    कालिका जस्तै श्रीराम मावि चरुवा, अमर प्रावि चुहानेमा कार्यरत शिक्षकहरुका लागि गणित र नेपाली विषयको भाषिक तालिम उपलब्ध गराईएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोग, नमोबुद्ध नगरपालिकाको समन्वय र नाङ्गशाल एशोसिएसन नेपालको आयोजनामा आधारभूत तहको शिक्षाको गुणस्तरमा सुधार ल्याउने उद्देश्यले सन् २०२० देखि राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यव्रmम सञ्चालनमा ल्याएको हो । कक्षा १ देखि ३ सम्मका सबै विद्यार्थीको पढाइ सिपको सुधार गने उद्देश्यले आयोजना गरिएको कार्यक्रम सफल र फलदायी भएको नमोबुद्ध नगरपालिका शिक्षा शाखाका प्रमुख जनार्दन रिजालले बताउनु भयो । ‘प्रारम्भिक तहमा पठन सिप विकास सम्बन्धमा विश्वव्यापी आधारभूत मान्यताहरू अनुसार विद्यार्थीले आफ्नो पहिलो भाषामा पढ्न पाएमा उनीहरूमा पढाई सिपको राम्रो विकास हुन्छ’–शिक्षा शाखा प्रमुख उपसचिव जनार्दन रिजालले भन्नुभयो–‘नाङ्गशाल एशोसिएसन नेपालले संचालन गरिरहेको परियोजना अन्तर्गत भाषिक सिप र गणितिय सीप महत्वपूर्ण र फलदायी छ ।’ 
    नाङ्गशालले नविन प्रावि, कालिगंगा प्रावि, भगवती प्रावि, जनक मावि, जनता प्रावि, भिमेश्वर आधारभुत विद्यालय, जनजागृति प्रावि, लक्ष्मीनारायण मावि, बालउज्वल मावि, संसारीदेवी प्रावि, श्री कृष्ण प्रावि र महाकांल प्राविमा कार्यरत कक्षा १ र २ मा नेपाली भाषा र गणित विषय पढाउने शिक्षकहरूका लागि आधारभुत तालिम संचालन गरी कक्षाहरुमा लागु गरिएको छ । पढाईका मुख्य तत्त्वहरू र गणितिय सिपलाई समेटेर तालिम संचालन गरिएको कार्यक्रम संयोजक ललिता तामाङले जानकारी दिनु भयो । असोज १४ देखि कार्तिक १ गतेसम्म १८ दिने तालिम उपलब्ध गराई तालिम पछिको उपलब्धीका बारेमा सरोकारवाला निकायहरुले अनुगमन गरेको तामाङले जानकारी दिनु भयो । विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुले तालिम प्रभावकारी भएकाले अन्य कक्षाहरुका लागि पनि सोहि प्रकृतिको तालिम आवश्यक रहेको बताउनु भएको थियो ।