पुष १५ भित्र पहिलो किस्ता लिनेलाई माघ मसान्त भित्र दोश्रो किस्ता र बैशाख भित्र तेश्रो किस्ता, अरु लाभग्राहिको नामावली स्वत रद्ध हुने घोषणा
धुलिखेल/२०७२ साल बैशाख १२ गतेको भुकम्पले क्षति गराएका आवासहरुको पुनर्निर्माणको काम आगामी २०७८ जेठबाट बन्द हुने भएको छ । सरकारले भुकम्प पीडितहरुलाई उपलब्ध गराउने अनुदान रकमको अन्तिम किस्ता २०७८ जेठ महिनाबाट बन्द गर्ने गरी भुकम्प प्रभावित जिल्लाका कार्यालयहरु मार्फत स्थानीय सरकार भुकम्प पीडित लाभग्राहिहरुकोमा पु¥याईएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी असार मसान्तसम्म भूकम्पले भत्काएका निजी घरहरू पुनर्निर्माणको काम सम्पन्न गर्ने भएको छ । त्यसका लागि प्राधिकरणले अहिलेसम्म घर नबनाएकाहरूले यही पुस १५ गते भित्र पहिलो किस्ताको रकम लिइसक्नुपर्ने, माघ महिनाभित्र घरको जग हाल्नुपर्ने र आगामी वैशाख महिनाभित्र तेस्रो किस्ताको रकम लिएर असार मसान्तसम्म घरको छानो हालिसक्नुपर्ने बताएको छ । आउँदो जेठदेखि तेस्रो किस्ताबापतको रकम दिने काम बन्द गर्ने कार्ययोजना बनाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले जानकारी दिए । आगामी असार मसान्तबाट भूकम्पले भत्काएका व्यक्तिका निजी आवास पुनर्निर्माणको काम सम्पन्न हुनेछन् । निजी आवास पुनर्निर्माण अन्तर्गत भत्किएका ८ लाख घर मध्ये निर्माण सकिएका र बनि रहेका गरी ९२ प्रतिशत प्रगति भएको छ । २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट झन्डै ८ लाख घर भत्किएका थिए । पुनर्निर्माणको काम ९० प्रतिशतभन्दा माथि जानु मुख्य उपलब्धि भएको उनले बताए । अन्य स्थानमा घर भएका र घर नबनाएका कतिपयले पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ फिर्ता गरेको र बाँकी रहेकाहरूले यो आर्थिक वर्षभित्र निर्माण सक्ने उनको भनाइ छ ।
पुनर्निर्माण अन्तर्गत विद्यालयतर्फ ७ हजार ५ सय ५३ वटा विद्यालय बनाउनु पर्नेमा ८० प्रतिशत काम सम्पन्न भएको छ । भूकम्पले भत्काएका प्रायः सबै विद्यालयको पुनर्निर्माणको काम अघि बढिरहेको कार्यकारी निर्देशक ज्ञवालीले जानकारी दिए । विश्वविद्यालय तहका केही संरचना बनाउन समय लागे पनि विद्यालय पुनर्निर्माणको काम पनि यो वर्ष सकिने उनले बताए । १ हजार १ सय ९२ स्वास्थ्य संस्थामध्ये ६० प्रतिशतको काम सम्पन्न भएको छ । भारत सरकारको लगानीमा पुनर्निर्माण हुने स्वास्थ्य संस्थाका लागि पनि स्वीकृति दिइएको र यो वर्ष बाँकी रहेका सबै स्वास्थ्य संस्था पुनर्निर्माण सुरु गर्नेगरी अर्थमन्त्रालयले बजेट व्यवस्थापन गरेको उनले बताए । यस्तै पुरातात्विक सम्पदातर्फ ५० प्रतिशत हाराहारी काम सम्पन्न भएको छ । यो वर्ष करिब ९० प्रतिशत हाराहारी काम अघि बढाउने तयारी छ । अर्को वर्षदेखि बाँकी रहेका काम पुरातत्व विभागले अगाडि बढाउने योजना छ । अर्को वर्षदेखि प्राधिकरण खारेज, विषयगत मन्त्रालयलाई काम हस्तान्तरण हुनेछ ।
पुनर्निर्माणमा ताकेता
भुकम्प पछिको पुनर्निर्माणमा जिल्ला आयोजना कार्यान्वयन इकाई धुलिखेलले ताकेता गरेको छ । स्थानीय सरकार मार्फत पहिलो किस्ता लिन बाकी भएका, पहिलो किस्ता लिएका, दोश्रो किस्ता लिएर पुनर्निर्माण अधुरो राखेका तथा तेश्रो किस्ता लिन बाँकी रहेका लाभग्राहिहरुलाई ताकेता गरिएको आयोजना प्रमुख सच्युतराज उप्रेतिले जानकारी दिनु भएको छ ।
काभ्रेपलाञ्चोक जिल्लामा ९८ हजार १९ घर परिवारको सर्भे गरिएकोमा ७८ हजार ७ सय ८५ जना लाभग्राहि सूचीमा परेका थिए । ५ हजार ७ सय ९३ घर परिवारलाई रेट्रोफिटिङ्गमा समावेश गरी जिल्लामा ८४ हजार ५ सय ७८ घर परिवार समेटिएको छ । जस मध्ये लाभग्राहि सूचीमा परेका ७७ हजार ९ सय ३५ जनाले सम्झौता गरी पहिलो किस्ता लिईसकेका छन् । पहिलो किस्ता लिन बाँकी ६ हजार ६ सय ४३ जना अझै सम्पर्कमा छैनन् । वास्तविक भुकम्प पीडितहरु अझै समेटिन नसकेको अवस्थामा पहिलो किस्ता लिन उपयुक्त ठहर भएका ६ हजार ६ सय ४३ सम्पर्क विहिन भएका छन् । यसले पुनर्निर्माणको प्रगतिलाई कम देखाईरहेको छ । पाँच वर्षसम्म घर आवश्यक नहुने ब्यक्तिहरुलाई लाभग्राहिको सुचीमा राख्न नहुने जनप्रतिनिधिहरुको भनाई छ ।
जिल्लामा दोश्रो किस्ता लिने लाभग्राहिरु ६३ हजार ३ सय ४८ घर परिवार रहेका छन् । तेश्रो किस्ता लिने ५६ हजार ७ सय ७३ रहेका छन् । पहिलो किस्ता लिएर दोश्रो किस्ता नलिनेहरु १४ हजार ५ सय ८७ जना छन् । दोश्रो किस्ता लिएर तेश्रो किस्ता नलिनेहरु ६ हजार ५ सय ७५ घर परिवार रहेका छन् । भुकम्प पुनर्निर्माण आयोजना कार्यान्वयन ईकाई यतिखेर पहिलो र दोश्रो किस्ता लिनेहरुको अवस्थाका बारेमा जानकारी लिईरहेको छ । घर निर्माण गर्न नसक्ने परिवारहरुका लागि स्थानीय सरकासँगको समन्वय र सहकार्यमा आवास निर्माणका लागि सहजिकरण गरिरहेको छ । कार्यालयले समय सिमा भित्रै आवास निर्माण गर्न अनुरोध गरेको छ । राज्यको रकम लिएर आवास निमार्ण नगर्नेहरुलाई सरकारी सम्पति ठगी गरेको अभियोगमा कारवाही हुनेछ ।









