2026 July 06/ 11:27: 17pm

    बनेपा/नेपाल पत्रकार महासंघ काभ्रे शाखा उत्कृष्ट भएको छ । शाखाको बार्षिक साधारण सभा तथा २८ आंै स्थापना दिवसको अवसरमा केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले काभ्रे शाखाका गतिविधि उत्कृष्ट रहेकाले नुमना शाखा घोषणा गरिएको बताउनु भयो । 
    ‘काभ्रे शाखाले नमुना कार्य गरेको छ, नमुना कार्य गरेकाले देशभरका शाखाहरुमा मध्ये उत्कृष्ट शाखा घोषणा गरिएको हो’–अध्यक्ष आचार्यले भन्नुभयो–‘आफुले गरेका निर्णयहरु पुस्तिकाका रुपमा सार्वजनिक गरी सदस्यहरुप्रति उत्तरदायी हुने, हरेक वर्ष गतिविधिहरुलाई लेखापरिक्षण गराई चुस्त दुरुस्त गराउने, सदस्यहरुको हितका लागि कल्याण कोष जस्ता महत्वपूर्ण कार्य शाखाले सम्पन्न गरेको छ ।’ पत्रकारहरुको हितका लागि काभ्रे शाखाले गरेका गतिविधिहरु उत्कृष्ट भएकाले केन्द्र र अन्य शाखाले काभ्रे शाखाबाट सिक्नु पर्ने केन्द्रिय अध्यक्ष आचार्यले बताउनु भयो । 
    महासंघले श्रमजीवी पत्रकारको हकहित र अधिकारको पक्षमा काम गर्दै आएको बताउनु आचार्यले बताउनु भएको छ । कोरोना सङ्क्रमणको कारण देखाउँदै विभिन्न सञ्चारगृहमा कार्यरत झण्डै पाँच सय सञ्चारकर्मीहरुलाई तलब नदिएको तथा कोरोनाको कारण देखाउँदै सरुवा तथा जिम्मेवारीबाट बाहिर राखेको अवस्थामा तलब नदिइएका तथा जिम्मेवारी हेरफेर गरिएका चार सय ६० पत्रकारहरुको समस्या समाधान गर्न महासंघ सफल भएको बताउनुभयो । २०१२ सालमा स्थापना भएर लामो समयसम्म अघि बढेको नागरिक सङ्गठनको रुपमा पत्रकार महासंघ भएकोले उसले स्थापना कालदेखिका आफ्ना पाँचवटा कामलाई अघि बढाउँदै आएको बताउनुभयो । 
    अध्यक्ष आचार्यले महासंघले अनवरत रुपमा पत्रकारको हकहितको पक्षमा आवाज उठाउने, सञ्चारगृहको पक्षमा आवाज उठाउने, राष्ट्रियताको पक्षमा आवाज उठाउने, नागरिकको हक, अधिकारको पक्षमा र लोकतन्त्र, मानवअधिकार र विधिको शासनको पक्षमा आवाज उठाउँदै आएको बताउनुभयो । उहाँले देशभरमा करिब १३ हजार पत्रकारमध्ये अहिले पनि करिब साढे पाँच हजार पत्रकार क्रियाशिल नभएका कारण शाखा कार्यालयहरुले सदस्यता नविकरण नगरेको बताउनुभयो । महासंघ अध्यक्ष आचार्यले पुस १५ सम्म महासङ्घ जिल्ला शाखाको साधारण सभा र पुस मसान्तसम्म प्रदेशको समितिको साधारण सभा सक्नुपर्ने सर्कुलर गरिएको बताउनुभयो । 
    कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव एवम प्रदेश इन्चार्ज रामप्रसाद दाहालले कोरोनाको कारण देखाउँदै ठुला सञ्चारगृहमा कार्यरत सञ्चारकर्मीमाथि भएको अन्यायको पक्षमा महासङ्घले काम गरेको बताउनुभयो । उहाँले समस्यामा परेका सञ्चारकर्मीको पक्षमा काम गर्नका लागि मिडिया मालिकको घर घेर्नेसम्मको कार्यक्रम अघि बढाइएको बताउनुभयो । २८ औ स्थापना दिवस तथा बार्षिक साधारण सभामा केन्द्रिय सदस्यहरु कृष्ण गिरी, द्धारिका काफ्ले, टेकराज थामी, पूर्व सचिव प्रभात चलाउने, बागमति प्रदेश उपाध्यक्ष यदुनाथ गौतम, महासचिव कृष्ण सारु मगर, सचिव सुरेश हुमागाई, सदस्य रामचन्द्र नेपाल, प्रेस युनियनका उपाध्यक्ष इश्वरी ओझा, प्रेस संगठनका केँिन्द्रय सदस्यहरु हिरामान लामा, रामकुमार एलन, ग्याम्जो थोकर, नवराज बजगाई, राजकुमार पराजुली, प्रदेश सह संयोजक सुनिल खड्का लगायतका नेताहरु, जिल्ला अध्यक्षहरु दोलखा जीवन लामा, रामेछाप रमेश ढुंङ्गेल, सिन्धुली राजन कार्की, धादिङ्ग नवराज छतकुल्ली, महासंघ काभ्रे शाखाका पुर्व अध्यक्षहरु भोजराज तिमल्सिना, भोला थापा, महेश पौड्याल, नारायण सापकोटा, सल्लाहकार बद्रिराज तिमल्सिना, प्रेस संगठन काभ्रेका अध्यक्ष भुवन रायमाझी, प्रेस युनियन अध्यक्ष कपिल कोईराला, विभिन्न संघ संगठनका अध्यक्ष एवं प्रतिनिधिहरुहरुको सहभागिता रहेको थियो । सहभागिहरुले नेपाल पत्रकार महासंघ काभ्रे शाखाले गरेका गतिविधिहरु उत्कृष्ट रहेको बताएका थिए । 
    साधारण सभाले जिल्ला शाखाले गरेका निर्णयहरु सर्वसम्मतले पास गरेको छ भने सचिव नगेन्द्र अधिकारीले प्रस्तुत गरेको प्रगति प्रतवेदन र कोषाध्यक्ष कपिल कोईरालाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतले पास भएको छ । काभ्रे शाखाको इतिहासमा पहिलो पटक ४८ जना सदस्यहरु शुद्धिकरण गरिएको छ । महासंघ काभ्रे शाखाले गैह्र पत्रकारहरु हटाउने निर्णयलाई शाखाको साधारण सभाले स्विकृत गरिदिएको छ । सदस्यहरुको हकमा जिल्ला शाखाले गरेको सर्वसम्मत निर्णयलाई अनुमोदन गरेको छ । 
कार्यक्रममा स्वर्गीय पत्रकार भरतराज श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार प्रदिप केसीलाई नगद पाँच हजार ५ सय ५५ रुपियाँसहित सम्मान गरिएको थियो । सोहि अवसरमा पत्रकार केसीले आफ्नो स्वर्गिय पिता लिलाबहादुर केसीको नाममा एक लाख रुपियाँको पुरस्कार कोष खडा गर्नुभएको छ भने पुरस्कार बापत प्राप्त गर्नुभएको रकम समेत सोही कोषमा राख्नुभएको छ । यसैगरी कोरोनाका कारण निधन भएका काभ्रेका अग्रज पत्रकार स्वर्गीय बिष्णुप्रसाद चौलागाँईको स्मृतिमा उहाँका भाई दिपक र छोरा समिरले एक लाखको पुरस्कार कोष स्थापना गर्नुभएको छ ।
    नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमल्सिनाले पत्रकार चौलागाँई पत्रकारिता कोषमा महासंघकोतर्फबाट परिवारले राखेको रकम बराबरको रकम र पत्रकार केसीले स्थापना गर्नुभएको पुरस्कार कोषमा ५० हजार रुपियाँ थप गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले महासंघ केन्द्रीय समितिले स्थापना गरेको पत्रकार विपद् कोषमा शाखाको तर्फबाट एक लाख रुपियाँ थप गर्ने प्रतिवद्धता जनाउनुभएको छ । महासंघ काभ्रे शाखाको सभाले १५ बुँदे घोषणा पत्र जारी गरेको छ । 

नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाको २८ औँ स्थापना दिवस एवं बार्षिक साधारण सभाबाट २०७७ पौष २ गते भएका प्रस्ताव सहितका निर्णयहरु
१) नेपाल पत्रकार महासंघ काभ्रे शाखाको २८ औँ स्थापना दिवस एवं बार्षिक साधारण सभालाई सफल बनाउन सहयोग गर्ने महासंघका सम्पूर्ण साधारण सदस्यहरु, नेपाल पत्रकार महासंघ केन्द्र र प्रदेश तथा सहयोगी सबैप्रति यो सभा आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्दछ । 
२) प्रेस काउन्सिल नेपालद्वारा गरिँदै आएको पत्रपत्रिकाको वर्गीकरणलाई पारदर्शी र निष्पक्ष बनाउँदै सबै सञ्चारमाध्यमलाई समेट्न माग गर्दै यो साधारण सभा लोक कल्याणकारी विज्ञापन बापतको रकममा दोब्बर बृद्धि गर्न माग गर्दछ । 
३) मिडिया काउन्सिल विधेयकमा मिडिया मैत्री नभएका प्रावधानहरु हटाएर संचारमैत्री बनाएर पास गर्नका लागि सम्बन्धित पक्षलाई यो सभा हार्दिक अनुरोध गर्दछ । 
४) श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षाका लागि महासंघले संचालन गरेका आन्दोलनहरुलाई थप शसक्त बनाउँदै संवाद, दवाव र कानुनी उपचारमार्फत प्रभावकारी रुपमा अघि बढाउने प्रतिवद्धता गर्दै यो सभा महिला पत्रकारहरुको श्रम समस्या सम्बोधनमा विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दछ । 
५) श्रम समस्या दखिएका संचार गृहहरुमा श्रमजीवी पत्रकारहरुको अधिकार स्थापनाको लागि गरिएका धर्ना, माग र आन्दोलनहरुप्रति यो सभा हार्दिक ऐक्यबद्धता जाहेर गर्दछ । 
६) कोभिड–१९ का कारण मृत्यु भएका पत्रकारहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै यो सभा कोभिडका कारण बिरामी हुनुभएका सम्पूर्ण सञ्चारकर्मीहरुको स्वास्थ्य लाभको कामना गर्दछ । साथै कोभिडका कारण बेरोजगार भएका पत्रकारहरुलाई सहयोग गर्न र विमित पत्रकारहरुलाई बिमा रकम तत्काल भुक्तानी गर्न यो सभा जोडदार माग गर्दछ । 
७) ६० वर्ष नाघेका र २५ वर्षदेखि निरन्तर पत्रकारितामा सक्रिय अग्रज पत्रकारहरुको विशेष कोभिड राहत उपलब्ध गराउन यो सभा माग गर्दछ । 
८) सूचना तथा प्रशारण विभागबाट प्राप्त हुने लोककल्याणकारी विज्ञापन प्रकाशित गरेवापत पत्रपत्रिकाले एक महिनादेखि पेश गर्नुपर्ने बिल पेश गर्न ढिला भएका कारण सबै पत्रपत्रिकाहरुको भुक्तानी तत्काल गर्नका लागि यो सभा माग गर्दछ । 
९) नेपाल पत्रकार महासंघले माग गरे बमोजिम समानुपातिक विज्ञापन प्रणाली लागु गर्न र समानुपातिक विज्ञापन प्रणाली लागु नहुञ्जेल स्थानीय र प्रदेशबाट उपलब्ध गराइने विज्ञापन सामाुपातिक ढंगले उपलब्ध गराउन यो सभा माग गर्दछ । 
१०) प्रेस पास जारी र नविकरणका लागि जिल्ला हुलाक कार्यालयलाई आवश्यक उपकरण दिएर उक्त कार्य अघि बढाउन र कोभिड–१९ को जोखिम न्यूनिकरणको वातावरण तत्काल मिलाउन यो सभा सम्बन्धित निकायको ध्यानाकर्षण गर्न चाहन्छ । 
११) यो सभा साना लगानीमा खोलिएका संचारमाध्यमलाई डेण्डर सूचना प्रकाशित गर्न पाउने गरी सार्वजनिक खरिद ऐन संशोधन गर्न आग्रह गर्दछ । 
१२) अनलाइन माध्यमले मूलधारको पत्रकारितामा स्थान बनाउँदै गएको सन्दर्भमा अनलाइन मिडियालाई अन्य मिडिया सरह सेवा सुविधा उपलब्ध गराउन यो सभा माग गर्दछ । 
१३) यो सभा काभ्रे जिल्लामा तिव्र गतिमा भईरहेका विकास कार्य प्रति सन्तोष व्यक्त गर्दै विकास निर्माणका कार्यलाई अझै प्रभावकारी र पारदर्शी बनाउन जिल्लाबाट निर्वाचित सांसद, स्थानीय सरकार र राजनीतिक दलहरुलाई हार्दिक आग्रह गर्दछ । 
१४) यो सभा तत्काल प्रदेशस्तरिय आम सञ्चार प्रशिक्षण प्रतिष्ठान गठनको माग गर्दछ । 
१५) पत्रकार भए वापत प्राप्त गर्ने हरेक सेवा सुविधाको लागि संघिय सरकार अन्र्तगत रहेको सूचना विभागको परिचय पत्रलाई मात्र आधिकारिकता दिने गरेकोमा सो व्यवस्थालाई संशोधन गरी प्रदेश सरकार संचार रजिष्ट्रारको कार्यालयबाट जारी गरेको परिचय पत्रलाई पनि मान्यता दिन यो सभा माग गर्दछ ।