2026 October 20/ 02:58: 45am

‘कल्पना पनि थिएन यो बाटो पिच हुन्छ’
    दाप्चा/‘ति युग थिए । त्यो समय थियो । पूर्वको सिन्धुली, ओखलढुंगा, रामेछाप देखि काभ्रेको दाप्चा हुँदै काठमाडौं जाने ‘ढाकर’ (डोको बोक्ने भरिया) ‘तोक्मा’ लाठी लिएर भारी भोकेर आउने बाटो पौने सय वर्ष पछि कालोपत्रे भएको छ’–नमोबुद्ध नगरपालिका वडा नम्वर ८ दाप्चा तल्लो हटियाका ८४ बर्षीय बासुदेवप्रसाद अधिकारीले भन्नुभयो–‘उहिले बाबु बाजेले ४ पैसा कमाउने बाटो छैन भनेको सम्झन्छु । ढाकर तोक्मा लिएर भारी बोकेको सम्झन्छु् । कल्पना पनि थिएन यो बाटो पिच हुन्छ ।’
    ‘म नजन्मदै यो बाटोको रेखांकन भएको रहेछ । विस्तारै सडक फराकिलो बन्यो । पञ्चायतकाल अगावै निर्माण भएर पनि संचालनमा आउन सकेको थिएन । २०२०÷०२१ सालमा दोश्रो पटक फुलबारी नजिकै देखि दाप्चा हुँदै चरङ्गेफेदीसम्मको सडक ब्यक्ति ब्यक्तिले घरघरबाट गएर निर्माण गरिएको हो’–जेष्ठ नागरिक बासुदेव अधिकारीले भन्नुभयो–‘भक्तपुर यता सडक थिएन, भक्तपुरबाट लहरी चढेर काठमाडौ जान २० पैसा भाडा तिर्नु पर्दथ्यो । त्यहि बेला एक घरले ५ हात सडक खन्नु पर्दथ्यो, ८÷९ दिनमा उक्त सडक खनिसकिन्थ्यो । मैले नमोबुद्ध उताको मोडमा ९ दिन खनेको थिएँ ।’ त्यतिबेला देखि संचालनमा आएको सडक बल्ल पिच हुँदा खुशीले गद्गद् भएको उहाँले बताउनु भयो । 
पाँच वर्ष अघि पिचका लागि ३० करोड रुपैयाँको बोलपत्र आब्हान भए पनि २२ करोडमा ठेक्का सम्झौता भएको थियो । ८ किलोमिटर लम्बाई तथा ५–७ मिटर चौडाई रहेको प्रिमिक्सि पिच, नाली र वालहरुको कार्य संघिय संरचना तथा विविध कारणले हुन सकेको थिएन । संघिय सरकारले सडकहरुको विभाजन गरेसँगै उक्त सडक प्रदेश मातहत प-यो । डेड वर्ष फाईल संघ सरकारको सडक विभागबाट प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय आउनै लाग्यो । बल्लबल्ल फाईल आयो बजेट अभाव भयो । ठेकेदारले तोकेको सम्झौताको समयावधी सकियो । तेश्रो पटकको समयवाधी पनि पौष मसान्तबाट सकिदैछ । 
    तीन वर्ष अघि भएको संघ र प्रदेशको निर्वाचन पछि उक्त सडक कालोपत्रे गर्ने जिम्मेवारी सोहि क्षेत्रका सांसदहरुको रह्यो । प्रदेश कार्यालयमा फाईल आए लगत्तै सोहि क्षेत्रका प्रदेश सभा सदस्य चन्द्र लामाले निरन्तर उक्त फाईलको कार्वाही अघि बढाउन, बजेटको ब्यवस्थापन गर्न र निर्माण कम्पनीको म्याद थप गरेर कार्य गर्न पहल गर्नु भयो । कोरोना महामारीले अन्तिम पटकको म्याद भित्र पनि कार्य सम्पन्न हुने सम्भावना न्युन छ । विपी राजमार्गबाट बैकल्पिक मार्गका रुपमा लिएको उक्त सडकको बाँकी पाँच किमी पिच हुन बाँकी हुन्छ । चरङ्गेफेदी खोलामा नमोबुद्ध ५ मा निर्माण हुँदै गरेको पुल सम्पन्न भए पछि विपी राजमार्गबाट नमोबुद्ध हुँदै पनौती ग्वार्काे ललितपुर सडक छोटो दुरीको हुनेछ । उक्त सडकको निर्माण कार्य पनि धमाधम भईरहेको छ । फुलबारी देखि दाप्चाको तल्लो हटियासम्म पिच हुने उक्त सडक निर्माणको अवलोकन संघिय सांसद्, प्रदेश सांसद्, सरोकारवाला निकायहरुले गरिरहेका छन् । ‘पाँच वर्ष पुरानो फाईललाई निरन्तरको खबरदारी र प्रयासका कारण पिच गराउन सफल भयौं’–प्रदेश सभा सदस्य चन्द्र लामाले भन्नुभयो । 
    उक्त सडकमा पर्ने ८ सय मिटरको पुरानो बजार क्षेत्रमा ढलान गर्ने र ढलान पछि ढुङ्गा छाप्ने गरी योजना बनाईएको छ । एकीकृत विकास कार्यक्रम अर्थात दाप्चा पुर्नरुत्थान कार्यक्रम अन्र्तगत प्राप्त १ करोड ७५ लाख अघिल्लो वर्ष खर्च हुन सकेन । यो वर्ष उक्त रकम ल्याउन पहल गर्ने र सोहि क्षेत्रको पुरातात्विक महत्वका घरहरुको संरक्षण गर्ने योजना रहेको प्रदेश सभा सदस्य चन्द्र लामाले बताउनु भयो । ‘२०१७ सालमा अहिलेको असन जस्तै भिडभाड हुने दाप्चा बजार अहिले सुनसान छ’–जेष्ठ सदस्य बासुदेव अधिकारीले भन्नुभयो–‘विकासले गति लिएको छ, बजेट थपिएको छ तर बस्ने मान्छे छैनन ।’ सडक निर्माणसँगै उक्त क्षेत्रमा उत्पादन हुने कृषि तथा अन्य बालीहरु शहरमा सहजै पुग्ने गरेको छ । केहि वर्ष अघिसम्म उक्त क्षेत्रबाट दुध बोकेर पनौती ल्याउने गरिएको थियो । 
    धार्मिक पर्यटकिय स्थल नमोबुद्ध, रोशी गाउँपालिकाको तिनधारे झरना तथा प्रशिद्ध स्थलहरु जान उक्त सडक कालोपत्रे भए सँगै यात्रुहरुलाई सहज भएको छ ।