‘नेकपामा यदुबंशी कार्यले चरि नाङ्गै’
नमोबुद्ध/नेकपाका केन्द्रिय सदस्य एवं जिल्ला ईन्चार्ज तथा पूर्व मन्त्री गोकुल बास्कोटाले नेकपा भित्रको विवादलाई यदुबंशीको संज्ञा दिनुभएको छ । ‘नेकपालाई नेपाली नागरिकले मत दिएको विकास र समृद्धिका लागि हो, यदुबंशी तरिकाले चरिनाङ्गै बनाउने कार्य गलत छ’–बास्कोटाले भन्नुभयो ।
नमोबुद्ध नगरपालिकाको सातांै स्थापना दिवसको अवसरमा नेकपा नेता समेत रहेका पूर्व मन्त्री बास्कोटाले सरकारले गरेका राम्रा कामहरुबाट आत्तिएकाहरुले भ्रमपूर्ण तथ्याङ्क प्रस्तुत गरी सरकारलाई बदनाम गर्न खोजे पनि सरकार समाजबादउन्मुख भएको बताउनु भयो । ‘अहिल्यै समाजबाद लागु भयो कि भएन भन्ने बेतुकको बहस हो’–पूर्वमन्त्री बास्कोटाले भन्नुभयो–‘सरकार र नेकपा समाजबाद उन्मुख छ । समाजबाद उन्मुख अर्थतन्त्र, पूर्वाधार निर्माण, नागरिकहरुका आधारभुत आवश्यकता पुरा गर्न स्वास्थ्य विमा, दुर्गम क्षेत्रमा सुत्केरी हुन नसकेका महिलाहरुका लागि राष्ट्रपति उद्धार कार्यक्रम, एकल महिला, अपाङ्गता भएका ब्यक्ति, जेष्ठ नागरिक भत्ता त्यसका नमुना हुन् ।’ सरकारले सयौ वर्ष देखि छिमेकी देश भारतले अतिक्रमण गरेको सिमा अतिक्रमण हटाउँदै त्यहाँ रहेका सेना हटाउन पहल गर्नु, नक्सा जारी गर्नु, छिमेकी देश चीनसँग आर्थिक सहयोगको सम्झौता गर्नु ? गलत नभएको बताउँदै पार्टी भित्र भएको विवादले मुुलुकमा राजनीतिक अस्थिरता भयो भने मुलुकमा प्रगति सम्भव नभएको बताउनु भयो ।
‘नेकपाका नेताहरुले भएको घर जलाएर खरानी लिएर पछि टाउकोमा हात राख्दैनन भन्ने विश्वास छ’–पूर्वमन्त्री बास्कोटाले भन्नुभयो–‘नेकपा फुटाउने धृष्टता कसैले नगरोस् । कार्यकर्ताहरुलाई निराशा नबनाउ । आफुनै शक्ति चिन्न नसकेर उज्यालोबाट अध्यारोतर्फ नधकेलौं ।’ बास्कोटाले भकुण्डे बजारमा रहेका प्रदूषित उद्योग विस्थापन सकारात्मक कदम भएको भन्दै खुशी व्यक्त गर्नुभयो । इँटा उद्योग विस्थापन पछि भकुण्डे क्षेत्रको वातावरण स्वच्छ भएको बताउँदै बास्कोटाले नगरपालिकामा जनप्रतिनिधि आएपछि विकास निर्माणका क्षेत्रमा पनि धेरै काम भएको बताउनु भयो । नमोबुद्ध नगरपालिकामा भएके खानेपानीको समस्या समाधान गर्नै पहल भईरहेको बताउँदै पूर्वाधार निर्माणमा विशेष जोड दिएको बताउनु भयो ।
वर्तमान सरकार नेपालको संविधान कार्यान्वयन, नाकाबन्दी पछिको चुनौती, भुकम्प पछिको पुनर्निर्माण र कोरोना भाइरसको चुनौतीको सामना गर्दै अघि बढेको बताउँदै बास्कोटाले देशमा केही काम भएन भन्नेहरुका लागि विभिन्न क्षेत्रमा भएका पूर्वाधार निर्माणको कामले जवाफ दिएको बताउनु भयो । नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले जनताको अपेक्षा अनुसार काम गरिरहेको र सबै पक्षको सकारात्मक सहयोगबाट समृद्धिको सपना पुरा हुने बताउनु भयो । नगरभित्र सडक, खानेपानी, शिक्षा स्वास्थ्य लगायत विकासका क्षेत्रमा नगरपालिकाले विशेष जोड सहित नीति कार्यक्रम र बजेट कार्यान्वयन गरिरहेको नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले बताउनु भयो ।
स्थापना दिवसको अवसरमा संघीय सांसद् गंगाबहादुर दोङ्ग, पूर्व राज्यमन्त्री रेशम लामा, संविधान सभा सदस्य रामहरी सुवेदी, प्रदेश सांसद् चन्द्र लामा, रत्न ढकाल, गोमा भुर्तेल, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, उपप्रमुख रामदेवी तामाङ, प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईंले नगरको समग्र अवस्थाबारे जानकारी गराएका थिए ।
स्थापना दिवसमा विविध कार्यक्रम
नमोबुद्ध नगरपालिकाको सातांै स्थापना दिवसमा विविध कार्यक्रम सम्पन्न भएका छन् । पक्की सडक हस्तान्तरण, भु–सेवा केन्द्र, नगरझण्डा झण्डोत्तोलन गर्दै पुर्व मन्त्री एवं नेकपा केन्द्रिय सदस्य गोकुल बास्कोटाले सार्वजनिक गर्नु भएको छ । स्थापना दिवसको अवसरमा नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएसँगै भए गरेका कामहरु समेटिएको पुस्तक जनप्रतिनिधिका तीन बर्ष बिमोचन गरिएको छ ।
यसैगरी नगरपालिकामा सघन शहरी विकास आयोजनाबाट निर्माण भएको भकुण्डे–दारेगौंडा–नास्पातीबोट सडक उद्घाटनसँगै हस्तान्तरण गरिएको छ । यसैगरी नमोबुद्ध नगरपालिका ४ मा निर्माण भएको कबर्ड हल नगरपालिकालाई सोही अवसरमा हस्तान्तरण गरिएको छ । बास्कोटाले नमोबुद्धको कार्यक्रममा सञ्चारकर्मी शिव अधिकारी, समाजसेवी एवं व्यवसायी कुमार दाहाल र नेपाल केम्फो खुकुरी मार्शल आर्टस् संघका अध्यक्ष पूर्ण पाण्डेलाई विशेष सम्मान गरेको छ । यसैगरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईंलाई नगरको समृद्धि र प्रशासनिक कार्य एवं सुशासनमा योगदान दिए वापत् विशेष सम्मान गरिएको छ । उत्कृष्ट कर्मचारी सन्तोष काफ्ले, उत्कृष्ट वडा सचिव शंकर भट्टराई, उत्कृष्ट वडा कार्यालयहरु वडा नं. १ र वडा नं. २ लाई सम्मान गरिएको छ ।
यसैगरी वडा कार्यालय निर्माणका लागि जग्गा दिने गोविन्द घिमिरे, रामकृष्ण श्रेष्ठ तथा दुईवटा सडक उपभोक्ता समितिलाई समान गरिएको थियो । यस्तै कोरोना भाइरस नियन्त्रण र रोकथाममा सक्रिय एम्बुलेन्स चालक पन्चलाल श्रेष्ठ, सवारीचालक ङेमा लामा, कार्यालय सायोगी सीता खड्का, प्रविण अधिकारी, हेल्थ असिस्टेन्ट शोभाकान्त आचार्य, गंगाराम तिमल्सिना, सिडियर अहेब कल्पना अधिकारी, स्टाफ नर्स शर्मिला प्रजापति, बिना श्रेष्ठ, कम्प्युटर अपरेटरहरु राजीव श्रेष्ठ, श्याम खनाल, सहायक कम्प्युटर अपरेटर जीवन कार्की, डाक्टर रामशरण श्रेष्ठ नमोबुद्ध गुम्बा, समाजसेवी वाङचुक राप्तेन लामा, गैरसरकारी संस्था सिप्रेड, वडा अध्यक्षहरु उद्धवप्रसाद काफ्ले, धर्मसिं लामा, रामकृष्ण उपाध्यायलाई सम्मान गरिएको थियो ।
कार्यक्रमकै अवसरमा नमोबुद्ध ८ स्थित स्वास्थ्य चौकीमा कार्यरत हत्या गरिएकी रञ्जना अधिकारीको छोरालाई पठनपाठनका लागि ३० हजार, नमोबुद्ध नगरपालिका वडा नं. १० की तत्कालिन कर्मचारी स्वर्गीय नरकुमारी घोरासैनीको परिवारका सदस्यलाई २५ हजार तथा नमोबुद्ध नगरपालिका वडा नं. ९ का तत्कलिन वडा सचिव स्वर्गीय श्रीराम सत्यालको परिवारलाई कर्मचारी कल्याण कोषबाट १ लाख ८७ हजार ८५ रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको छ ।









