धुलिखेल/विप्लप समुहका अराजक गतिविधि बढ्न थाले पछि त्यसमा विश्वास गर्ने र सक्रिय भएर कृयाशिल भएका नेता तथा कार्यकर्ताहरु धमाधम नेकपामा फर्किन थालेका छन् ।
धुलिखेल नगरपालिका वडा नम्वर १२ निवासी शेरबहादुर खत्री र राजु खत्री विप्लप समुह छाडेर नेकपा प्रवेश गरेका हुन् । नेकपाका नेता एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले नवप्रवेशिहरुलाई पार्टीमा स्वागत गर्नु भएको थियो । नेकपाले नेपालको विकास र समृद्धिका लागि सपनासँगसँगै योजनाहरुका साथ काम गरिरहेकाले नेकपामा आबद्ध हुन अन्य पार्टीका नेता तथा कार्यकर्ताहरुले अनुरोध गर्नु भएको थियो । स्थानीय सरकारले नागरिकहरुको हितमा कार्य गरिरहेको, नागरिकहरुको आय स्तर बृद्धिका लागि कृषिमा प्रविधि मैत्री सामाग्री तथा सिपको हस्तान्तरण, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका आधारभुत आवश्कयताका आधारमा काम गरिरहेको बताउनु भयो । सोहि कार्यक्रममा वडा अध्यक्ष हर्क तामाङ, नेकपा नेता सिताराम भट्टराई तथा विभिन्न तहका नेता तथा कार्यकर्ताहरु र जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
यसअघि विप्लप समुह परित्याग गर्दै नेता यादव ढुङ्गेल, रमण परियार तथा विभिन्न क्षेत्रबाट नेता तथा कार्यकर्ताहरु नेकपामा प्रवेश गरिसकेका छन् । प्रहरीको अनुसन्धान र धरपकड बढिरहेकाले विप्लप समुहका नेता कार्यकर्ताहरु धमाधम पार्टी परित्याग गर्ने क्रम बढेको हो । यसअघि प्रहरीले धुलिखेल १२ शंखुकै मधु बजगाईलाई पक्राउ गरेको थियो । उनी सामान्य जीवनमा फर्किसकेकाले विप्लप समुहका गतिविधिमा कृयाशिल नहुने बताईसकेका छन् ।









