बनेपा/नेपाल पत्रकार महासंघ काभ्रे शाखाको बुधबार सम्पन्न ३९ औं बैठकले महासंघको २८ औ स्थापना दिवसको अवसर पारी पौष २ गते साधारण सभा गर्ने निर्णय गरेको छ । सभाको उद्घाटन केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले गर्नु हुने भएको छ ।
बनेपाको पञ्चकन्या बेन्क्वैटमा हुने साधारण सभामा स्वास्थ्य मापदण्ड पूरा गरिनेछ । महासंघले २०७४ सालको पौष २ गते रजत महोत्सव मनाएको थियो । सोहि अवसरमा स्मारिका प्रकाशन, संस्थापक सदस्यहरुको सम्मान गरेको थियो । भौतिक पूर्वाधार, संस्थागत विकास, क्षमता अभिबृद्धि तथा दीर्घकालीन योजनाका साथ पत्रकार महासंघले पत्रकारहरुको दुर्घटना वीमा, कोरोना वीमा गराएको छ । जिल्लामा ११ जना पत्रकारहरु कोराना संक्रमित भईसक्नु भएको छ भने दुर्घटनामा परी एक जना पत्रकारहरुले उपचार बापत्को रकम वीमाबाट प्राप्त गर्नु भएको छ । बैठकले स्व. पत्रकार विष्णु चौलागाईप्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गरेको छ । त्यस्तै पत्रकारहरुको पुनः दुर्घटना वीमाका लागि मंसिर २५ गतेसम्मको समयावधी तोकिएको सचिव नगेन्द्र अधिकारीले जानकारी दिनुभयो । दुर्घटना वीमाका लागि सदस्यहरुले सूचना विभागको परिचयपत्र, नागरिकता र महासंघले प्रदान गरेको सदस्यता परिचयपत्रको प्रतिलिपि सहित इच्छाईएको ब्यक्तिका बारेमा खुलाई महासंघ कार्यालयमा पठाउनु पर्ने छ ।
महासंघले साधारण सभाकै अवसरमा स्व. भरतराज पत्रकार पुरस्कार कोषबाट संचारकर्मी सम्मान गर्न पूर्व अध्यक्ष एवं सल्लाहकार भोला थापाको अध्यक्षतामा राजाराम कार्की र रमा दाहाल सदस्य रहेको समिति गठन गरेको छ । समितिले सम्मान गर्ने पत्रकारको नाम सिफारिस गरे पछि कार्यसमितिले अनुमोदन गर्नेछ । बैठकले साधारण सभाको तयारी, महासंघले गरेका निर्णयहरुलाई सबै सदस्यहरुका बीच पु¥याउन निर्णय पुस्तिका प्रकाशन, बार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रकाशित गर्ने निर्णय गरेको छ । त्यस्तै महासंघका गतिविधि प्रकाशन तथा प्रसारण गर्ने उद्देश्यले वेभसाईट निर्माण गर्ने निर्णय गरेको छ । बैठकले कोरोना संक्रमित पत्रकारहरुको स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरेको सचिव नगेन्द्र अधिकारीले जानकारी दिनु भएको छ ।
महासंघको यो कार्य समितिले प्रिफ्याबको तल्ला थप, फर्निचर तथा कार्यालय ब्यवस्थापन, कम्पाउण्ड वाल, सडक स्तरोन्नती, पक्कि नाली, पार्किङ्ग, पार्क लगायतका संरचना निर्माण गरिसकेको छ भने पत्रकारहरुलाई सहयोग गर्ने विपद् कोष स्थापना गरेको छ । १० लाख पु¥याउने उद्देश्यले निर्माण गरिएको कोषमा हाल ५ लाख जम्मा गरिसकिएको छ । उक्त कोष संचालनका लागि तयार गरिएको कार्यविधि अनुसार पत्रकार शिव पन्तलाई सहयोग गरिएको छ । कोरोना फैलन नदिन गरिएको लकडाउनमा सदस्य तथा कार्यरत कर्मचारीहरुलाई सहयोग, पत्रकारहरुको पहिचानका लागि परिचयपत्र र प्रेस ज्याकेट वितरण, शुद्धिकरण तथा सुरक्षाका लागि विभिन्न कार्यक्रमहरु गरिएका छन् । क्षमता अभिबृद्धिका लागि आधारभुत तथा एडभान्स तालिम, स्थानीय तहमा एक आधारभुत पत्रकारिताका बारेमा जानकारी गराउने उदेश्यले स्थानीय सरकारकै सहयोगमा तालिम संचालन भएका छन् । प्रेस मैत्री कानुन निर्माणका लागि आवश्यक छलफल तथा सुझाव पेश गरिएको छ भने पत्रकारहरुको उपचारका लागि बनेपा हेल्थ केयरमा उपचारमा सहुलियत गरिएको छ । लोगो प्रकाशन, फेलोशिपका लागि सहजिकरण, विज्ञापनमा एकरुपता तथा सहजिकरण गरिएको अध्यक्ष मोतीराम तिमल्सिनाले जानकारी दिनु भयो । महासंघले भवन अगाडी स्मारक निर्माण गर्ने निर्णय गरिसकेको छ ।
संचारगृहका लागि पत्रकारको सुरक्षा
नेपाल पत्रकार महासंघले देशभरका पत्रकारहरु तथा संचारगृहका लागि पत्रकार सुरक्षा विधिका बारेमा छलफल गरेको छ । अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा भएको छलफलमा महासंघका सल्लाहकार, पूर्व अध्यक्षहरु, वर्तमान तथा पूर्व पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
छलफल कार्यक्रमको समापनमा नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले ब्यक्ति आफै ब्यवसायीकतातर्फ उन्मुख हुँदा हुँदै विभिन्न क्षेत्रबाट हुन सक्ने सम्भावित जोखिमलाई मुल्यांकन गरी संचार संस्था तथा संचारकर्मीहरुले सुरक्षाका उपाय अपनाउनु पर्ने बताउनु भयो । संचार संस्था सक्षम हुन ब्यक्ति सक्षम हुन जरुरी छ । ब्यक्ति सक्षम हुँदा संस्था र संस्था सक्षम हुँदा त्यहाँ कार्यरत ब्यक्तिहरुको क्षमता बृद्धि हुन सक्ने बताउनु भयो । सुरक्षाका विधिहरु घटना विशेष फरक फरक हुने भएकाले संचारगृह आफैले त्यसको आंकलन गरी पुर्व तयारी गर्नुपर्ने विषयमा जोड दिनुभयो । संचारकर्मीको दिर्घकालीन रुपमा जीवन वीमा, दुर्घटना विमा र सामाजिक सुरक्षा कोषका बारेमा संचार संस्थाहरुले ध्यान दिनुपर्ने संघका अध्यक्ष ब्याञ्जुले बताउनु भयो ।
सोहि छलफल कार्यक्रममा पूर्व अध्यक्षहरु डा. महेन्द्र विष्ट र डा. सुरेश आचार्यले पत्रकार महासंघले सुरक्षाका लागि विधि भन्दा नीति बनाउनु पर्नेमा जोड दिनुभयो । सल्लाहकार तिर्थ कोईरलाले पत्रकारहरुको सुरक्षासँगै संचारगृहको सुरक्षाका लागि आवश्यक नीति आवश्यक रहेको बताउनु भयो । पत्रकारहरु उजिर मगर, खिला भण्डारी, राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता डा. टिकाराम पोखरेल, प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकी, प्रमुख प्रशासकिय अधिकृत झविन्द्र भुषाल, पत्रकारहरु अनिता विन्दु, दिलिप थापा लगायतले सुझाव प्रस्तुत गर्नु भएको थियो । छलफलमा प्राप्त सुझावहरुलाई केन्द्रिय समितिमा प्रस्तुत गरी महाधिबेशनमा लगिने अध्यक्ष आचार्यले बताउनु भयो ।
धुलिखेलमा आयोजित उक्त कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । सहभागिहरुले संचारगृह र संचारकर्मीहरुको सुरक्षाका लागि सुरक्षा विधिका बारेमा सुझाव दिएका थिए । महासंघले देशभरका शाखाहरुको साधारण सभा तोकिसकेको छ भने अधिबेशन र महाधिबेशनको समेत मिति तय गरेको छ । राजधानीका केहि संचारमाध्यमहरुमा कार्यरत पत्रकारहरुले पारिश्रमिक नपाएको, श्रमबाट निकालिनु परेको विषयमा समेत छलफल भएको थियो ।









