2026 July 06/ 08:03: 11pm

बनेपा/बनेपा, धुलिखेल र पनौती नगरपालिका जोड्ने दोश्रो परियोजना पुण्यमाता करिडोर निर्माण कार्यको शुभारम्भ गरिएको छ । शहरी विकास तथा भवन निर्माण पूर्व मन्त्री गोकुल बास्कोटाले यसअघि नै उक्त आयोजनाको शिल्यान्यास गर्नु भएको थियो । 
पुण्यमाता करिडोर अन्र्तगत बनेपा खण्डको बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं बादे, उपप्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेति, वडा अध्यक्षहरु, कर्मचारीहरु तथा स्थानीयहरुको सहभागिता रहेको थियो । निर्माण कार्य शुभारम्भमा नगर प्रमुख बादेले समयमै करिडोर निर्माणका लागि स्थानीयहरुको सहभागिता र सहयोग आवश्यक रहेको बताउनु भएको थियो । 
परियोजनाका लागि १४ करोड ४७ लाख ५५ हजार इष्टमेट गरिएकोमा ६ करोड २७ लाख ९५ हजार ९ सय ६ रुपैंयामा ठेक्का सम्झौता गरिएको छ । २०७७ माघ १४ भित्र ६ महिनामा सम्पन्न गर्ने गरी सम्झौता गरिएको आयोजनामा पुण्यमाता करिडोरका लागि पहिलो चरणमा करिडोरको क्षेत्र पहिचान गरिनेछ । डिमार्केसन वाल, फिलिङ्ग वक्र्स सहित २३ किलोमिटर क्षेत्रफलको कार्य हुनेछ । 
पहिलो खण्ड बनेपा नगरपालिका नाला शेरा करुणामाई देखि सरस्वती दोभान हुँदै बनेपा पुलबजार पुलसम्म सडक स्तरोन्नती कार्य हुनेछ । जसका लागि स्टमेट गरिएको ४ करोड ८२ लाख रुपैयाँ मध्ये २ करोड ८ लाख रुपैयाँमा सम्झौता भएको छ । दोश्रो खण्ड पुलबजार बनेपा देखि खड्पु पुलसम्म स्तरोन्नती हुनेछ । जसका लागि ४ करोड ८२ लाख रुपैयाँ इस्टमेट गरिएकोमा २ करोड १ लाख रुपैयाँमा सम्झौता भएको छ । त्यस्तै तेश्रो खण्ड खड्पु पुलदेखि पनौती त्रिवेणीघाटसम्म पुग्ने सडक स्तरोन्नती कार्यका लागि ४ करोड ८२ लाख इस्टमेट गरिएकोमा २ करोड १८ लाख रुपैयामा सम्झौता भएको छ । तीनवटा खण्डको अलग अलग बोलपत्र आब्हान गरिएको भए पनि एउटै कम्पनीसँग सम्झौता भएको आयोजनाका प्रमुख मचाकाजी महर्जनले जानकारी दिनु भयो । 
करिडोर निर्माणले नयाँ शहरी क्षेत्र निर्माण हुने, रजमार्गको चाप कम हुने, बैकल्पिक मार्गले यातायातमा थप सहजता हुने धुलिखेल नगरपालिका नगर प्रमुख अशोक ब्याञ्जुले बताउनु भयो । स्मार्ट सिटी, फोहोरमैला ब्यवस्थापन, ब्यवस्थित शहर निर्माण लगायतका कार्य शुरु भएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेले करिडोर विकास जिल्लाको समृद्धिको प्रमुख आयोजना भएको बताउनु भयो ।