2026 July 06/ 08:11: 32pm

पर्यटनका लागि प्रमुख गन्तव्य स्थल
काफलडाँडा, रोशी/लकडाउनले जताततै असर पु¥याएको छ । नागरिकहरुका दैनिक जीवन असहज र कष्टकर बन्दै गए । जोखिममा नागरिकहरुको ज्यान बचाउन तीन तहकै सरकार सक्रिय भईरहेका छन् । कोरोना भाईरसले असर मात्रै पु¥याएको छैन स्थानीय स्तरमा अवसर समेत सृजना गरेको छ । त्यसको उदाहरण हो काभ्रेको रोशी गाउँपालिका स्थित वडा नम्वर २ मा रहेको काफलडाँडास्थित तीनधारे झरना । सामाजिक सञ्जालमा छिमेकी देश भारतमा बाहुबली फिल्ममा प्रयोग गरिएको झरनाको संज्ञा दिन थालिएको छ । 
ओझेलमा रहेको तीनधारे झरना लकडाउनकै अवस्थामा प्रचारमा आयो । रोशी गाउँपालिकाले गाउँपालिका भित्र रहेका पर्यटकिय सम्भावना बोकेका स्थान र प्राकृतिक सम्पदाहरुको संरक्षण गर्ने उदेश्यले अध्ययन गरी प्रकाशन गरेको दस्तावेजरुपी पुस्तकका कारण उक्त क्षेत्रमा अध्ययन गर्ने विद्यार्थीहरुको समुह पुगेको थियो । सोहि स्थानबाट गाउँपालिकाले बृहत्त खानेपानीको शुरु गर्ने निर्णय गरेको छ । गाउँपालिकाले प्राथमिकतामा राख्न शुरु गरेको तीनधारे झरनाका रुपमा तिनै विद्यार्थीहरुका कारण प्रचारमा आएको गाउँपालिका अध्यक्ष डिबी लामाले बताउनु भयो । ‘गाउँपालिकाले तयार गरेको पुस्तक तीनवटा भाषामा प्रकाशन भएको छ, उक्त पुस्तक अध्ययन गरी विद्यार्थीहरु तीन धारे झरनामा पुगेर फर्किए पछि झरनामा जानेहरुको संख्या बाक्लिन थाल्यो’–अध्यक्ष लामाले भन्नुभयो–‘गाउँपालिकामा आएका विद्यार्थीहरुलाई पालिकाले उपलब्ध गराएको पुस्तकका आधारमा लोकेसन सोधेर लकडाउनको समयमा त्यहाँ पुगेर फर्किए पछि नागरिकहरुलाई त्यसका बारेमा थप चासो भएको हो ।’ 
पूर्वाधार निर्माण हुँदै गरेको तीनधारे झरनालाई सधै त्यहि अवस्थामा रहन दिन गाउँपालिकाले तत्काल र दीर्घकालका लागि गुरुयोजना तयार गरिरहेको प्रमुख प्रशासकिय अधिकृत डम्मरु दाहालले बताउनु भयो । फलामेसाँघु हुँदै चण्डीगाउँ काफलडाँडा पुगेपछि तीनधारे झरना पुग्न सकिन्छ । सदरमुकाम धुलिखेलबाट विपी राजमार्ग–दाप्चा–शिखरआम्बोटे पुगेपछि झरना जानेहरुको लर्काे देख्न सकिन्छ । विपी राजमार्गको भकुण्डे–डराउनेपोखरी–पिपलटार–फलामेसाँघु हुँदै अर्काे बाटो जान सकिन्छ भन विपी राजमार्ग कटुञ्जे हुँदै फलामेसाँघु पुग्न सकिन्छ । तीनवटा सडकबाट पुग्न सकिने तीनधारे झरना पुग्न बर्षात्को समय कठिन भए पनि घाममा दैनिक एक हजार भन्दा धेरै ब्यक्तिहरुको घुँईचो लागिरहेको छ । स्थानीय उत्पादनहरु विक्री भईरहेका छन् । गाउँपालिकाले नागरिकहरुको सहजताका लागि प्रारम्भिक होमस्टेको ब्यवस्थापन र नागरिकहरुको सुरक्षाका लागि आवश्यक प्रबन्ध मिलाएको छ । सडकलाई फराकिलो र सुधार गर्न तत्काल निर्माण कार्य शुरु गरेको छ भने तीनधारे झरनाको संरचनाका लागि गाउँपालिकाले दीर्घकालिन योजना बनाउन शुरु गरेको अध्यक्ष डिबी लामाले बताउनु भयो । 
तीनधारे झरना संरक्षण संवर्द्रधन तथा पर्यटन उपभोक्ता समितिका अध्यक्ष वीरबहादुर मगरका अनुसार दुई महिनायता झरना अवलोकन गर्न आउनेको संख्या ह्वात्तै बढेको छ ।’ शनिबारबाहेक दैनिक झण्डै हजार जना झरना हेर्न आउने गरेका छन् । शनिबार मात्र २ देखि ३ हजारसम्म आउने गरेका छन्’– उनले भने ।   
झरना अवलोकन गर्न काठमाडौं,  भक्तपुर,  ललितपुर,  दोलखा र काभ्रेलगायतका आसपासका जिल्लाबाट उल्लेखनीय संख्यामा युवायुवतीहरु आउने गरेका छन् । काठमाडौं उपत्यका आसपासका स्थानहरुमा रहेका झरनाबाट केही फरक र साहसिक यात्रा अनुभव गर्न चहनेहरुका लागि रोशीको तीनधारे झरना उपयुक्त गन्तव्य हुन सक्छ । वडा अध्यक्षहरु श्रीदास लामा, पोते लामाले तीनधारेको विकासका लागि वडा, पालिका, प्रदेश र संघ सरकारको समन्वयात्मक सहयोग आवश्यक रहेको बताए ।