2026 July 06/ 08:03: 12pm

धुलिखेल/राष्ट्रिय बाल दिवसको अवसरमा धुलिखेल नगरपालिकाले बालबालिकाहरुको प्रतिभा प्रस्फुटनका लागि भर्चुअल माध्यबाट कविता रचनाहरुको प्रतिस्पर्धा गराएको छ । सहभागि बालबालिकाहरुले आफ्नो प्रतिभालाई प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नगर प्रमुख अशोक ब्याञ्जु, उपप्रमुख विमला शर्मा, प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम सुवेदी, शिक्षा शाखा प्रमुख माधव शर्मा, सामाजिक विकास अधिकृत विदुर गौतम, बालबालिकाको क्षेत्रमा काम गर्ने ब्यक्तिहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा सरस्वती मावी बडालगाउँकी छात्रा स्वस्तिका चौलागाई प्रथम, सेतिदेवी मावी रविगाउँकी छात्रा सभ्यता चौलागाई दोश्रो, हनुमान मावी पातलेखेतकी छात्रा विनिता तामाङ तेश्रो र काठमाडौ विश्वविद्यालय हाईस्कुल चौकोटकी छात्रा श्रीयस्मा वैजुले सान्त्वन्ता पुरस्कार प्राप्त गरेका थिए । नगरपालिकाले प्रथम, दोश्रो, तेश्रो र सान्त्वना पुरस्कार बापत ६ हजार, ४ हजार, ३ हजार र २ हजार उपलब्ध गराएको छ । धुलिखेल नगरपालिकाले गत आर्थिक वर्षमा ६ वटा वडाहरुलाई बालमैत्री घोषणा गरेको र यस आर्थिक बर्ष भित्र सबै वडा र सिँगो नगरपालिकालाई बालमैत्री बनाउने योजना बनाएको नगर प्रमुख अशोक ब्याञ्जुले बताउनुभयो । धुलिखेल नगरपालिकाको कुनै पनि बालबालिका विद्यालय बाहिर हुन नदिने बताउँदै बाल अधिकारको बाल संरक्षणमा धुलिखेल नगरपालिकाले विभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्नुका साथै अभिभावक गुमाएका बालबालिकाको संरक्षणमा लागेको बताउनु भयो ।
नगरपालिकाले यो आर्थिक बर्ष भित्र बालबालिकाको लागि १ करोड रुपैँया बजेट विनियोजन गरेको छ । धुलिखेल नगरपालिकाले नगर भित्र रहेको सबै वडाहरुमा बालमैत्री पार्कहरु निर्माण गरिएको नगर उपप्रमुख बिमला शर्माले बताउनुभयो । धुलिखेल नगरपालिकाले आयोजना गरेको कविता प्रतियोगितामा नगर भित्रका १८ वर्ष मुनिका बालबालिकाहरुको सहभागिता रहेको धुलिखेल नगरपालिकाको बालमैत्री सम्पर्क ब्यक्ति बिदुर गौतमले जानकारी गराउनुभयो । धुलिखेल नगरपालिकाको सबै वडा, टोल र विद्यालयमा बाल क्लब रहेका छन् ।