2026 July 06/ 08:03: 12pm

एसओएस बालग्राम काभ्रे बन्यो अभिभावक
बनेपा/जुगल गाउँपालिकाको लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण र शिक्षाको जिम्मेवारी काभ्रेमा रहेको एसओएस बालग्रामले लिएको छ । पालनपोषण, हेरचाह, स्वास्थ्य, शिक्षा लगायतका सबै सुविधा एसओएस बालग्रामले उपलब्ध गराउनेछ । उनिहरु जस्तै ३ सय भन्दा धेरै बालबालिकाहरुको हेरचाह एसओएस बालग्रामले गर्दै आएको छ । 
भदौ १० गते सिन्धुपाल्चोकको बाँसखर्कमा राहत सहित पुगेका सभामुख सापकोटाले विस्थापितहरुसँगको छलफलमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण र शिक्षाका लागि ब्यवस्थापन गर्ने बताउनु भएको थियो । एसओएस बालग्राम आफैले पनि त्यो घटनामा अभिभावक गुमाएका बालबालिकाहरुको अभिभाकत्वका लागि चासो देखाएको थियो । सभामुख अग्नि सापकोटा सहितको अनुरोधमा एसओएस बालग्राम पनौतीका निर्देशक सुरेन्द्र अमगाईं सहितको टोलीले भदौ १६ जिल्लाको बाँसखर्क पुगेर वडा अध्यक्ष लामासँग समन्वय गरी बालबालिकालाई एसओएस बालग्राम ल्याउन आवश्यक प्रक्रिया थालेको थियो । सबै प्रक्रिया पूरा भएपछि सातजना बालबालिकालाई पनौती स्थित बालग्राममा ल्याइएको निर्देशक अमगाईंले बताउनु भयो । पहिरोमा अभिभावक गुमाएका पाँच देखि बाह्र बर्ष उमेरका बालबालिकाहरुलाई पनौतीस्थित एसओएस बालग्रामका अधिकारीहरुसँग पठाइएको जुगल २ का वडाध्यक्ष प्रताप लामाले बताउनु भयो । लामाका अनुसार बालग्राम पठाईएकाहरुमा छ जना बालक र एक बालिका छन् । पहिरोबाट विस्थापित भएर जुगल गाउँपालिका वडा नं १ बाँसखर्कमा अस्थायी बसोबास गरिरहेका उनीहरुको सरोकारवाला कार्यालयहरुबाट आवश्यक काजगपत्र तयार गरी पिसिआर विधिबाट कोरोना परिक्षण गरिएको थियो । सबैको नतिजा नेगेटिभ आएपछि बालबालिकालाई एसओसएस बालग्राम पनौतिका निर्देशक अमगाईं, विनोदमणी भट्टराई लगायतको टोलीसँग पठाइएको अध्यक्ष लामाले बताए ।
साउन ३० गते विहान लिदीमा गएको भीषण पहिरोमा अभिभावक गुमाएका १२ बालबालिका मध्ये १२ वर्ष माथिका ५ बालबालिकाको शिक्षा र संरक्षणका लागि बसोबासस्थलमै संरक्षक मार्फत सहयोग गरिने एसओएस बालग्राम पनौतिका निर्देशक अमगाईले जानकारी दिनुभयो । जुगल गाउँपालिका वडा नं २ को लिदी पहिरोले ३७ घर पुरिंदा घरसँगै पुरिएर बेपत्ता भएका ३७ जनाको शव फेला परेको छ । दुई जना अझै बेपत्ता छन् । पहिरोले बस्ती नै जोखिममा परेपछि लिदीबासीलाई हाल बाँसखर्कमा अस्थायी बसोबासको व्यबस्था मिलाइएको छ । विस्थापितहरुको स्थायी बसोबासका लागि पहल भइरहेको छ ।