2026 July 06/ 08:02: 50pm

धुलिखेल/कोरोना भाईरसका कारण जिल्लामा थप एक जनाको निधन भएको छ । कोरोना संक्रमण पुष्टी भए पछि ज्यान गुमाउनेहरुको संख्या जिल्लामा चार पुगेको छ । अन्य जिल्लाबाट उपचारका लागि काभ्रे आएर निधनहुनेहरुको संख्या तीन समेत गरी ७ जनाले जिल्लामा कोभिडकै कारण ज्यान गुमाएका हुन् । 
    बुधबार निधन हुनेमा पनौती नगरपालिका वडा नम्वर ३ कुशादेवीका ४१ बर्षिय पुरुष हुन् । उनी केहि समय देखि काठमाडौमा बस्दै आएका थिए । काठमाडौ मेडिकल कलेजमा उपचारार्थ उहाँलाई पेट दुखेर भाद्र २७ गते अस्पताल भर्ना गरिएको थियो । २८ गते कोरोना परिक्षणका लागि स्वाव लिएर उपचार भईरहे पनि २९ गते कोरोना संक्रमण देखिएको र ३० गते राति उहाँको निधन भएको स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले बताउनु भयो । पाँचखाल अनेकोट घर भएकी महिला, धुलिखेल घर भएका पुरुष, भुम्लु घर भएकी महिलाको उपचारकै क्रममा निधन भएको थियो । सिन्धुपाल्चोक जिल्ला घर भई धुलिखेल अस्पतालमा निधन भएकी महिला नेपालको पहिलो कोरोना संक्रमण पुष्टी भएर निधन भएकी महिला हुन् । त्यस लगत्तै भक्तपुर सुर्यविनायक घर भएका पुरुष र महोत्तरी बर्दिवास घर भएका एक पुरुषको कोरानाकै कारण धुलिखेल अस्पतालमा निधन भएको थियो । 
    जिल्लामा बुधबारसम्म संक्रमणहुनेहरुको संख्या ४ सय ३९ पुगेको छ । निको भएर २ सय ८३ जना घर फर्किसकेका छन् । संक्रमण हुनेहरुमा पुरुष २ सय ६६ र महिला १ सय ७३ जना छन् । बुधबार मात्रै २० नयाँ संक्रमित थपिएका हुन् । संक्रमण भएका मध्ये ६७ जना अस्पतालमा र ५३ जना घरमै उपचारार्थ रहेको डा. नरेन्द्रकुमार झाले बताउनु भयो ।