बनेपा/नेपाल विद्युत प्राधिकरण काभ्रे शाखा विद्युत चुहावट नियन्त्रण गर्न आक्रामक रुपमा सक्रिय भएको छ । प्राधिकरणले चुहावटको प्रतिशतलाई शुन्यमा झार्ने गरी कार्य गरिरहेको छ । अघिल्लो वर्षको तुलनामा काभ्रे शाखाले ६ प्रतिशत धेरै चुहावट नियन्त्रणमा सफलता हासिल गरेको छ ।
नेपाल विद्युत प्राधिकरण काभ्रे शाखाका प्रमुख रञ्जनराज गुरुङ्गका अनुसार चुहावट नियन्त्रण कार्यमा शाखाले केहि उल्लेख्य कामहरु गरेको छ । हुकिङ्ग हटाउने, डिजिटल तथा स्मार्ट मिटर बदली तथा जडान, बन्द मिटर बदली गर्दा चुहावटमा सुधार आएको प्रमुख रञ्जन गुरुङ्गले बताउनु भयो । चालु वर्षमा चुहावटको २०.४३ प्रतिशतबाट १४.१ प्रतिशत कायम भएको छ । चुहावट कारवाही बापत गत आर्थिक वर्षमा २३ लाख ९४ हजार ५ सय ५० रुपैया पैसा असुल भएको छ । बत्ति चोर्ने प्रयोजनमा संलग्न ब्यक्तिहरुलाई पक्राउ गरी कारवाही गर्ने योजनामा प्राधिकरण लागेको छ ।
लकडाउन अवधीमा पनि प्राधिकरणले आफ्नो सेवा सूचारु राख्यो । प्राधिकरणमा सरकारी बक्यौता १६ करोड २० लाख रुपैयाँ सहित ३२ करोड ६२ लाख ३८ हजार ७ सय ६९ रुपैयाँ बक्यौता रहेको छ । लकडाउनका कारण बक्यौता वृद्धिमा भएको छ । ४५ हजार ग्राहकहरु मध्ये करिब २२ हजार ग्राहकले मात्र मासिक रुपमा महशुल तिर्ने गरेका छन् । अवधि नाघेका र बर्षाै रकम तिर्न आनाकानी गर्ने बक्यौता बाँकी रहेका ग्राकहरुको लाइन काट्न सुरु गरिएको प्राधिकरणका प्रमुख रञ्जन गुरुङ्गले बताउनु भयो ।
नेपाल विद्युत प्राधिकरणले आ.व. २०७६÷०७७ मा काभ्रे जिल्लामा सेवाग्राहीहरुको विद्युत सेवामा सहज पहुँच बनाउन विभिन्न स्थानहरुमा कार्यालयहरु विस्तार गरेको छ । काभ्रे वितरण केन्द्रको सिफारिसमा जिल्लाका दुईवटा नगरपालिका पाँचखाल र मन्डनदेउपुर र तीनवटा गाउँपालिका तेमाल, भुम्लु र चौरीदेउरालीमा कार्यक्षेत्र पर्ने गरी पाँचखाल वितरण केन्द्रको स्थापना गरिएको छ । नगरकोट नो लाइटको स्थापना र बेथानचोक गाउँपालिकाको कार्यालय ढुंखर्कमा महशुल काउण्टरको स्थापना गरिएको छ । साथै बनेपा, धुलिखेल, पनौती, नमोबुद्ध, रोशी, बेथानचोक लगायतका स्थानहरुमा करिब ५ हजार थान जीर्ण काठका पोलहरु बदली गरिएको छ । पटक–पटक विद्युत आपूर्ति अवरुद्ध हुने समस्या कम गर्न वन क्षेत्रमा इन्सुलेटेड तार फेर्ने, झोलिएका तारहरु तन्काउने लगायतका वितरण प्रणालीमा सुधार कार्य गर्दा आपूर्ति निरन्तर भएको छ । केही स्थानहरुमा अझ पनि समस्या रहेकोले सुधार कार्य कार्यान्वयनमा आइसकेको र चालु वर्ष भित्रै कार्य सम्पन्न गरिसक्ने गुरुङ्गले बताउनु भयो । घरबत्ती, उद्योग, खानेपानी आदि प्रायोजनका लागि साथै भोल्टेज सुधारका लागि ६१ थान ट्रान्स्फर्मर जडान गरिएको छ ।
विद्युत प्राधिकरण काभ्रे शाखाले गत आर्थिक वर्षमा ५ करोड ४२ लाख २४ हजार ७ युनिट विक्री गरी प्राधिकरणले एक वर्षमा ५१ करोड ९५ लाख ११ हजार ८ सय ७६ रुपैयाँ संकलन गरेको छ । ४५ हजार ५ सय ६९ ग्राहकहरुबाट संकलन गरेको उक्त रकम र खपत भएको युनिट ८६.६६ प्रतिशत हो । कोभिडका कारण उक्त प्रतिशतमा कमि भएको हो । कार्यालयमा सेवाग्राहिहरुको सहजताका लागि सरसफाईमा ध्यान दिएको, टोकन, खानेपानी, टेलिभिजन, फ्रि–वाईफाई, भिजिटिङ्ग चियर सहितको सुविधा सम्पन्न काउण्टर, सहज रुपमा मिटर वितरण गरिरहेको छ ।
त्यस्तै चालु वर्षमा ग्राहक सेवा कक्ष स्थापना गरिने योजना रहेको प्रमुख गुरुङ्गले बताउनु भयो ।









