2026 July 06/ 08:02: 50pm

धुलिखेल/धुलिखेल नगरपालिका वडा नम्बर ९ स्थित काभ्रे भञ्ज्याङको एउटै टोलमा २५ जना कोरोना संक्रमित भेटिएका छन् । संक्रमण पुष्टी भए लगत्तै संक्रमण नियन्त्रण, रोकथाम र उपचार सम्वन्धी जिल्ला स्तरीय संकट ब्यवस्थापन केन्द्रको बैठकले उक्त क्षेत्र शिल गर्ने निर्णय गरेको छ । 
प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको अध्यक्षतामा बसेको बैठकमा धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो । बैठकले १३ वटै स्थानीय तहमा निर्माण भएका क्वारेन्टाईनहरुमा आधा आईसोलेसन बेड तयार गरी त्यसको जानकारी जिल्लास्थित संकट ब्यवस्थापन केन्द्रलाई गराउने निर्णय भएको छ । धुलिखेल ९ काभ्रेभन्ज्याङ्ग, मिलनचोक क्षेत्रलाई शिल गरी संक्रमतिहरुको सम्पर्कमा आएका ब्यक्तिहरुको तत्काल परिक्षण गरी थप संक्रमण हुन नदिने निर्णय गरेको छ । 
काभ्रे भञ्न्ज्याङ्गमा संक्रमण देखिएका ब्यक्तिहरुमा ज्वरो र कोरोनाको लक्षण देखापरेसँगै कोरोना परिक्षण गरिएको थियो । जसमा एकै टोलका २५ जनाको रिपोर्ट पोजिटिभ आएको छ । संक्रमित हुनेहरुमा ९ वर्षका बच्चा देखि ८० वर्षसम्मका वृद्ध रहेका छन् । यसअघि सोही स्थानका केही व्यक्तिमा कोरोना पुष्टि भएको थियो । ठूलो संख्यामा संक्रमित फेला परेसँगै सो वडा शिल गरिएको हो । यस्तै, संक्रमितलाई उपचारका लागि धुलिखेल अस्पताल र नगरपालिकाको आइसोलेसनमा ल्याईएको छ । नगरपालिका प्रमुख अशोक कुमार व्याञ्जु श्रेष्ठले थप संक्रमण फैलिन नदिन बाँकी सबैको परीक्षणका साथसाथै छलफल र डिस्इन्फेक्सन छर्किने काम अघि बढाइएको बताउनु भएको छ । स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले धुलिखेल नगरपालिका क्षेत्रका संवेदनशिल क्षेत्रमा आवश्यक स्वास्थ्य सतर्कता बढाईएको बताउनु भयो । 
धुलिखेल नगरपालिकामा संक्रमितको संख्या ९६ पुगेको छ । श्रीखण्डपुरमा थप चारजना एकै परिवारका र धुलिखेल अस्पतालमा एक कर्मचारीमा संक्रमण देखिएको छ । यस्तै, स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक नरेन्द्र कुमार झाले काभ्रेमा संक्रमितको संख्या ३ सय ६८ पुगेको जानकारी दिनुभएको छ । संक्रमितको संख्या बढेसँगै संक्रमण फैलिन नदिन स्वास्थ्य कार्यालयले स्थानीय सरकारसँग समन्वयन गरी आवश्यक कार्यक्रम अघि बढाएको झाले बताउनुभयो ।