2026 July 06/ 08:02: 50pm

धुलिखेल/कोभिड नियन्त्रणमा नेपालमै नमुनाका रुपमा कार्य गरिरहेको धुलिखेल नगरपालिकालाई बागमती प्रदेश सरकारले एक करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । धुलिखेलमा स्थापना गरेको क्वारेन्टाईन ब्यवस्थापनमा उत्कृष्टतासँगै बागमती प्रदेश सरकारले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो । 
धुलिखेल नगरपालिकाले स्थापना गरेको क्वारेन्टाईनमा धुलिखेल नगरपालिकाको अलावा नेपालका विभिन्न जिल्लाका नागरिकहरुलाई क्वारेन्टाईनमा राख्दै आएको छ । संघ, प्रदेश र अन्य निकायको अनुगमनमा धुलिखेल नगरपालिका उत्कृष्ट भएको र थप ब्यवस्थित बनाउन उक्त रकम उपलब्ध गराईएको हो । मुख्यमन्त्री डोरमणी पौडेल, स्वास्थ्यमन्त्री युवराज दुलाल लगायतले धुलिखेल नगरपालिकामा क्वारेन्टाईन र आईसोलेसनलाई थप ब्यवस्थित बनाउन उक्त रकम उपलब्ध गराएको बताएका छन् । नगर प्रमुख अशोक ब्याञ्जुले प्राप्त रकम मार्फत नगरपालिकामा रहेको क्वोरन्टाईन, आईसोलेसनलाई अझै ब्यवस्थित बनाउने र स्वास्थ्य सामाग्री उपलब्ध गराउने बताउनु भयो । धुलिखेलमा धुलिखेल अस्पताल, प्रादेशिक ल्याव मार्फत दैनिक कोरोना संक्रमणको परिक्षण भईरहेको छ भने विभिन्न जिल्लाबाट आएका कोभिड तथा अन्य विरामीहरुको उपचार भईरहेको छ । धुलिखेल नगरपालिकाले तयार गरेको क्वारेन्टाईनमा जिल्लाकै महाभारत, खानीखोला र चौरी देउराली गाउँपालिकाका नागरिकहरु समेत बस्दै आएका छन् । 
धुलिखेल नगरपालिकालाई १ करोड उपलब्ध गराएसँगै नमोबुद्ध नगरपालिकामा रहेको मेथिन्कोट अस्पतालका लागि १५ लाख रुपैयाँ उपलब्ध गराउने बागमती प्रदेश सरकारले निर्णय गरेको छ । अस्पतालले आफ्नो सेवा क्षेत्र विस्तारका लागि प्रयास गरे पनि कोभिडको सन्दर्भमा अन्य पालिका र अपायक भएका हिसाबले जिल्ला स्तरको कार्य गर्न सकेको छैन । बागमती प्रदेश सरकारले भरतपुर महानगरपालिका र भिमेश्वर नगरपालिका दोलखालाई पनि एक÷एक करोड उपलब्ध गराएको छ । अन्य १५ वटा नगरपालिका तथा अस्पपतालहरुका लागि पनि सहयोग रकम उपलब्ध गराएको छ ।