८० जनाले औषधी सेवन गर्छन, २० वर्षमा ४० ले ज्यान गुमाए
मोतीराम तिमल्सिना
बनेपा
२० वर्ष अघि काभ्रेमा पहिलो पटक एचआईभी संक्रमित ब्यक्तिको पहिचान भएको थियो । एचआईभी संक्रमित ब्यक्तिको पहिचान हुँदा उसलाई गर्ने सामाजिक ब्यवहार र लाञ्छनाको बयान गरि साध्य छैन । अहिले कोरोना संक्रमितहरुलाई हेर्ने दृष्टिकोण र गरिने ब्यवहार ठ्याक्कै एचआईभी संक्रमितहरुको भन्दा चर्काे भएको छ ।
सक्रिय प्लस नेपाल काभ्रेका अध्यक्ष एवं एचआईभी संक्रमित अमिर खड्काका अनुसार २० वर्ष अघि एचआईभी संक्रमितहरु छन् वा आए भने लगत्तै समुदाय नै त्रसित हुन्थ्यो । ‘शुरुमा यो रोगलाई भयानक महामारीका रुपमा लिईएको थियो’–अध्यक्ष खड्काले भन्नुभयो–‘घर परिवार, समाज, अस्पताल, विद्यालय, कार्यालय लगायतका क्षेत्रमा हुने गरेको लान्छना तथा भेदभावले अझै पनि संक्रमित खुल्न सक्ने अवस्था छैन ।’ पहिला पहिला संक्रमित भएको ब्यक्तिलाई छुँदै नछुने, अगाडि नै नपर्ने, जुठो नखाने, सँगै नसुत्ने, कपडा धुँदा नमिसाउने, लास नछुने जस्ता ब्यवहारहरु हुने गरेको अध्यक्ष खड्काले बताउनु भयो । विस्तारै ती कुराहरू समान्य बन्दै गएको भए पनि एच.आई.भि. संक्रमितलाई समाजले हेर्ने दृष्टिकोण अझै परिवर्तन हुन सकेको छैन ।
लकडाउनका कारण संक्रमितहरुले थप सास्ति ब्यहोर्नु परेको अध्यक्ष खड्काले बताउनु भयो । जोखिम अबस्थामा अस्पतालको एआरटी सेन्टरहरुमा गई राख्नु पर्ने, समुदायमा औषधी वितरण गर्न जानु पर्ने, यति नै बेला नेपाल सरकारले एआरभी औषधी परिवर्तन गरेको अबस्थामा संक्रमितहरुलाई नयाँ औषधीको असर देखिन थालेको छ । तर पनि अस्पताल जान नसकेको अध्यक्ष खड्काले बताउनु भयो । नयाँ औषधी सेवन गरे पछि गर्नु पर्ने परिक्षणहरु गर्न गराउन समस्या भएको उहाँले बताउनु भयो । देशभरी नै नयाँ औषधी शुरु भएकाले काभ्रे जिल्लामा हाल सम्म ५३ जनाले उक्त औषधी प्रयोग गरिसक्नु भएको छ ।
सक्रिय प्लस नेपालले लकडाउन अवधीभर काभ्रेपलाञ्चोकको भकुण्डे, दोलालघाट, पलाञ्चोक, तामाघाट, पनौती, बनेपाका विभिन्न स्थानहरु, धुलिखेलका विभिन्न वडाहरु तथा जिल्लाका अन्य क्षेत्रमा नियमित प्रयोग गर्नु पर्ने औषधीहरु घर घर उपलब्ध गराएको छ । अध्यक्ष अमिर खड्का र उहाँको नेतृत्वमा जिल्लाका अलावा सिन्धुलीको खुर्काेट, भक्तपुर, ललितपुर र काठमाडौ जिल्लामा रहेका एचआईभी संक्रमितहरुलाई मासिक, द्वैमासिक, त्रैमासिक प्रयोग गर्ने औषधीहरु उपलब्ध गराएका हुन् । एचआईभी संक्रमितहरुका लागि अहिले नयाँ औषधी लञ्च भएको छ । सबैले त्यो औषधी प्रयोग गर्न नमिल्ने भएकाले पुरानै औषधी प्रयोग गर्ने अवस्थामा समेत सक्रिय प्लस मार्फत घरघर औषधी उपलब्ध गराईएको अध्यक्ष अमिर खड्काले बताउनु भयो । कोरोना भाईरसको संक्रमण फैलन नदिन गरिएको लकडाउन, त्यस पछिको निषेद्याज्ञाले एचआईभी संक्रमितहरु थप संकटमा परेका छन् । नियमित सवारी साधन नचल्दा नियमित परिक्षण तथा औषधी सेवनमा समेत कठिनाई भए पछि सक्रिय प्लस नेपालको तर्फबाट संक्रमितहरुका लागि सेवा दिन थालिएको अध्यक्ष खड्काले बताउनु भयो ।
बनेपामा नियमित औषधी सेवन गर्नेहरु ३२ जना छन् भने धुलिखेलमा १९ जना छन् । जिल्लामा संक्रमितहरुको संख्या ८० रहेको छ । केहि अझै खुल्न सकेका छैनन् । सुचिकृत भएकाहरु पनि अझै खुल्ने अवस्था छैन । जसमध्ये ३८ महिला, ३८ पुरुष, ४ जना बालबालिका छन् । कोरोना संक्रमितलाई गरिने ब्यवहार पहिले एचआईभी संक्रमितलाई गरिन्थ्यो । विस्तारै एचआईभी संक्रमितहरुलाई समाज, परिवारले बुझ्न थालेको छ । कुलतका कारण पनि संक्रमित हुन सक्ने भएकाले एचआईभी संक्रमित हुन नदिन अपनाउनु पर्ने सुरक्षाका उपायहरुका बारेमा समेत जनचेतना फैलाउँदै आएको छ । संक्रमितहरु मध्ये केहि सुगरका विरामी छन् भने केहि प्रेसरका समेत छन् । एचआईभी संक्रमणका कारण शरिरमा हुने अन्य खालका समस्याहरु समेत ब्यहोर्नु परेको अवस्थामा त्यस्ता विरामीहरुको थप उपचारका लागि समेत संकट पर्दै आएको छ । लकडाउनले भाडामा बसेका संक्रमितहरुका लागि खाद्यान्न उपलब्ध गराउने, राहत वितरणमा सहजिकरण गर्ने कार्य सक्रिय प्लसले गरिरहेको छ । जिल्लाको तथ्याङ्कमा १६ वर्ष देखि ६८ वर्षसम्मका ब्यक्ति एचआईभी संक्रमित भएका छन् । समाजले गर्ने अवहेलना र फरक ब्यवहारको शिकार एचआईभी संक्रमितहरु बनिरहेका छन् ।
संक्रमितहरु मध्ये ६४ जनाले धुलिखेल अस्पतालबाट नियमित औषधी सेवन गरिरहेका छन् भने जिल्लामा रहेर टेकु अस्पतालबाट ५ जना र विर अस्पतालबाट ५ जनाले नियमित औषधी सेवन गरिरहेका छन् । एचआईभी संक्रमणबाट जिल्लामा ४० जनाले ज्यान गुमाईसकेका छन् ।









