2026 July 06/ 06:52: 31pm

धुलिखेल/काभ्रेपलाञ्चोक जिल्लामा एक ब्यक्तिले आफ्नो लिङ्ग परिवर्तन गरी नागरिकता लिनु भएको छ । एक पुरुष ब्यक्तिले आफ्नो लिङ्ग परिवर्तन गराई महिलाको नामबाट नागरिकता लिनु भएको हो । उहाँ जिल्लाको पहिलो लिङ्ग परिवर्तन गर्ने ब्यक्ति हुनुुहुन्छ । 
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक कार्य सम्पादन प्रगतिका बारेमा जिल्लाका संचारकर्मीहरुलाई जानकारी गराएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले संचारकर्मीहरुलाई जिल्ला प्रशासनबाट हुने सेवा र भएका प्रगतिका बारेमा जानकारी गराउनु भएको थियो । चालु वर्षमा कार्यालयबाट नयाँ सस्था ३९ वटा दर्ता भएका छन् भने नविकरण २ सय १६ वटा भएका छन् । २ हजार भन्दा धेरै संस्थाहरु प्रशासनमा दर्ता भएका छन् । ठाडो उजुरी परेका ७१ वटा, नाबालक परिचयपत्रकका लागि ३ सय १८, पत्रपत्रिका दर्ता २ वटा, हातहतियार नविकरण १५, जनजाति÷दलित प्रमाणीत ३ सय २१ वटा र भुपु सैनिकहरुको पेन्सनका लागि ६ वटा सिफारिस उपलब्ध गराईएको छ । जिल्लामा एक वर्षमा ६ हजार ६ सय ४२ जनाले साधारण राहदानी बनाएका छन् भने द्रुत राहदानी २ हजार ४ सय ४८ जनाले बनाएका छन् । राहदानीबाट मात्रै प्रशासन कार्यालयले ३ करोड ४४ लाख ३९ हजार २ सय रुपैया संकलन गरेको छ । राहदानी बनाउनेमा महिला भन्दा पुरुष धेरै छन् । त्यस्तै नयाँ नागरिकता ७ हजार ३ सय ९१ वटा बनेका छन् । जसमा पुरुष भन्दा महिला धेरै छन् । ३ हजार ८ सय १ जना महिलाले नागरिकता बनाउँदा ३ हजार ४ सय ९७ जना पुरुषले नागरिकता बनाएका छन् । विगतका वर्षहरुमा महिला भन्दा धेरै पुरुष धेरै नागरिकता बनाउन आउने गरेका थिए । वैवाहिक अगिंकृत नागरिकता ३ जनाले प्राप्त गरेका छन् भने प्रतिलिपि नागरिकता ५ हजार ५० जनाले लिएका छन् । 
त्यस्तै ईलाका प्रशासन कार्यालय बनखुबाट ४ सय ७ जनाले नयाँ नागरिगकता लिनु भएको छ भने ८३ जनाले प्रतिलिपि नागरिकता लिनु भएको छ । जिल्ला प्रशासन कार्यालयले नागरिकहरुको शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, सामाजिक सुधार र रुपान्तरण, विपद व्यवस्थापन, समन्वय र सहजीकरण, सदाचार र आर्थिक अनुशासन, नागरिकता तथा राहदानी सम्बन्धी कार्य, अर्धन्यायीक निकायको रुपमा न्यायिक निरुपण, विकास निर्माणका कार्यमा समन्वय र सहजीकरण, स्थानीय प्रशासन सम्बन्धी कार्य लगायत अन्य कार्यहरु गर्दै आएको छ । सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई खतिवडाले प्रशासनको सेवाबाट नागरिकहरु सन्तुष्ट राख्ने प्रयत्न भएको बताउनु भयो । 
त्यस्तै प्रशासनमा दर्ता भएका १ सय ४४ वटा नयाँ र १ सय २९ वटा अघिल्लो वर्षका गरी २ सय ७३ वटा मुद्दा मध्ये २ सय ३८ वटा फछ्र्याैट भएका छन् । चालु वर्षका लागि ३५ वटा मुद्दा मात्रै बाँकी रहेको प्रमुख जिल्ला अधिकारी तिमल्सिनाले जानकारी दिनु भयो । आर्थिक वर्ष २०७५÷२०७६ को लेखापरिक्षणमा ८५ लाख ७१ हजार ४ सय ६८ बेरुजु रहेकोमा १९ लाख ६३ हजार ३ सय ५१ अर्थात ८१.३६ प्रतिशत फछ्र्याैट भएको छ । पहिरोका कारण संकटमा परेका ७४ घर परिवार, आगलागिबाट ४ घर परिवार, चट्याङ्गबाट १ र बाढीबाट २ जना मृतक ब्यक्तिका आफन्तलाई विपद कोषबाछ राहत वितरण गरिएको छ । द्वन्द्व पीडित तथा शहिद परिवारका १४ जनालाई राहत वितरण गरिएको छ ।