2026 July 06/ 05:22: 24pm

ढुर्खक, महांकालस्थान/बेथान्चोक गाउँपालिका वडा नम्वर ३ मा निर्वाचित जनप्रतिनिधिहरुले प्राप्त गर्ने सेवा सुविधाको रकमबाट वडामा रहेका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । वडा अध्यक्ष दिलबहादुर श्रेष्ठका अनुसार बैठक तथा अन्य कार्यक्रमबाट प्राप्त हुने भत्ता बापतको रकम मार्फत जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो । 
गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, उपाध्यक्ष सरिता लामिछाने, वडा अध्यक्ष दिलबहादुर श्रेष्ठ, वडा सदस्यहरु सुदर्शन तिमल्सिना, बुद्धिनाथ सापकोटा, पूर्णकुमारी नेपाली र विना सिंतानले जेष्ठ नागरिकहरुलाई दोसल्ला, थर्मस, हर्ट वाटर ब्याग र लौरो उपलब्ध गराएर सम्मान गर्नु भएको थियो । एक वर्षमा प्राप्त भएको रकममा थप रकम वडामा निर्वाचित पदाधिकारीहरुले थप गर्नु भएको थियो । ‘जेष्ठ नागरिकहरुको सम्मानले गाउँपालिका भित्रको थप विकास र समृद्धमा महत्वपूर्ण सन्देश दिएको छ’–गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले भन्नुभयो–‘गाउँपालिकाले जेष्ठ नागरिकहरुको संरक्षण र सम्मानमा थप कार्यक्रम गर्नेछ ।’ सोहि अवसरमा वडामा सबै भन्दा जेष्ठ नागरिक १ सय ४ बर्षिया गंगामाई थापा मगर र १ सय २ बर्षिय जेष्ठ नागरिक फुँयाल सहित १ सय ३२ जनालाई सम्मान गरिएको थियो । ७० बर्ष कटेका नागरिकहरुका लागि गाउँपालिकाले पनि केहि सामाग्री उपलब्ध गराएको थियो । वडा कार्यालयले हरेक वर्ष नागरिकहरुको सम्मान गर्दै आएको छ । 
आफ्नै वडा कार्यालय भवन, स्वास्थ्य चौकी जस्ता पूर्वाधार निर्माणमा अगाडी बढेको वडा कार्यालयले खानेपानीलाई गुणस्तरीय रुपमा विकास गर्न एक घर एक धारा निर्माणको अभियान तिब्र बनाएको छ ।