मनोसामाजिक सहयोग कार्यक्रम
धुलिखेल/मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपालले धुलिखेल नगरपालिकामा द्वन्द्व प्रभावित ब्यक्तिहरुका लागि मनोसामाजिक सहयोग कार्यक्रम शुरु गरेको छ । कार्यक्रममका बारेमा नगरपालिका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई जानकारी गराएको छ ।
संस्थाका डा. पशुपति महतले कार्यक्रमका बारेमा जानकारी गराउँदै द्वन्द्व प्रभावित तथा अन्य ब्यक्तिहरुका लागि मनोसामाजिक सहयोग उपलब्ध गराउने बताउनु भयो । नगर प्रमुख अशोक ब्याञ्जुले नगरपालिका क्षेत्र भित्र रहेका नागरिकहरुका लागि विभिन्न खाले स्वास्थ्य समस्या समाधान गर्न विभिन्न परियोजना शुरु भएको बताउनु भयो । मनबाट त्रास हटाउँदै नागरिकहरुलाई विभिन्न खाले मानसिक समस्याबाट मुक्त गराउने अभियान अनुरुप उक्त कार्यक्रम शुरु गरिएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । बैदेशिक रोजगारमा जाने परिवारमा देखिएको मानसिक समस्या तथा द्वन्द्व प्रभावित ब्यक्तिहरुको समस्या समाधानका लागि नगरपालिकाले कार्यक्रम गरिरहेको उहाँले बताउनु भयो । समाजमा विविध खाले द्वन्द्वहरु भईरहेकाले ब्यक्तिको जीवन स्वस्थ बनाउन, आत्महत्या न्यूनिकरण गर्न कार्यक्रम प्रभावकारी हुने नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । कार्यक्रममा मनोचिकित्सक डा.करुणा कुँवरले द्वन्द्व पीडित ब्यक्ति र परिवारका सदस्यहरुको मनोसामाजिक सहयोग गर्ने खालका कार्यक्रम आवश्यक भएको बताउनु भयो । कार्यक्रममा नगरपालिका उपप्रमुख विमला शर्मा, प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेल, वडा अध्यक्षहरु, कर्मचारीहरु तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।









