2026 July 06/ 06:43: 36pm

बनेपा/‘सरकारको निर्णयको खिलापमा उभिएको छु । यो बाध्यता हो । तपाईहरु सचेत र सजग रहनुस । घरमा गएर सुरक्षित बस्नुस् । सरकारको निर्णय विपरित हुने भए पनि यो आजको आवश्यकता हो । पार्टी कार्यकर्तालाई नेताहरुले बन्धक बनाईएको छ । कार्यकर्ताहरु गद्गद् हुँदा पनि हामीले थप उत्साह थप्न सकेनौं ।’
परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली आफ्नै सरकारले गरेको निर्णय विपरीत २५ जना भन्दा कम भेला हुन नपाउने भए पनि एक हजार कार्यकर्ताहरुको बीचमा सम्बोधन गर्दै हुनुुहुन्थ्यो । कार्यक्रमको शुरुवात र अन्त्यमा उहाँले सरकारको निर्णयको खिलापमा उभिए पनि कार्यकर्ताहरुलाई पार्टी भित्रको अन्तरविरोध र सरकारले गरेका निर्णयका बारेमा बताउन पाएकोमा खुशी भएको भाव मन्त्री ज्ञवालीले प्रकट गर्नु भयो । स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा मागे लगत्तै नेकपा एमाले निकट युवा संघका कार्यकर्ताहरु सडकमा उत्रिएका थिए । स्वतन्त्र युवाका नाममा देशभर प्रर्दशन गरेसँगै प्रधानमन्त्री इतरका समुहले प्रर्दशन रोक्न र पार्टी एकता कायम राख्न भातृ संगठनका नाममा ग्रैह् पदाधिकारीले जिल्ला अध्यक्ष रुकु चौलागाई र सचिव टोकबहादुर वाईवालाई ज्ञापन पत्र बुझाए । अध्यक्ष पुष्पकमल दाहाल समुह र नेता माधव नेपाल समहुका नेता कार्यकर्ताहरुको त्यो डिजाईनमा संगठनका आधिकारीकता हराएको भन्दै युवा, विद्यार्थी, महिला, मजदुर र किसान महासंघका अध्यक्षहरुले संगठनका दुरुपयोग गरेको भन्दै आपत्ति प्रकट गर्दै भेला गरी ज्ञापन पत्र बुझाउन अध्यक्ष र सचिवको समय माग गरे पनि उपस्थित भएनन् । अध्यक्ष चौलागाई र सचिव वाईवा उपस्थित नभए पछि भित्तामा टाँसेर शक्ति प्रर्दशन गरे । त्यसकै बदला स्वरुप ४२ औ पुष्पलाल स्मृति दिवसको अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा समेत अध्यक्ष र सचिव अनुपस्थित रहे । उक्त कार्यक्रम समेत विद्यार्थी र युवाहरुको आयोजना भएको थियो । ६८ आंै मदन भण्डारीको जन्म जयन्ति तथा अन्य विभिन्न कार्यक्रममा फरक गुटकै आधारमा अध्यक्ष र सचिव अनुपस्थित हुन थाले पछि मदन भण्डारी फाउण्डेशनलाई पुनः ब्युउँताउँदै शनिबार बनेपामा बृहत्त भेला आयोजना गरिएको हो । नेकपा एकतासँगै यस्ता संगठनहरु भुत्ते बनाईएका थिए । 
एकिकरणको काम नसक्दै पूर्व संगठनहरु ब्युँतिन थालेका छन् । जिल्ला कमिटीमा रहने सदस्यहरुको अझै नामावली टुङ्गिएको छैन । सपथ गरेको एक वर्ष हुँदा पनि बैठक बसेको छैन । नगर, गाउँ, वडा कमिटी गठनको कुरा त परै जाओस् भातृ संगठनहरुको विस्तार समेत हुन सकेको छैन । नेताहरुको जिम्मेवारी समेत तोकिएको छैन । बरु गुट गुट तयार गरी परिचालन भएका छन् । पटक पटक नेतृत्वलाई बैठक बस्न अनुरोध गरे पनि सुनुवाई नभए पछि पार्टी कार्यकर्ता परिचालन र पार्टी संगठनको कार्य नभएको भन्दै कार्यकर्ताहरुको आलोचना भईरहेको थियो । केन्द्रको विवादले जिल्ला जिल्लामा कार्यकर्ताहरु पुर्व पार्टी तर्फ फर्कन थालेका छन् । नेकपा स्थायी कमिटी सदस्य तथा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले ३२ र १५ वर्ष पार्टीको नेतृत्वमा रहँदा गर्न नसकेको काम दुई वर्षमा हुन नसक्ने भएकाले नेतृत्व परिवर्तन र प्रधानमन्त्री पदका लागि महाधिबेशन र निर्वाचन पर्खन अनुरोध गर्नु भएको थियो । ज्ञवालीसँगै केन्द्रिय सदस्यद्धय एवं पूर्व मन्त्रीहरु आनन्द पोखरेल र गोकुल बास्कोटाले समेत अध्यक्ष प्रचण्ड र नेता माधव नेपालका कारण नेकपाको एकता नसकिदै मुलुक अस्थिरतातर्फ धकेलिन थालेको बताउनु भयो । 
जिल्ला भेला कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले सरकारको नेतृत्व छाड्नु पर्ने गरी केपी ओली नेतृत्वको सरकारले कुनै अपराध नगरेकाले मुलुकलाई अस्थिरतातर्फ नलैजान अध्यक्ष पुष्पकमल दाहाल, पूर्व महासचिव माधवकुमार नेपाल, झलनाथ खनाल सहितका नेताहरुलाई अनुरोध गर्नुभयो । नेपालको नक्सा जारी गरेकै आधारमा राजिनामा दिनु पर्ने हो कि ? अरु कुनै अपराध ग¥यो ? मन्त्री ज्ञवालीले भन्नुभयो–‘नक्सा जारी गर्न रहर भएकाहरुले यसअघि नेतृत्वमा हुँदा किन नगरेको ? छापाखाना हुँदैमा जारी हुने हो नक्सा ? यसका लागि मुटु भएको नायक चाहियो ।’ कोरोना भन्दा देशको चिन्ता गर्नुपर्ने समयमा नेताहरुले जनतालाई निराश पार्ने गरी गरिरहेको विवादको अर्थ नभएको बताउँदै महाधिबेशनको विकल्प नभएको ज्ञवालीले बताउनु भयो । ‘केपी ओलीलाई हटाउने भनेको महाधिबेशन र अर्काे निर्वाचन मात्रै हो’–मन्त्री ज्ञवालीले भन्नु भयो–‘बहुमतबाट हटाउने सपना नदेख्नुस त्यस्तो हुँदा एकता रहँदैन ।’ नेकपा नेता एवं पूर्व मन्त्री आनन्द पोखरेलले पार्टी भित्र देखिएको विवाद कुनै विचारको नभई पदका लागि भएकाले जनता र कार्यकर्तालाई निराश नपार्न नेताहरुलाई अनुरोध गर्नु भयो । महामारीमा जुध्ने बेला नेताहरुको पद लोलुपताले कम्युनिष्ट पार्टी आन्दोलनप्रति नै वितृष्णा जगाएको उहाँले बताउनु भयो । केन्द्रिय सदस्य एवं पुर्व मन्त्री तथा नेकपा काभ्रे इन्चार्ज गोकुल बास्कोटाले अध्यक्ष प्रचण्डलाई क्रमभंगताका नाममा पार्टीलाई दुर्घटनामा नलैजान चेतावनी दिनुभयो । ‘२६ महिनामा ६ पटक राजिनामा माग्ने ?, कार्यकर्ताहरुलाई राजनीतिक बन्दी बनाएर आफु पदका लागि लड्ने ?’–नेता बास्कोटाले भन्नु भयो–‘नेकपाको चालक दलको सिट फेरिदैन, चालक बदल्ने रहर हुनेहरुले महाधिबेशन सम्म कुर्ने हिम्मत गर्नु पर्छ ।’ पार्टी फुटाउन खोज्नेहरु सिमा नाका कटेर आउने सपना नदेख्न चेतावनी दिदै नेता बास्कोटाले सहमति, सहकार्य, सह अस्तित्व, सुदृढ एकता, सुस्पष्ट एकता र हार्दिकता सहितको एकता नभए सँगै जान नसकिने बताउनु भयो । ‘पार्टी नेतृत्व कमन्डलु बोक्ने कि ? कमान्डर बन्ने ?’– नेता बास्कोटाले भन्नुभयो–‘पार्टी सिध्याएर कमण्डलु बोक्ने वा पार्टी बलियो बनाएर कमान्डर बन्ने ? म चेतावनी दिन चाहन्छु पार्टी भत्काउने भए किन बनाएको ?’ नेता बाँस्कोटाले छोराछोरी जन्माएपछि हुर्काउने दायित्व हुुने भन्दै हत्या गर्ने अधिकार नभएको बताउँदै छोराछोरीको हत्या गरिए सजाँए भोग्न तयार हुनुपर्ने बताउनु भयो । 
कार्यक्रममा संविधान सभा सदस्य रामहरी सुवेदी, नेकपा नेता एवं नेपाल नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु, नेताहरु गोमा भुर्तेल, चन्द्र लामा, बसुन्धरा हुमागाई, फाउण्डेशनका सचिव कुमार तिमल्सिना, विद्यार्थी नेता जेनिश लामा लगायतले पार्टी एकताका लागि खबरदारी गरेका थिए । भेलाले कुमार तिमल्सिनाको अध्यक्षतामा मदन भण्डारी फाउन्डेन जिल्ला समिति गठन गरेको छ । नेता राकेश लामाको अध्यक्षतामा मदन भण्डारी स्पोर्ट एकेडेमी गठन भएको छ । 
अध्यक्ष र सचिवको उर्दि
मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा नजान जिल्ला अध्यक्ष रुकु चौलागाईले सामाजिक सञ्जाल मार्फत आब्हान गर्नु भयो । ‘पार्टी निर्णय विपरितका कार्यक्रममा सहभागी नहुन र कार्यक्रम नगर्न अनुरोध गर्दछु’– अध्यक्ष रुकु चौलागाईले भन्नु भएको छ । उहाँको सूचनामा पार्टी बैठक नराखेको, पार्टीलाई बन्धक बनाएको भन्दै आलोचना गरिएको छ । सचिव टोकबहादुर वाईवाले टेलिफोन मार्फत उक्त कार्यक्रममा नजान भनेको कार्यकर्ताहरुले बताए । फाउण्डेशनको कार्यक्रममा पूर्व एमालेका केपी ओली निकटका अधिकांश, माधव नेपाल समुहका केहि र पूर्व माओवादीका कार्यकर्ताहरु केहि सहभागी थिए । कार्यक्रममा १५ दिन भित्र बैठक बोलाउन नेताहरुले अनुरोध गरेका छन् । बैठक नबोलाए स्थानीय स्तरमा कार्यक्रम लिएर जाने चेतावनी इन्चार्ज गोकुल बास्कोटाले दिएका छन् ।