५९६ वेड तयार, १३ सय आवश्यक
मोतीराम तिमल्सिना
धुलिखेल
छिमेकी देश भारतबाट जिल्ला फर्किएका नागरिकहरुका लागि क्वारेन्टाईनको ब्यवस्थापन गर्न स्थानीय सरकार सक्रिय भएका छन् । प्रत्येक पालिकाहरुमा १ सय वेडको क्वारेन्टाईन निर्माण गर्ने गरी तयारीका लागि पटक पटक अनुरोध गरिएको कमाण्ड पोष्ट काभ्रेका संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताउनु भयो ।
‘दैनिक छिमेकी देश भारत र संक्रमण भएका जिल्लाबाट नागरिकहरु काभ्रेका विभिन्न पालिकाहरुमा आउनु भएको छ’– प्रजिअ तिमल्सिनाले भन्नुभयो–‘जिल्ला आउनु भएका नागरिकहरुलाई सुरक्षित रुपमा राख्न क्वारेन्टाईन निर्माणका लागि स्थानीय सरकारलाई अनुरोध गरेका हौं ।’ पालिकाहरुले पहिलाको क्वारेन्टाईनको क्षमता विस्तार गर्दै न्युनतम १ सय वेड क्षमताको बनाउने तयारी गरिरहेका छन् । सोमबार साँझसम्मको तथ्याङ्कमा जिल्लामा भारतबाट फर्कनेहरुको संख्या एक सय नाघेको छ भने क्वारेन्टाईनमा रहनेहरुको संख्या एक सय ५० नजिक पुगेको छ । संख्या दैनिक बढिरहेकाले क्वारेन्टाईनको क्षमता विस्तार गर्न लागिएको हो । जिल्लाको हकमा छिमेकी देशबाट मात्रै एक हजार भन्दा धेरै जिल्ला भित्रने प्रारम्भिक अनुमान गरिएको छ भने काममा फर्कने भारतीय नागरिकहरु, कर्मचारीहरु, विभिन्न उद्योग तथा कलकारखानामा कार्यरत मजदुरहरुको संख्या अनुमान गर्न सकिने अवस्थामा छैन । सबैलाई १४ दिन अनिवार्य क्वारेन्टाईनमा राख्ने, क्वारेन्टाईनमा बसेको अवधीमा सामान्य अवस्था भएमा आरडिटी परिक्षण गर्ने, त्यसमा पोजेटिभ देखिए पिसिआर गर्ने र नेगेटिभ भएको अवस्थामा घर फर्काउने रणनीति तयार गरिएको छ ।
जिल्लाको सदरमुकाम धुलिखेल नगरपालिकाले संजीवनी माध्यमिक विद्यालयमा ६५ शैयाको क्वारेन्टाईन वेड निर्माण गरेको छ । उक्त क्वारेन्टाईनको क्षमता विस्तारका लागि नगरपालिकाले तयारी गरेको नगर प्रमुख अशोक ब्याञ्जुले बताउनु भयो । बनेपा नगरपालिकाले नेपाल रेडक्रस सोसाइटीको तालिम केन्द्रमा ५० शैयाको क्वारेन्टाइन वेड तयार गरेको छ । बाँकी बेडहरुका लागि पोलिटेक्नि स्कुलमा तयारी गरिएको नगर प्रमुख लक्ष्मीनरसिं बादेले बताउनु भयो । पनौती नगरपालिकाले पहिलाको १० वेडको क्षमता विस्तार गरी इन्द्रेश्वर माविमा ५० वेडको क्वारेन्टाईन निर्माण गरेको नगर प्रमुख भिमप्रसाद न्यौपानेले बताउनु भयो । नमोबुद्ध नगरपालिकामा १८ शैयाको क्वारेन्टाइन वेड, पाँचखाल नगरपालिकामा ११ शैयाको क्वारेन्टाइन वेड, रोशी गाउँपालिकामा ७५ शैयाको क्वारेन्टाइन वेड, महाभारत गाउँपालिकामा ३५ शैयाको क्वारेन्टाइन वेड तयार गरिएको छ । मण्डनदेउपुर नगरपालिकामा १५ शैयाको क्वारेन्टाइन वेड, चौरीदेउराली गाउँपालिकामा ३० शैयाको क्वारेन्टाइन वेड, भुम्लु गाउँपालिकामा ३० शैयाको क्वारेन्टाइन वेड, वेथानचोक गाउँपालिका ३५ शैयाको क्वारेन्टाइन वेड, तेमाल गाउँपालिका १ सय ५ शैयाको क्वारेन्टाइन वेड, खानीखोला गाउँपालिका १५ शैयाको क्वारेन्टाइन वेड र धुलिखेल अस्पतालमा कार्यरत कर्मचारी प्रयोजनको लागि ५२ बेडको क्वारेन्टाइन बेड निर्माण गरिएको छ । सोममार साँझसम्म तयार भएका ५ सय ९६ शैयाको क्वारेन्टाइन वेडको क्षमता विस्तारका लागि स्थानीय सरकारले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, स्वास्थ्यकर्मीहरुको सहयोग लिईरहेका छन् ।
बागमती प्रदेश सरकारले स्थानीय सरकारलाई क्वारेन्टाईन निर्माणका लागि थोरै सहयोग उपलब्ध गराएको आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलले जानकारी दिनुभयो । आवश्यक भएमा थप रकम पनि उपलब्ध गराउने बताउँदै उहाँले केहि स्थानीय सरकारले क्वारेन्टाईनका लागि पठाएको रकम समेत खर्च गर्न नसकेको, खर्च गरेको रकम पनि अन्य शिर्षकमा खर्च गरेको बताउनुभयो । क्वारेन्टाईन वेडसँगै जिल्लाको धुलिखेल अस्पतालमा ८ बेड र बनेपा स्थित शिर मेमोरियल अस्पतालमा ५ वेड गरी जम्मा १३ बेडको आइसोलेसन कक्ष तयारी अवस्थामा राखिएको छ । जिल्लामा अत्यावश्यक वस्तु तथा आपूर्ति सेवा सञ्चालनमा रहेको, अन्य क्षेत्रमा लक डाउन प्रभावकारी रुपमा कार्यान्वयन भएको कमाण्ड पोष्टका संयोजक प्रजिअ तिमल्सिनाले जानकारी दिनुभयो । लकडाउन अवधिभर औषधी, स्वास्थ्य सामग्री जस्ता अत्यावश्यक सेवाको उत्पादन तथा बिक्री वितरण, औद्योगिक वस्तुको उत्पादन तथा बिक्री वितरण, विकास आयोजनाहरुको सञ्चालनका आवश्यक निर्माण सामग्रीको ढुवानी र न्यूनतम बैङ्किङ तथा वित्तीय सेवालाई सुचारु गर्न केन्द्रिय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर र प्रदेशस्तरीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरसँग जिल्लास्तरिय क्राइसिस म्यानेजमेन्ट सेन्टर काभ्रेले आवश्यक समन्वय गरी सुरक्षाका मापदण्ड पूरा गरी, सामाजिक दुरी कायम गरी, संक्रमणको जोखिमको अवस्था मूल्याङ्कन गरी सञ्चालन गर्न दिने निर्णय भएको सदस्य सचिव डा. नरेन्द्रकुमार झाले बताउनु भयो । अत्यन्त न्यून आय भएका दैनिक ज्यालादारीमा काम गर्ने घरपरिवारहरुलाई जिल्लास्थित स्थानीय तहहरुबाट २० हजार ४ सय २८ घरपरिवारलाई प्याकेजमा राहत उपलब्ध गराइएको छ । जिल्लामा बिदेशबाट आएका समेतको गरी १ हजार ८ सय ३१ जना व्यक्तिहरुको आरडिटी परिक्षण गरिएको छ । जसमा ३८ जनाको आरडिटीबाट पोजेटिभ रिपोर्ट आएको र बाँकी सबै जनाको नेगेटिभ रिपोर्ट आएको छ ।
धुलिखेल अस्पतालमा दैनिक स्वाब संकलन गरी परिक्षण भईरहेको डा.नरेन्द्रकुमार झाले बताउनु भयो ।









