2026 July 06/ 02:42: 54pm

धुलिखेल/कोरोना भाईरसका कारण विश्व संकटमा परिरहेका बेला नेपाल पनि प्रभावित हुनु स्वभाविक हो तर पनि चालु अवस्थामा रहेका महत्वपूर्ण विकास आयोजनाहरु धकेलिने अवस्थामा पुगेका छन् । एक त निर्माणको कार्य ठप्प हुनु अर्काे मजदुरहरु गाउँ फर्किनु । 
संघीयताको अभ्यास हुँदा हुँदै अधिकारको बाँडफाँडका कारण केहि योजनाहरु एक वर्ष धकेलिएका थिए । जस्तै जिल्लाको हकमा काभ्रे–नमोबुद्ध–दाप्चा सडक । उक्त सडक एक वर्ष अघि नै निर्माण सम्पन्न भई सक्नु पर्ने थियो तर अधिकार क्षेत्र विवादका कारण संघ सरकारले प्रदेश सरकारमा फाईल पठाउन समय लाग्यो । प्रदेश सरकारले काम शुरु गर्ने गरी नियमावली बन्यो तर त्यस्ता योजनाहरुको हकमा काम सम्पन्न भए पनि नभए पनि एक वर्ष अर्थात बैशाख मसान्त भित्रै सम्पन्न गर्नुपर्ने उल्लेख भयो । २०७७ वैशाख भित्र उक्त योजना सम्पन्न गर्नुपर्ने भए पनि सम्भव भएन । ८ किलोमिटर सडक पिच गर्नुपर्ने उक्त योजना अलपत्र प¥यो । पिच समेत गर्ने गरी २१ करोड विनियोजन भएको उक्त सडक खण्डको कार्य अन्तिम चरणमा पुगेको छ । तर पनि समय नपुगेका कारण अब पिच हुने सम्भावना छैन । नियमावली संशोधन एउटा कार्य बाँकी छ भने बर्षातको समयमा पिच हुने सम्भावना छैन । जाडो याममा पिच हुँदैन । फागुन महिनासम्म उक्त आयोजनाको काम हुने सम्भावना छैन । सरकारले त्यस्ता योजनाहरुको समयावधी बढाए पनि नियमावली नै संशोधन गर्नुपर्ने खालका थुप्रै योजनाहरु रहेको प्रदेश पूर्वाधार कार्यालयका प्रमुख लोकनाथ रेग्मीले बताउनु भयो । ‘बैशाख मसान्तसम्म समय भएका योजनाहरु नियमावली संशोधन नगरी म्याद थप गर्न सकिदैन । नियमावली संशोधन गरेर चालु आर्थिक वर्ष भित्रै कार्य गर्न सम्भाव छैन । वर्षात्को कारण अब पिच हुने सम्भावना न्यून छ । एकवर्ष म्याद बढाएर फागुन चैत्रमा पिच गर्नुपर्छ’–रेग्मीले भन्नुभयो– ‘बहुवर्षीय योजनाहरु भए पनि नियमावली, समयावधी र पछिल्लो कोरोना संक्रमणका कारण पारेको विपत्ले विकास धकेलिदै गएको छ ।’ 
रेग्मीका अनुसार प्रदेश सरकार अन्तर्गतका बहुबर्षिय योजनाहरुमा लाकुरी भन्ज्याङ्ग–पनौती–नमोबुद्ध सडक खण्डको कार्य शुरु गर्ने गरी सरकारले निर्देशन दिएको छ । उक्त सडकका लागि करिब ३० करोड रकम विनियोजन भएको छ । सडक निर्माण कार्य सुचारु गर्न निर्माण कम्पनी तयार भए पनि निर्माण सामाग्रीका लागि प्रयोग हुने सवारी साधनहरु टिपर, आवश्यक पर्ने निर्माण सामाग्री उत्पादन गर्ने खानी तथा क्रसर संचालनमा कठिनाईका कारण योजना सूचारु हुने कुरामा अझै विश्वस्त हुन सकिरहेको छैन । अझ सोहि सडकमा कार्य गर्ने मजदुरहरु गाउँ फर्किएका छन् । उनिहरु तत्काल फर्कने सम्भावना पनि न्यून छ । विकासका महत्वपूर्ण चरणहरु पार हुँदै जाँदा कोरोना भाईरसको संक्रमणको त्रासले चालु आर्थिक वर्ष भित्र सम्पन्न हुने संघ, प्रदेश र स्थानीय सरकारका अधिकांश योजनाहरु सम्पन्न हुने सम्भावना न्यून छ । जिल्लामा अर्काे महत्वपूर्ण आयोजना एकिकृत खानेपानीको कार्य संचालनका लागि गृह मार्फत जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाईएको छ । सोहि पत्रका आधारमा जिल्लामा छलफल भई निर्माण कम्पनीसँग कुराकानी भई प्रकृया अगाडी बढे पनि अझै कार्य शूरु हुन सकेको छैन । 
मध्यपहाडी सडक, दोलालघाट सडक, लाकुरी भन्ज्याङ्ग पनौती नमोबुद्ध सडक, काभ्रे नमोबुद्ध दाप्चा सडक, तिनपिप्ले बोहोरेदोभान सडक, दोलालघाट चौरी गुराँसे सडक, कोशिपारी सडक, हिगुवापाटी नगरकोट सडक निर्माण कार्य अन्तिम चरणमा पुगे पनि सूचारु हुन सकेको छैन । अन्य थुप्रै योजनाहरु पनि कोरोना भाईरसकै कारण निरन्तरता पाउन सकेका छैनन् । पिच गर्ने कार्यका लागि अझै जेठ र असार महिना उपयुक्त हुने भए पनि वर्षात धेरै भयो भने त्यसको अर्थ नहुने रेग्मीले बताउनु भयो । सरकारले यस्ता योजनाका लागि अलग्गै योजना बनाई निर्णय गर्न आवश्यक रहेको उहाँको भनाई छ । तीन तहका सरकार बीचको समन्वय अभाव र एउटै सरकारका मन्त्रालयहरु बीचको समन्वय हुन नसक्दा विकासको गति अघि बढ्न सकेको छैन । सरकार आयोजना सूचारुका लागि पत्र पठाउँछ गृह निर्माणका लागि आवश्यक पर्ने टिपर लगायतका सामाग्री ढुवानीका लागि पास उपलब्ध गराउँदैन । यस्ता थुप्रै समस्याका कारण तोकिएको समयमा निर्माण कार्य सम्भव छैन । कोरोनाको बाहनामा धेरै योजनाहरु धकेलिने सम्भावना छ ।