2026 July 06/ 02:42: 53pm

पनौती, बनेपा र धुलिखेलमा २४ सै घण्टा पानी 
बनेपा/७ वर्ष लामो पखाई पछि एकीकृत खानेपानीले एउटा आकार लिएको छ । मुहान देखि मुख्य ट्याङ्कीसम्म पानीको सफल परिक्षण गरिएको छ । उक्त ट्याङ्कीबाट तीनवटा नगरमा अलग अलग पानी वितरण गरिनेछ । निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै खानेपानीको परिक्षण गरिएको हो । स्थानीय सरकारको निर्वाचन लगत्तै खानेपानी आयोजना सम्पन्न गर्ने गरी गति अघि बढेको थियो । 
तत्कालिन नेकपा एमालेले शुरु गरेको एकिकृत योजनाको पहिलो आयोजना तीन नगरको खानेपानी हो । पूर्व मन्त्री एवं तत्कालिन नेकपा एमालेका अध्यक्ष गोकुल बास्कोटा सहितको नेतृत्वमा नेकपा नेता अशोक ब्याञ्जु संयोजक भई शुरु भएको परियोजनालाई तीन नगरका प्रमुखहरु भिम न्यौपाने, लक्ष्मी नरसिं बादे र अशोक ब्याञ्जु सहितको टिमले निरन्तरता दिए सँगै खानेपानीको कार्य अन्तिम चरणमा पुगेको हो । पनौती, बनेपा र धुलिखेल नगरपालिकाका १ लाख ३९ हजार ४ सय २२ नागरिकका लागि उक्त खानेपानीले समेट्ने छ । शुरुमा उक्त आयोजनाले ९२ हजार २ सय ८६ जना नागरिकहरुका लागि खानेपानीको ब्यवस्थापन गर्न अन्तराष्ट्रिय बोलपत्र विधिवाट निर्माण व्यवसायी छनौट गरी २०१२ डिसेम्बर १९ मा आयोजनाको सम्झौता गरिएको थियो । भ्याट र कन्टिजेन्सी समेत गरी ८७ करोड ४९ लाख ८७ हजार २ सय ८० रुपैया ३२ पैैसा रहेको उक्त आयोजना जुन १२, २०१३ मा शुरु भएको थियो । काम शुरु भएको ७ सय ३० दिन भित्र सम्पन्न गर्ने गरी निर्माण कार्य संचालनमा आएको आयोजनामा विविध समस्या देखिएका कारण ढिलो हुँदै आएको थियो । आयोजना संचालन भई रहँदा थप कार्यको भेरियसन समेत हुन गई निर्माण कार्यको अवधि डिसेम्वर ३०, २०१८ सम्म पुगेको थियो । पुनः बाँकी सम्पूर्ण कार्य सम्पन्न गर्ने गरी ३१ मे, २०१९ सम्म म्याद थप नभए पछि सरकारले उक्त आयोजनाका लागि आवश्यक रकम ब्यवस्थापन गरेको छ । निर्माण कार्य सक्ने तयारी गरी पानी परिक्षणको कार्य अहिले भईरहेको छ । भौतिक संरचनाहरु इन्टेक, ट्रिटमेन्ट प्लाण्ट, रिजरभ्वायरहरुको निर्माण कार्य सम्पन्न भएको छ । 
रिजर्भायर टैंक, पाइपको मेन लाइन, वितरण लाइन लगायतका निर्माणका संरचनाहरु सवै निर्माण पूरा गरी नेपाल सरकारद्वारा गठित काभ्रे उपत्यका खानेपानी व्यवस्थापन वोर्ड मार्पmत बनेपा, धुलिखेल र पनौती नगरपालिका क्षेत्रको खानेपानी सेवाको वितरण व्यवस्थापन गर्न जिम्मा लगाउने तयारी भएको प्रमुख अशोक ब्याञ्जुले जानकारी दिनु भयो । खानेपानीको मुहानहरुवाट दैनिक प्रति सेकेण्ड ७७.७३ लिटर पानी प्राप्त हुने छ । नेपाल खानेपानी गुणस्तर एनडिडब्लुएसले तोकेको मापदण्ड अनुसारको शुद्ध र गुणस्तरीय खानेपानी वितरण गरिने छ । सन् २०२४ सम्म तीनवटै नगरपालिकाका १ लाख ३९ हजार ४ सय २२ (शुरुमा ९२ हजार २ सय ८६ र भेरियसन पछि थप ४७ हजार १ सय ३६) जनतालाई चौविसै घण्टा खानेपानी उपलव्ध हुनेछ । प्रतिव्यक्ति प्रतिदिन ६५ देखि ८० लिटर खानेपानी उपलब्ध गराउने आयोजनाको लक्ष्य छ । निर्माण कार्य शुरुको लागत अनुमान ८७ करोड ५१ लाख ९१ हजार ३ सय २२)भ्याट र कन्टिजेन्सी समेत) रहेकोमा तीनवटै नगरपालिकाहरुको थप क्षेत्रमा खानेपानी वितरणका लागि पाइप लाइन तथा रिजर्भायरको निर्माण एवं पनौती नगरपालिकामा चामखर्क र सल्लेमा ट्रिटमेन्ट प्लाण्ट सहित थप पानी वितरण प्रणाली समेत थप हुन गई ४७.२० प्रतिशत भेरियसन भई कूल लागत १ अर्ब १२ करोड पुगेको छ ।  
काभ्रेपलाञ्चोक जिल्लाको बनेपा, धुलिखेल र पनौती नगरपालिका क्षेत्रका जनताहरुलाई शुद्ध, गुणस्तरीय र अविच्छिन्न रुपमा खानेपानी उपलव्ध गराउने यो आयोजना जिल्लाकै ठुलो आयोजना भित्र पर्दछ ।  काभ्रे उपत्यकाका बनेपा, धुलिखेल र पनौती तिनै नगरको एकीकृत प्रयासबाट हासिल हुने प्रतिफलबाट भौतिक रुपमा तीनै नगरका जनता र आउँदो पुस्ता समेत प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन । साथै विविधता बिचको समान सहभागिता सामूहिकता र सहकार्यको साथै समन्वयको नयाँ सन्देश समेत प्रवाहित भएको छ । वर्षाैंदेखि खानेपानीको समस्या झेल्दै आएका काभ्रे उपत्यकाका जनताको आशा र भरोसाको रुपमा काभ्रे उपत्यका एकीकृत खानेपानी योजना जन्मिएको हो । बनेपा, धुलिखेल, पनौती नगरपालिका घोषित नहुँदै पाँचखालले समेत खानेपानी समस्या हल गर्न खारखोला, गुडगुडे, सिसाखानी, बैरमहादेव–मूलडोल, आशापुरी र लड्कुशिर सम्म सम्भाव्यता हेरेको थियो । दातृसंस्थाहरु खोजे धुलिखेलले जर्मनी–क्यानेडियन, बनेपाले जापान र खानेपानी संस्थान, पनौतीले फ्रेन्च तथा खानेपानी संस्थानको सहयोगमा केहि सुधार कार्यक्रम अघि बढाउने प्रयास त गरे तर कतै आंशिक कतै अपूर्ण र कतै सुरु नै हुन सकेन । नेपालका शहरी क्षेत्रमा खानेपानीको आधारभूत सेवालाई सुनिश्चित गर्न अघि सरेको एसियाली विकास बैंकको ३५% ऋण सहयोग, नेपाल सरकारको आधा लगानी १५%, स्थानीय तहको लागत सहभागितामा खानेपानी योजना सम्पन्न भएको हो । 

खानेपानी परिक्षणको अनुगमन
एकीकृत खानेपानीको मुहानबाट मुल ट्याङ्कीसम्म पानी परिक्षण गरिए सँगै जिल्ला स्थित जनप्रतिनिधिहरुको टोली प्रदेश सभा सदस्य बसुन्धरा हुमागाई, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, खानेपानी आयोजनाका संयोजक एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु, बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादे, पनौती नगरपालिकाका प्रमुख भिम न्यौपाने, बनेपा नगरपालिका उपप्रमुख रेखा सापकोटा दाहाल, पनौती उपप्रमुख गिता बञ्जारा, वडा अध्यक्षहरु, खानेपानी आयोजनाका पदाधिकारीहरु तथा आयोजनाको टिमले अनुगमन गरेको थियो । लकडाउनको अवधिमा समेत खानेपानीको कार्यलाई तिब्रता दिई शाखा लाईनहरुको परिक्षण गरी तत्काल उपभोक्ताहरुको घरघरमा खानेपानी पु-याउने कार्यमा जुट्न टोलीले निर्देशन दिएको थियो । 
    लामो प्रतिक्षा रहेको खानेपानी आयोजना सम्पन्न गरी वितरण गर्ने विषयमा सरकार र सरोकारवाला निकायहरु बीच छलफल जारी छ । जनप्रतिनिधिहरुको अथक प्रयास र नागरिकहरुको ब्यग्र प्रतिक्षाका बीच काभ्रे उपत्यका एकिकृत खानेपानी बोर्डले निर्माण कार्य अन्तिम चरणमा पु¥याई मुख्य लाईनको पानी परिक्षण गरेको छ ।