2026 October 03/ 01:21: 52am

    धुलिखेल/एक हजार रुपैयाँ दिने प्रलोभन देखाएर महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका चौरीदेउराली गाउँपालिका–२ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वडा सभापति अच्युतप्रसाद न्यौपाने पुर्पक्षका लागि कारागार चलान भएका छन् । 
    न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले न्यौपानेलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो । सहायक जिल्ला न्यायाधिवक्ता निष्ठा कर्माचार्यले दायर गरेको जवर्जस्ती करणी  अभियोगका आधारमा न्यौपानेलाई पुर्पक्षका लागि कारगार चलान गरेको हो.। पीडित पक्षले प्रहरीमा जाहेरी दिएको करिब डेढ महिनापछि प्रहरीले न्यौपानेलाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार न्यौपानेलाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालय टेकुको समन्वयमा २०८३ भदौ ९ गते पक्राउ गरिएको हो । उनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेमा ल्याई अनुसन्धान अघि बढाएको थियो । प्रहरी कार्यालय काभ्रेका प्रहरी निरिक्षक कविन राईका अनुसार घटनाबारे अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा पेश गरिएको थियो । 
    पीडित बालिकाका आफन्तका अनुसार २०८३ असार २५ गते गाउँमा पितृप्रसाद खाएर फर्कने क्रममा न्यौपानेले बालिकालाई आफ्नो घरमा आउन भन्दै एक हजार रुपैयाँ दिने प्रलोभनमा जर्बजस्ती करणी गरेका थिए । घटनापछि न्यौपानेले दुई डल्ला साबुन दिएर पठाएको र घर पुगेपछि आमाले साबुन कहाँबाट ल्याएको भनेर सोध्दा बालिकाले घटनाबारे जानकारी गराएको पीडित पक्षको दाबी छ । बालिकाका आफन्तले घटनाको छानबिन गरी कारबाहीको माग गर्दै असार ३० गते चौरीदेउराली–२ को वडा कार्यालयमा निवेदन दिएका थिए । वडा कार्यालयमा दर्ता भएको उक्त निवेदनमा बालिकाका बाबुको मृत्यु भइसकेको, आमा आर्थिक रूपमा कमजोर रहेको र बालिका प्रायः मामाको घरमा बस्दै आएको उल्लेख छ । पीडित पक्षले वडा कार्यालयमा निवेदन दिएपछि वडा अध्यक्ष क्षेत्रबहादुर प्रधानले दुवै पक्षलाई राखेर छलफलको प्रयत्न गरेका थिए । घटनालाई वडा कार्यालयमै मिलाउने प्रयास भए पनि सहमति हुन नसकेको पीडित पक्षको आरोप छ । 
    यसैबीच आरोपित न्यौपानेले पीडित पक्षको निवेदनभन्दा दुई दिनअघि अर्थात असार २८ गते नै वडा कार्यालयमा आफूलाई केही व्यक्तिले कुटपिट गरेको र आफ्नो कुनै गल्ती नभए पनि आरोप लगाएर चरित्र हत्या गरिएको भन्दै कारबाहीको मागसहित निवेदन दिएको देखिन्छ । वडा कार्यालयको दर्ता विवरणमा असार ३० गते दर्ता भएको पीडित पक्षको निवेदनको दर्ता नम्बर ७५ र असार २८ गते दर्ता गरिएको भनिएको न्यौपानेको निवेदनको दर्ता नम्बर ७६ रहेको पाइएको पीडित पक्षको दाबी छ । यसलाई उनीहरूले निवेदनको मिति तथा दर्ता प्रक्रियामै अनियमितता भएको भन्दै प्रश्न उठाएका छन् ।
    घटनापछि बालिका र उनका आफन्त जिल्ला प्रहरी कार्यालय काभ्रे पुगेका थिए । प्रहरीमा जाहेरी दर्ता भएपछि न्यौपाने घरबाट फरार भएको प्रहरीले जनाएको छ । लामो समयदेखि फरार रहेका उनलाई अनुसन्धानका क्रममा पक्राउ गरिएको हो । न्यौपाने यसअघि पनि यस्तै प्रकृतिको अभियोगमा जेल परिसकेको पीडित पक्षले जनाएको छ । उनी ६४ वर्षका रहेको प्रहरीले जनाएको छ । वडा अध्यक्ष प्रधानले आफूले दुवै पक्षबीच छलफल गराउने प्रयास गरेको स्वीकार गरे पनि जबर्जस्ती करणीको घटनाबारे आफूले अनुसन्धान नगरेको बताएका छन् । उनका अनुसार वडा कार्यालयमा आएको निवेदनका आधारमा दुवै पक्षबीच छलफल गरिएको थियो ।