2026 October 03/ 01:22: 15am

२ लाख ३५ हजार लिए पछि ८७ लाख ७० हजार रुपैयाँको शर्त 
    धुलिखेल/कारागारमा रहेका कैदीलाई छुटाइदिने भन्दै वकिल तथा न्यायाधीशसँग राम्रो चिनजान भएको बताएर ठगी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।
    काभ्रेपलाञ्चोक जिल्ला अदालतमा जिल्ला सरकारी वकिल कार्यालय, काभ्रेपलाञ्चोकले नमोबुद्ध नगरपालिका–२ का ५३ वर्षीय सिंहबहादुर तामाङ, चितवन भरतपुर महानगरपालिका–१४ का ६२ वर्षीय गमबहादुर पौडेल र काभ्रेको साविक बनखु क्षेत्रका ३२ वर्षीय डिलबहादुर घिसिङविरुद्ध ठगीसम्बन्धी अभियोगपत्र दायर गरेको हो । २०८३ असोज २ गते उक्त अभियोगपत्र दर्ता भएको हो । 
    जिल्ला कारागार कार्यालय धुलिखेलमा रहेका सन्देश वाईबा तामाङलाई छुटाइदिने भन्दै उनीहरूका परिवारसँग रकम माग गरिएको थियो । बाबु धनबहादुर वाईवाले प्रहरीमा दुईजना वकिल र एकजना न्यायाधिश बनेर रकम माग गरेको भन्दै जाहेरी दिएका थिए । वकिल बनेका डिलबहादुर घिसिङ उनै सन्देश वाईवासँग जेलमा बसेर छुटेका ब्यक्ति थिए । डिलबहादुरले आफु बाहिर निस्किए पछि चिनजनाका वकिल भएकाले सन्देशलाई छुटाउने भन्दै धनबहादुरको नम्वर लिएका थिए । डिलबहादुरले शुरुमा एक लाम रुपैया मागेका थिए । दोश्रो पटक पनि रकम माग गरेका थिए । डिलबहादुरले धनबहादुरसँग पटक पटक गरी २ लाख ३५ हजार रुपैयाँ लिए ।    
    सुरुमा ३० हजार रुपैयाँ, त्यसपछि एक–एक लाख रुपैयाँ गरी २ लाख ३० हजार रुपैयाँ तथा पठाओ चढ्दा थप ५ हजार रुपैयाँ समेत गरी कुल २ लाख ३५ हजार रुपैयाँ बुझाएका थिए । सन्देशलाई छुटाएपछि थप ८७ लाख ७० हजार रुपैयाँ दिनुपर्ने शर्त थियो । डिलबहादुर २०८० सालमा ठगी मुद्दामा धरौटीमा छुटेका थिए । सोहि मुद्दामा अदालतबाट ६ महिना कैद, ६ हजार जरिवना र ३ लाख १० हजार विगो भराउने ठहर २०८२ बैशाख २३ गते सिन्धुली जिल्ला अदालतले फैसला गरेको थियो । २०८३ असार २० गते कैद भुक्तान गरी उनी छुटेका थिए । सन्देश भने जर्बजस्तिकरणी मुद्दामा पुर्पक्षका लागि जेलमा थिए । 
    गमबहादुर पौडेलको भने बैकिङ्ग कसुरमा ५ दिन कैद र २५ हजार जरिवना, ५ लाख विगो भराउने भक्तपुर जिल्ला अदालतको २०८३ असार ४ गतेको ठहर छ । पछिल्लो पटक धनबहादुरलाई शंका लागेर प्रहरीलाई उक्त कुरा जानकारी गराएका थिए । पैसा लिन आएका बखत २०८३ भदौ ८ गते साँझ बनेपा बसपार्कबाट तीनै जनालाई प्रहरीले पक्राउ गरेको थियो । गमबहादुर पौडेलले घरजग्गाको कारोबार गर्ने ब्यवसाय गरिरहँदा अस्पतालमा उपचारका क्रममा डिलबहादुरसँग चिनजान भएको बयान दिएका छन् । सिंहबहादुर तामाङले पनि डिलबहादुरसँगको चिनजानका आधारमा घटनामा जोडिएको बयान दिएका छन् । उनले आफूलाई रकम नदिएको र काम सम्पन्न भएपछि खर्च पाउने भनिएको बयान दिएका थिए । 
    अनुसन्धानका क्रममा सिडिआर विश्लेषणमा प्रतिवादीहरू र जाहेरवालाबीच पटक–पटक फोन सम्पर्क भएको देखिएको छ । डिलबहादुर घिसिङ र जाहेरवाला धनबहादुर वाईबाबीच ७८ पटक तथा डिलबहादुर र सिंहबहादुर तामाङबीच ९५ पटक फोन सम्पर्क भएको विवरण अभियोगपत्रमा समावेश गरिएको छ । धनबहादुर वाईवाले सिंहबहादुरलाई १२ पटक, सिंहबहादुर र डिलबहादुर घिसिङ्गबीच यहि विषयमा मात्रै ७९ पटक कुरा भएको थियो । 
    मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ अन्तर्गत ठगीको कसूरमा सजाय माग गरिएको छ । साथै पूर्व सजायसम्बन्धी विवरणका आधारमा डिलबहादुर घिसिङ र गमबहादुर पौडेलका हकमा पटके कसूरदारतर्फ थप सजायको मागदाबी गरिएको छ । ठगी भएको भनिएको २ लाख ३५ हजार रुपैयाँ पीडितलाई भराइदिनसमेत माग गरिएको छ । सहायक जिल्ला न्यायाधिबक्ता निष्ठा कर्माचार्यले क्षतिपूर्तिको मागदावी सहित अभियोगपत्र जिल्ला अदालतमा दर्ता गराएकी हुन् ।