धुलिखेल/काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–२८ किलोमा हाचिको लक्जरियस आवास (छात्रावास) सञ्चालनमा आएको छ । काठमाडौं विश्वविद्यालय (केयू) मा अध्ययनरत छात्राहरूलाई लक्षित गरी पारिवारिक वातावरणमा सुरक्षित र सहज आवासको व्यवस्था गर्ने उद्देश्यले छात्रावास सञ्चालनमा ल्याएको हो ।
छात्रावासको उद्घाटन धुलिखेल नगरपालिका–२ का वडा अध्यक्ष उत्तम तिमल्सिनाले गरेका थिए । उद्घाटन कार्यक्रममा छात्रावासका सञ्चालक आशिष लामा, छात्रावास संघका अध्यक्ष विष्णु लामा, ईक्यानका अध्यक्ष भुवन रायमाझी, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्वअध्यक्ष मोतीराम तिमल्सिना, मदानी बिटका सहसम्पादक विकास तिमल्सिना, वडाका सदस्यहरू तथा स्थानीयवासीको उपस्थिति थियो ।
छात्राहरूलाई घरबाट टाढा रहेर पनि पारिवारिक वातावरणमा बस्दै अध्ययन गर्न सहज होस भन्ने उद्देश्यले छात्रावास सञ्चालनमा ल्याइएको सञ्चालक लामाले बताए । छात्रावासमा आवासको सुविधासँगै पारिवारिक संस्कार, संस्कृति र सभ्यता सिकाउने वातावरण समेत तयार गरिएको छ । छात्रावासमा एक कोठामा दुई जना बस्ने व्यवस्था गरिएको छ । तर, प्रत्येक छात्राको व्यक्तिगत स्वतन्त्रता र अध्ययनमा ध्यान दिन पाउने वातावरणलाई प्राथमिकता दिइएको छ । एउटै कोठामा बस्ने छात्राले एकअर्काको अध्ययनमा बाधा नपुग्ने गरी छुट्टाछुट्टै व्यवस्थापन गरिएको छ ।
छात्रावासमा व्यवस्थित भान्सा तथा डाइनिङ हल, फ्रिजलगायतका आवश्यक सुविधाका साथै खेलकुद, मनोरञ्जन र अतिरिक्त क्रियाकलापको समेत व्यवस्था गरिएको छ । छात्राहरूको पढाइ र दैनिक जीवनलाई सहज बनाउने तथा अभिभावकले समेत आफ्ना छोरीहरूको अवस्थाबारे जानकारी लिन र निगरानी गर्न सक्ने वातावरण निर्माण गर्ने लक्ष्य राखिएको छ ।
यसअघि बनेपामा हाचिको जापानिज ल्याङ्गवेज एन्ड कल्चर सेन्टर सञ्चालन गर्दै आएको उक्त संस्थाले भाषा, संस्कृति, संस्कार र सीपसम्बन्धी शिक्षा प्रदान गर्दै आएको छ । सोही अनुभवलाई आधार बनाएर छात्राहरूको आवाससँगै उनीहरूको व्यक्तित्व विकास, अनुशासन र व्यावहारिक ज्ञानमा समेत सहयोग पु¥याउने उद्देश्यले छात्रावास सञ्चालनमा ल्याएको हो । छात्रावासले काठमाडौं विश्वविद्यालयमा अध्ययनरत छात्राहरूलाई सुरक्षित आवास उपलब्ध गराउनुका साथै उनीहरूको शैक्षिक तथा व्यक्तिगत विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । वडा अध्यक्ष तिमल्सिनाले ब्यवस्थित छात्राबासले विद्यार्थीहरुको सहजता तथा पारिवारीक वातावरण रहने बताए । १६ वटा कोठामा ३२ जना छात्रा विद्यार्थीहरुका लागि ब्यक्तिगत प्रयोजन गर्न मिल्नेगरी कोठाहरुको ब्यवस्थापन गरिएको छ । केहि कोठाहरु बुकिङ भइसकेका छन् ।









