2024 April 27/ 06:44: 54am

सरोज काफ्ले
ब्रम्हकुमार
ब्रम्हकुमारी राजयोग सेवा केन्द्र, धुलिखेल

जन्म,बाल्यकाल,औपचारिक शिक्षाः काभ्रेको जैसीथोक गाविस वडा नम्वर ३ हाल मण्डनदेउपुर नगरपालिका वडा नम्वर ११ मा २०४३ सालमा मध्यम परिवारमा मेरो जन्म भयो । सानैदेखि मेरो मनमा आध्यात्मिक विषयको कुरा आउँदो रहेछ । विद्यालयमा नैतिक शिक्षा विषय थियो । अहिले कक्षामा उक्त विषय छैन । नैतिक शिक्षामा एउटा कथा थियो । एउटा बालकलाई उसका बाबु आमाले भगवानका बारेमा बताउनु भएको हुन्छ । बालक भगवानका बारेमा जान्न उत्सुकता हुन्छ । एकदिन बालक घरबाट दुईवटा रोटी लिएर निस्कन्छ । बालक रोटी लिएर निस्कँदा नदिको किनारमा टोलिएर बसेकी बुढीआमा देख्छ । उ त्यहि पुग्छ । दुवैजना भेटघाट पछि रोटी बाँडेर खान्छन् । दुबैलाई आनन्दको महसुस हुन्छ । ३ घण्टा विताएर उ घरमा फर्कन्छ । घरमा बाबु आमा, साथीभाईसँग पनि उसले भगवानका बारेमा बताउँछ । भगवानको प्यारमा सुख छ । आनन्द छ तर के गर्नु भगवान बुढो हुनुहुन्छ । उता बुढीआमाले पनि घरमा गएर भन्नु हुन्छ भगवान भोला हुनुहुन्छ । भगवान बच्चा जस्तै हुनुुहुन्छ । बाल्यकालमा यो कथा मैले पढे पछि मलाई लाग्यो भगवान खोज्न भावनाको गहिराईमा जानु पर्छ । भगवान भावनामा छ । मेरो मनमा भगवान खोज्ने चाहना थियो । त्यो चाहना पुरा गर्ने अभियानमा मैले निरन्तर आफ्ना अभ्यासहरुलाई जारी राखें । जब मैले एसएलसी पास गरें । कम्प्युटर क्षेत्रमा मैले आफ्नो जीवनलाई अगाडी बनाएँ । त्यहि क्रममा मैले नपाली सेनामा काम गर्ने अवसर पाएँ । मेरो चाहना, भावना र अवसर फरक फरक थियो । भगवान कम्प्युटरका सबै क्षेत्रबाट खोज्ने प्रयास गरें । भगवानले मैले सबै सोचेका कुराहरु पुरा गरिदिनु भयो । मैले चाहेका सबै कुराहरु पुरा हुँदै गए । अध्ययनमा, रोजगारमा सबै क्षेत्रमा सफलता प्राप्त गरे पछि झनै मलाई भगवान खोज्नुपर्ने आवश्यकता महसुस भयो । मेरो क्षमताले सम्मान पाएको छ । जीवन संचालन गर्न पैसा पनि मिलेको छ । सबैले माया गरेका छन् । मैले पनि माया गरेकै छु । तर पनि मेरो मन शान्त थिएन । साथीहरुसँगको संगतले मैले धेरै कुरा गरें । चुरोट, रक्सी, डान्स बार सबै कुरामा मेरो सहभागीता रह्यो । तर पनि मैले मनको शान्ति पाउन सकिनँ । 
    काम गर्ने सिलसिलामा एकपटक म ओशो तपोवनको त्राटक योगमा गएँ । त्राटक योग सिकें । धेरै आनन्द प्राप्त भयो । नेपाली सेनाको जागिरको क्रममा म दैलेख पुगें । त्यहाँ काम गर्दा ४६ भागको प्रवचन सुनें । त्यहाँ एक जना गुरु हुनुुहुन्थ्यो त्यहाँबाट पनि धेरै कुरा सिकें । जागिर बुटवलमा सरुवा भयो । बुटवलमा सरुवा भएपछि म चर्चमा पुगें । चर्चमा पुगेर मैले बाईबल अध्ययन गरें । तीन पटक बाईबल अध्ययन गरे पछि नयाँ खालको महसुस भयो । सकारात्मक सोचको विकास भयो । त्यहाँबाट दाङ सरुवा भयो । दाङ पुगेपछि म ब्रम्हकुमारी राजयोग सेवा केन्द्र पुगें । जीवनमा सधै केहि न केहि कुराको कमी भएको महसुस भयो । ब्रम्हकुमारी राजयोग सेवा केन्द्रमा धेरै समय लाग्यो मलाई बुझ्न । त्यहाँ एक जना दिदीले प्रवचन दिनु हुन्थ्यो तर मलाई चित्त बुझ्दैन थियो । बुझ्ने प्रयासमा मैले धेरै प्रश्न गर्दथें । उहाँले मलाई एक दिन तपाई यति धेरै क्षमता भएको ब्यक्तिले नबुझेर म थोरै अध्ययन गरेको ब्यक्तिलाई सोधेर बुझ्नु हुन्छ ? म झसँग भएँ । त्यसको अर्थ के थियो भने मैले पहिला आफुलाई बुझ्नु पर्छ । सारा प्रश्नहरुको उत्तर आफैले दिन सक्नुपर्छ । प्रश्नको उत्तर म भित्रै छ । कोहि ब्यक्तिले मेरो प्रश्नको उत्तर दिएर सम्भव छ र ? मैले त्यहि बेला देखि आध्यात्मिक अध्ययन गर्न थालें । भगवान पाउन नसक्नुको प्रमुख कारण रहेछ हामी भित्रको इगो । त्यसै क्रममा एउटा कहानी अध्ययन गर्ने अवसर मिल्यो । एकजना विद्धानले धेरै कुराको अध्ययन गर्नुभयो । संसारका बारेमा उहाँले धेरै कुरा जान्नु भयो । संसारको धेरै कुरा जानेर पनि म किन अशान्त भएँ । उहाँको मनमा शान्ति भएन । शान्ति के हो ? उत्तर दिन सकिन्छ । तर आफै शान्ति प्राप्त गर्न सक्दैन । उहाँ विद्वान घरबाट निस्कनु भयो र एकजना गुरु भेट्टाउनु भयो । गुरुलाई उहाँले आफुले जानेका कुरा भन्नुभयो । गुरुले जानेको कुराको किताब लेखेर ल्याउन भन्नुभयो । उसले ६ वर्ष लगाएर ६ वटा किताब तयार गर्छ र गुरुलाई देखाउँछ । गुरुले आफ्नो जीवनको समय धेरै नभएकाले सारांशमा ल्याउन भन्नुहुन्छ । ६ महिना लगाएर उसले एउटा किताब तयार गरेर ल्याउँछ । गुरुले त्यो किताब अध्ययन गर्ने समय पनि नभएको बताउनु हुन्छ । अझै सारांशमा ल्याउन अनुरोध गर्नु हुन्छ । १५ दिन लगाएर उसले ५ पाना तयार गरेर ल्याउँछ । गुरुले आफुु बुढो भएको र आँखा पनि नदेख्ने भएकाले अध्ययन गर्न नसक्ने बताउँदै फेरी सारांशमा ल्याउन भन्नुहुन्छ । उ फेरी घरमा फर्कन्छ र त्यसलाई १ सदन लगाएर सारांश बनाउँदै १ पाना तयार गरेर ल्याउँछ । गुरुको अन्तिम अवस्था हुन्छ । गुरुले फेरी त्यो एक पाना पनि अध्ययन गर्न समय नभएको बताउनु हुन्छ । त्यसलाई पनि सार बनाएर ल्याउन भन्नुहुन्छ । उ हतारिदै त्यहि अर्काे कोठा भित्र जान्छ । एउटा पेपर लिन्छ । त्यहाँ सोच्छ । उसले केहि पाउँदैन । खाली पेपर ल्याएर उसले गुरुलाई दिन्छ । गुरुले उसको शिरमा हात राखेर भन्नुहुन्छ ज्ञानको सार खाली होे । मनुष्यलाई आफु भित्रको ज्ञानको अभिमान हुन्छ उसले ज्ञान प्राप्त गर्न सक्दैन । संसारको सबैभन्दा ठुलो विद्वान थियौ तिमी हिजोसम्म । आज तिमी ज्ञानी भयौं । बुद्धिमान हुनु र ज्ञानी हुनु अलग अलग हो । ज्ञानको अर्थ यो होईन कि सबै कुरा जान्नु । जानेका धेरै छौं तर दुःखी छौं । जानेको कुरालाई जीवनमा प्रयोग गरेका छैनौं । यो कुराको ज्ञान ममा आयो । त्यहि कुराले मलाई भगवान भेट्ने चाहनाले ब्रम्हकुमारी राजयोग सेवा केन्द्रमा पु¥यायो । 
    मेरो घरमा आध्यात्मिक क्षेत्रमा जाने वातावरण थिएन । +२ अध्ययन गर्न सर्वमंगला उमाविमा आउने गरेका थियौं । म दैनिक साँढे ३ मा उठ्थें । उठेर एक छिन हावामा बस्थें । घरको जेठो छोरा थिएँ । तीन दाजुभाई थियौं हामी । मैले सधैं पञ्चायन पुजा गर्दथें । सधंै शंख र घण्ट बजाउने गरेका थियौं । घण्ट बजाउँदा अलग्गै आनन्द आउँथ्यो । हामीसँग भित्री र बाहिरी दुईवटा आँखा हुँदा रहेछन् । अन्तरमनको आवाज हामीले सुन्न सकिरहेका छैनौं । आफ्नो मनलाई आफैले बुझ्न सकिरहेका छैनौं । मैले केहि गरिरहेको छु मलाई थाहा छैन तर मलाई पुजा गर्दा आनन्द आउँथ्यो । टिका लगाएर कलेज जाने गरेको थियौं । हरेक दिन म नुहाउँथें । टिका लगाएर जाँदा मेरो चेहरामा चमक आउँथ्यो । सबैलाई लाग्दो रहेछ म अरु भन्दा अलिक फरक थिएँ । टिकाले मलाई सुरक्षा दिईरहेको हुने रहेछ । टिकामा भगवान बस्नु भएको छ । अरुलाई दुःख दिनु हुँदैन । अरुका बारेमा नकारात्मक कुरा गर्नु हुँदैन । स्वस्थानी अध्ययन गर्ने गरेको थिएँ । त्यहाँ उल्लेख गरिएका महादेव, पार्वती, गणेशका बारेमा बयान थियो । भगवानले पनि यस्तो लिला गर्नुहुन्छ ? त्यहाँ पनि केहि कुराको कमि छ । पहिला पुजा गणेशकै हुन्छ । मैले अध्ययन गरेको कुरामा केहि कमि आफैलाई लागिरहेको थियो । अध्ययन गरुञ्जेल मनमा शान्ति हुन्थ्यो तर ब्यवहारमा त्यस्तो हुन सकेन । पुजा गर्ने मेरो नियमित ड्युटी थियो । त्यसले पनि मलाई भगवानसँग नजिक बनाएको थियो । पलाञ्चोक भगवती मन्दिरमा सधै जाने गरेका थियौं । त्यहाँ पुगेर भगवानलाई माग्थे मलाई पास गराई दिनुस् । म पास हुन्थे र फेरी जान्थे अनि भन्थे भगवानलाई । देवी तिम्रै कारण पास भएँ । म आभारी छु । फेरी पास गराई दिन्ुस् अनि म आउँछु । मन्दिरमा नरिवल लगायतका सामाग्रीहरु चढाईन्थ्यो । किन मलाई थाहा थिएन । भगवानले पनि यस्ता सामाग्री खानु हुन्छ र ? १४ वर्षको बीचमा मैले यस्ता धेरै कुराहरुको खोज गरें । ब्रम्हकुमारी राजयोग सेवा केन्द्रमा पुगेर मलाई आनन्द प्राप्त भएको छ । 
    बाल्यकालमा एक पटक म भारत साथीहरुसँग गएको थिएँ । रक्सौलबाट ट्रेन चढेका थियौं । मोतिहारीमा उत्रिएर दिल्ली जानुपर्ने रहेछ । हामी चढेको ट्रेन कोलकत्ता जाने रहेछ । २४ घण्टाको समय थियो ।  समय कटाउन म डिब्बा डिब्बा अगाडी गएँ । केहि समय आध्यात्मिक गफ गरेर बस्दा ट्रेन छुटेछ । मेरो साथमा पैसा पनि थिएन । झोला पनि थिएन । म विचमा उत्रिएँ । मनमनै भगवान सम्झिएँ । भगवानलाई याद गरेको थिएँ त्यतिबेला मसँग कसैले कुरा गरे जस्तो लाग्यो । झसँग भएँ । मलाई रिक्सा समाउनु भनेको थियो । गोरखपुर पुगेपछि दिल्लीको ट्रेन पाईन्छ भन्ने जानकारी थियो । रिक्सावालालाई सबै कुरा भनें । उसले मलाई ट्याक्सीसम्म पु¥याई दियो । ट्याक्सी पार्किङ्ग अगाडिड डरलाग्ने ब्यक्ति उभिएको रहेछ । उसलाई गएर केहि भनौ जस्तो मनमनै लाग्यो । उसलाई सबै कुरा भनें । उसले आफ्नो ट्याक्सी बोलायो । संयोग कस्तो भयो भने ट्याक्सीवाला नेपाली रहेछ । उसले ट्याक्सीको पैसा त लिएन उल्टै २ सय आईसी दियो । त्यहि पैसाले खाना खाएँ । टिकट नभई ट्रेन चढ्न पाईदो रहेनछ । भगवानलाई आफ्नो कुरा मनमनै भनें । काटिएको टिकट छुटिसकेको थियो । मनमनै लाग्यो । कर्म अनुसारको फल पाईन्छ । श्रीमद्भागवत पनि अध्ययन गरेको थिएँ । राम्रो कुरा मित्रु नराम्रो कुरा आफै भित्रको शत्रु हो । तर म जे पर्ला भनेर चढें । टिकट सोध्दै आयो । मैले छैन भनिदिएँ । मैले आफु धर्म प्रचारका लागि हिडेंको जानकारी गराएँ । मैले उसलाई दिएको बचनले उल्टै उ पानी पानी भयो । मलाई थप २ सय रुपैयाँ दिएर पठायो । मलाई लाग्यो भगवानको शरणमा पर्दा अवश्य चिताएको कुरा पुग्छ । त्यसपछि मैले दिल्लीमा पुगेर आफ्ना साथीहरुलाई फेला पारें । 

आध्यात्मिक ज्ञानको प्रभावः जागिर खाँदा खाँदै म आध्यात्मिक क्षेत्रमा प्रवेश गरें । १५ वर्ष काम गरे पछि जागिरबाट पनि मैले बिदा लिएँ । पछिल्लो समय युवाहरुमा दुब्र्यसनको लत बस्न थालेको छ । अहिले सत्कार छुट्न थालेको छ । मनुष्यले अरुको बारेमा भन्दा आफ्नै स्वार्थका बारेमा चिन्तन गरिरहेको छ । युवा अवस्थामा विभिन्न किसिमका इच्छा आकांक्षा पैदा हुन्छन् । तृष्णाहरु पैदा हुन्छन् । युवाहरुले लक्ष्य र उद्देश्यलाई साथमा राख्दै के खोजिरहेको छ बुझ्नु पर्छ । शान्ति खोजिरहेका छौं कि ? दुःख ? सुख ? ब्यक्तिलाई हेर्ने वितिक्कै हामीलाई लोभ जाग्छ । त्यहि बन्ने प्रयास हुन्छ । त्यो हुन सक्दैन र मान्छे दुःखी बन्छ । मान्छे कोहिसँग तुलना गर्नै सकिदैन । आफ्नो तुलना अरु कसैसँग नगरौं । आफु भित्रको गुण चिन्नुस् । आफुले आफुलाई महान बनाउनु पर्छ । कार चढेर हिड्ने ब्यक्ति देख्दैमा आफु भित्रको शान्त भावलाई अशान्ति नबनाउनुस् । कसैसँग तुलना गरेर जीवनलाई दुःखी नबनाउ । 
    ब्यक्ति फरक फरक जिम्मेवारीमा हुनसक्छ । बाहिरी कर्महरुलाई खुशीको आधार बनाउनु हुँदैन । आनन्दको आधार बनाउनु हुँदैन । खुशी आफु भित्रै छ । बाहिरी साधनहरुमा छैन । त्यसको मतलब काम नै नगरांै भन्ने होईन । खुशीको आधार आफै भित्र छ । आनन्द आफै भित्र छ । कसैलाई खुशी दिने प्रयत्न गर्छाै भने त्यो खुशी आफैतिर फर्कन्छ । कर्मलाई खुशी नसम्झौं । म जस्तो बन्ने प्रयास नगर्नुस् । तपाई तपाई जस्तै बन्ने प्रयास गर्नुस् । तपाईले तपाईलाई नै गाईड गर्नुस् । तपाईको घरमा भएको सिसा फोहोर हुँदा अरुको घरमा सुकाएको कपडा फोहोर देख्नु हुन्छ । तपाईलाई सत्यता तब थाहा हुन्छ तब तपाईले तपाईको घरको सिसा फोहोर देख्नु हुन्छ । आफु भित्रको हेर्ने ऐनालाई जब सफा पार्नु हुन्छ तब तपाईले सबैलाई राम्रो र सफा देख्नु हुन्छ । असल मान्छेले सबैलाई असल देख्छ र उसलाई असल बाहेक खराब मान्छेको संगत नै पार्दैन । खराब ब्यक्तिलाई जहाँ पनि खराबकै संगत मिल्छ । म कस्तो छु ? मनुस्य दुःखी अरुलाई दोष दिएर भईरहेको छ । 
    आकाशमा उडिरहेको कागले आफु मात्रै दुःखी भएको देख्छ । हाँसलाई सुखी देखेर त्यहाँ पुग्दा सुगा सुखी भएको थाहा पाउँछ । सुगाकोमा पुग्दा मयुर सुखी भएको थाहा पाउँछ । मयुरकोमा पुग्दा चिडियाखानामा रहेको मयुरले आफु भन्दा तिमी नै स्वतन्त्र भएकोले म भन्दा तिमी नै खुशी भएको बताउँछ । सुन्दरताको कारण आफु थुनिएर बसेको गुनासो गर्छ । कागले थाहा पाउँछ संसारको सबैभन्दा सुखी आफै भएको थाहा पाउँछ । अरुको जीवनको बारेमा बुझ्दा बुझ्दै मान्छे दुःखी बन्छ । पहिला आफुलाई बुझ्नुस् । मयुर र कागको कुरा होईन कुरा बुझाईको हो । भोगाईको हो । जीवनलाई आनन्दित बनाउनुस् । तपाईलाई देखेर अरु आनन्दित बनुन् । तपाई अरुलाई जे दिनुहुन्छ तपाईले त्यहि पाउनु हुन्छ ।     

प्रेम र विवाहः विद्यालय जीवनमा मेरो प्रेम थियो । मलाई उनी र उनलाई म असाध्यै धेरै मन पर्दथ्यो । उनलाई भेट्दा भगवान भेटे जस्तै लाग्थ्यो । एसएलसी पास भए पछि आईटी इन्जिनियर बन्छु । पैसा कमाउछु । ठुलो र प्रतिष्ठित ब्यक्ति बन्छु । उनलाई विवाह गर्छु । सुखी जीवन जिउँछु भन्ने थियो । केहि वर्ष उनको र मेरो प्रेम भयो । उनको परिवारको आर्थिक अवस्था मेरो परिवारको भन्दा माथी थियो । हामी मध्यम स्तरीय परिवारका थियौं । नेपाली सेनामा जानुअघि नै उनको र मेरो प्रेम टुट्न पुग्यो । परिवारको समान स्तर हुन नसक्दा उनको र मेरो विवाह हुन सकेन । 
    जब नेपाली सेनामा मेरो प्रवेश भयो । तब मेरो भावना आध्यात्मिक ज्ञानतर्फ हुन थाल्यो । प्रेम भगवानसँग हुन थाल्यो । समाजको कल्याणका लागि प्रेम हुन थाल्यो । एउटा उदाहरण छ । एउटा रुख पानीको अभावमा सुकेको थियो । एक ब्यक्तिले पातमा पानी राख्नु भयो तर रुख हरियो हुन सकेन । अर्काे ब्यक्तिले त्यहि रुखको जरामा पानी राख्यो र रुख हरियो भयो । मनमा इच्छा भयो भने प्रेमको अवस्था आउँछ । आन्तरिक रुपमै म तृप्त हुन थालें । पहिला थाहा नहुँदा गरें । जब मैले आफैले आफैलाई चिन्न थालें तब मैले गर्ने प्रेम फरक रहेछ । पहिलाका सबै कुराहरु छाडें । खुशी र शान्ति आफै भित्र छ । मन खाली राखेर जब मैले भगवान खोजें अनि मात्र पाएँ । अहिले म भगवानसँग प्रेम गर्छु र शान्ति प्राप्ती गरेको छु । एकजना शिक्षकले विद्यार्थीहरुलाई बेलुन ल्याएर नाम लेख्न लगाउनु भयो । फुलाएर एउटा कोठामा राखेर बाहिर निस्कन भन्नु भयो । ५० जना विद्यार्थीहरुलाई आफ्नो नामको बेलुन खोज्न पठाउनु भयो । ५ मिनेटको समयमा कसैले आफ्नो नामको बेलुन भेटाउन सकेनन् । गुरुले बोलाएर भन्नु भयो सबैले एउटा एउटा बेलुन ल्याउनुस् र जसको नाम छ उसैलाई दिनुस् । उनिहरु दंग परे । कुरा के हो भने तपाई अरुको खुशीका लागि काम गर्नुस् तपाईलाई त्यसै खुशी मिल्छ । प्रेमका इगो हुन्छ । इगो सहितको प्रेम ब्यक्तिकोे लागि खुशी होईन दुःखी हुनु हो । 

जीवनः विज्ञान र धर्मको ब्यालेन्स हो । भौतिकता र आध्यात्मिकताको ब्यालेन्स हो । 

प्रेमः लिने चाहना होईन दिनु मात्र हो । 

विवाहः एक अर्कासँग सौहार्दपूर्ण वातावरण राखेर एकले अर्कालाई बुझ्नु ।

शारिरीक सम्वन्धः कामना । वासना । तृप्ती ।